बार्दलीमा झुन्डिरहने पानासोनिक रेडियोमा 'हे रिन्के बुङको राँगालाई' गीत सुन्दा गीतमा 'ताप्लेजुङमा ताकेर' भनिरहँदा पहिलोचोटि बच्चैमा ताप्लेजुङ नाम सुनेको।
हुर्किँदै गर्दा समाचारतिर ओलाङ्चुङ्गोलाले ताप्लेजुङलाई परिचित गराएको। २०६३ सालमा घुन्सा हेलिकप्टर दुर्घटनाले फेरि एक पटक ताप्लेजुङ चिनाएको। गोमा दिदी सिडिओ हुने बेला लक्ष्मी, राजेश र सूर्यसहित तमोर करिडोर हुँदै ताप्लेजुङ पुगेको।
यसपालि कञ्चनजंघा बेसक्याम्प जाँदा फेरि ताप्लेजुङको फेरो लाउन पाइयो।
यो अवसर दियो पर्यटन विभागले। कञ्चनजंघा आरोहण गराउन अनुमति लिएको एजेन्सी इम्याजिन नेपाल ट्रेक एन्ड एक्सपेडिसन प्रा.लि., अनुमति नम्बर ६२ को आरोहण दलको सम्पर्क अधिकृत खटाएर।
आठ देशका पाँच महिला र चार पुरूष गरी नौजना आरोही। त्यति नै माउन्टेन गाइड। टिम लिडर अस्ट्रेलियन नागरिक क्यारोलिन डेनिएल लियोन। बाँकी पोल्यान्ड, जर्मनी, स्लोभाकिया, इस्टोनिया, संयुक्त अधिराज्य र पाकिस्तानका एक एक र अमेरिकाका दुई जना। लस्कर मार्ग ताप्लेजुङ–याम्फुदिन–राम्जेर–दक्षिणी बेसक्याम्प।
सुकेटार कि चन्द्रगढी?
ताप्लेजुङ जान कि नेपाल एअरलाइन्सको ट्विनअटर चढेर सुकेटार विमानस्थलमा अवतरण गर्नुपर्यो, कि अर्कै एअरलाइन्सको एटिआरबाट चन्द्रगढी झरेर गाडी समात्नुपर्यो। सडकबाटै जान यति बेला बिपी हाइवे बिग्रिएर लामै समय लाग्छ।
'बेस्ट' सुकेटारै भए पनि नेपाल एअरलाइन्सको फ्लाइट अर्को बुधबार मात्रै जाने पत्तो लागेपछि म, बासु भट्टराई र प्रयाग कुमाई चन्द्रगढी झर्यौं। भद्रपुरबाट रंगीबिरंगी गुलमोहर हेर्दाहेर्दै उत्तर उक्लिने मेची हाइवे र पूर्व–पश्चिम तेर्सिएको महेन्द्र हाइवेको जक्सन चारआली फुत्तै पुगिएछ।
बुधबारे–जोरकलश हुँदै अगाडि बढ्दा झापा भ्यू प्वाइन्टबाट खुलेको झापा देखिएन। बरू रोङ गाउँपालिकाको कार्यालय बाटैमा देखियो। कुटीडाँडा कुहिरोभित्रै लुकेको थियो हाँसपोखरीजस्तै।
छिनमै पानी दर्किने, छिनमै रोकिने। आफ्नै मुडजस्तो थियो मौसम। हर्कटेमा झरीमा रूझ्दै लोकल काँक्रो खाइयो। धुम्मिएको मौसमले चियाबारीलाई क्यामरामा राम्ररी कैद गर्न के दिन्थ्यो? तै पनि कन्याम फोटो प्वाइन्टमा केही पोज दिएर सुन्दर चियाबारीहरू र भारतीय पर्यटकका बगाल छिचोल्न थाल्यौं।
सूर्योदय हेर्न पुग्नुपर्ने जिल्लामा सूर्यास्तको बेला पुगेसँगै पहिलो दिनको यात्रा सकियो।


फिक्कलबाट याम्फुदिन
फिक्कलबाट थर्पुसम्म लैजाने गाडी सबेरै होटलमै पुर्याइसकेका थिए बलभद्रले। नाम उमेर खाकै मान्छेजस्तो भए पनि एक्काइस वर्षीय 'हेन्डसम' चालक रहेछन्। उनको गाडी नम्बर ०१२३, मानौं 'गो' भन्नासाथ फुल स्पिडमा गुड्न रेडी छ। झलक्कझुलुक सूर्योदय हेर्दै पेट बटारिने घुम्ती, आँखा लतारिने दृश्य चियाउँदै थालियो मोडहरू छिचोल्न।
आइतबारे–मूर्तिडाँडा–बारगोलाई–जौबारी बजार–पचासी भीर–गोदाक–माइखोला। माइखोला पारि तीन बल्ड्याङ खाएको पहिरो छिचोल्दै तिल्केनी मोड–इलाम बजार हुँदै बिब्ल्याटेमा विश्राम लियौं।
बिब्ल्याटेको चिसोमा गोटा दुई तात्तातो मालपुवा। काउन्टरमा सजाएर राखेका जेरीको थुप्रोबाट दुइटा रसिला जेरी। अँगेनामा तातिरहेको एक कचौरा चटपटा तरकारी खाएपछि ज्यानलाई अरू के चाहियो?
त्यहाँबाट बरबोटे–साखेजुङ–चमैता हुँदै रैथाने उत्पादन, हिमाली जडिबुटीले भरिभराउ इलाम र पाँचथरको सीमा राँके बजार। राँकेबाट इलामलाई छोडियो, पाँचथरमा छिरेर गुम्बाडाँडा–पौवाभञ्ज्याङ–फिदिमको यात्रा थालियो।
फिदिम टेक्न लागिसकियो, घाम भने कुहिरोको अनुमति लिएर मात्र छिसिक–छिसिक पोखिन्थ्यो। त्यही बेला देखिन्थे पाखाहरूमा रंगीन जस्तावाल चिरिच्याट्ट घरहरू। नत्र त कुहिरोकै हालीमुहाली।
फिदिमबाट जोरसाल–चुलीडाँडा–हेवा खोला–भारपा–जोरपोखरी–गोपेटार–हिलिहाङ चोक हुँदै गणेश चोक। गणेश चोक पुग्दा पहिले पाँचथरकै सिडिओ भइसकेका गणेश गैरे दाइलाई नसम्झी कसरी जानु?


'चिवाभञ्ज्याङ पुगेर आऊ है। दाम्मी सेतो गुराँस फुलेको हुन्छ,' भन्दै थिए।
तर हामीलाई त्यता जाने फुर्सद कहाँ?
गणेश चोकबाट काबेली हुँदै ताप्लेजुङ जाने मेची हाइवेको साथ यहीसम्म। ६ किलोमिटर मध्यपहाडीको बाटो थर्पु पुगियो। थर्पुमा लिन आउने गाडी फसेको ट्रकका कारण आउने टुंगो भएन।
भावना होटलमा खाना खाइन्जेल पनि नपुगेपछि अल्छी नगरी तल इन्द्रावती पुलसम्म हिँड्ने योजना बन्यो।
'दाइ यार! इन्द्रावती यहाँ हो र?' चासो राखे बासुले।
एउटै नाम गरेका सेती नदी, राप्ती नदी छन् त। इन्द्रावती पनि त्यस्तै हो। तिमीले माछा खाएको दोलालघाटको इन्द्रावती अर्कै हो। बासुले हम्म भन्दै मुन्टो हल्लाए।
थाहै नभएको त होइन, तर टुच्च–टुच्च रेला गरिरहन्छन् बासु। नत्र बाटो कसरी काट्नु?
काठमाडौंमा खिया लागेका गोडालाई हिँड्ने बानी पार्न खोज्दा त्यही तल देखिने इन्द्रावती झर्न डेढ घन्टा लागिएछ। पुलछेउ थप डेढ घन्टा कुरेपछि तेर्सै तेर्सो बाटो स्कोरपियो पिकअप आइपुग्यो लिन।
चालक आइत र छेउमा रबिन भाइ। भलाकुसारीपछि गफिँदै साब्लाखु हुँदै सिदिङ्वा पुगियो। डाँडामा सिदिङ्वा धाम। अलि पर तिम्बुङपोखरी अरे! बाटो पुगेको छ, बोलेरो नपुगोस् कसरी? बोलेरोहरूको एकलौटिझैं बाटोमा हामी भने अपवादझैं स्कोरपियोमा छौं।
पाँच बजिसकेछ। पुग्नुपर्ने याम्फुदिन। गन्तव्य टाढै छ। दौडिएर मात्रै भएन। रबिनले लिम्बुदिनबाटै कसैलाई फोन गरेर पाहुना आउँदैछन् भनेर बस्ने–खाने व्यवस्था मिलाइदिएपछि ढुक्कै।
मेहेले–सुरूङखिम (बाकेटार)–खेबाङ हुँदै ग्राभेल बाटो, ग्रामीण बस्ती, अलैंचीका बारी, डाँडा अनि चौतारी, वर्षे खोलाहरू नाघ्दै आठ बजेतिर २,०८० मिटरमा बसेको याम्फुदिनको नेपु गाउँ पुगियो।
युवा वडाध्यक्ष कृष्ण गुरूङले स्वागत गरे। होटल उनैको। वडासँगै होटल पनि राम्रै चलाएका। उनले भूगोलबारे भने। राजनीति र व्यवसायबारे सुनाए। मिठो खाना खुवाए।
गफगाफकै क्रममा भने, 'ताप्लेजुङमा यहाँनिर दिन बढी छ।'
साताका सात दिन सम्झिएर म अकमकिएँ।
उनले जिल्लाका ६१ वडामा आम्बेगुदिन, थुम्बेदिन, तोराङदिन, सावादिन, सिदिनजस्तै 'दिन' जोडिएका नाम धेरै छन् भनेका रहेछन्।
जुकाबाट बच्न नुनपानी
तेस्रो दिन याम्फुदिनबाट नयाँ झोरेनी पुग्ने योजना। थर्मसमा तातोपानी राखेर, नुनचिया चाखेर चना–अन्डा खाएसँगै लागियो उकालो। तल सुपर काबेली खोला ए हाइड्रो (स्नो हाइड्रो), पर थुङ्गिम गाउँ। ऐसेलु र मलेरो (गुँयली फल) को मज्जा लिँदै। गुराँससँग खेल्दै। पसिना झेल्दै। उकालोमा गल्दै। जुकाको आक्रमण छल्दै। जुकाबाट बच्न कपडामा बाँधेको नुनको पोको रूझाएर जुत्तामा घोलियो।
धुपीडाँडा–आम्जी खोला हुँदै ३,३०० मिटरमा बसेको नयाँ झोरेनीमा बास बस्न पुगियो। चारैतिर कुहिरोले ढाकेको झोरेनी वरिपरि बेलाबेला भीरका लालीगुराँस टल्किन्थे।
पर्यटक धेरै छैनन्, लगानी करोडौंको छ दाजुभाइ होटल एन्ड लजमा। पोहोर पालिकाले पर्यटन महोत्सव आयोजना गर्दासमेत पर्यटक बढेनन् अरे!
यो उचाइमा कसरी रमाएका छन् दीपक गुरूङ? उनले होटल रूँगेका मात्र रहेनछन्। छुर्पी, घिउ बनाएर बेच्न २३ वटा चौरी पालेका। ढुवानी गराउन त्यतिकै संख्यामा खच्चड पालेका। पोहोर मात्र जुम्ला–कालिकोटतिरबाट प्रति खच्चड १ लाख २० हजार, अनि 'टडक्' भाडा एकमुस्ट डेढ लाख खर्चिएर १३ खच्चड ल्याएका।
पर्यटक नभए पनि रमाउने आम्दानी रहेछ यहाँ।
पुग्नासाथै दाउराको हिटर बल्यो। एक एक गरी आएका तातोपानी। एक भाँडो पोलेको आलु। भर्खरै दुहेको चौरीको दूध। इच्छुकका लागि एक वर्ष पुरानो तोङ्बा। चौरीको घिउसहितको तात्तातो खाना नयाँ झोरेनीको बसाइलाई यादगार बनाउन पर्याप्त भए।

चेराम @३९०० मिटर
चौथो दिन नयाँ झोरेनीबाट यात्रा सुरू उकालै उकालो। भञ्ज्याङतिर पुगेपछि बेसक्याम्प जान दुइटा रूट रहेछन्। भ्यू हेर्न झण्डै डाँडाको बाटो ठीक। हामी तोराङदिनतिर लाग्यौं।
हिलाम्मे, खच्चडले बिगारेको अप्ठ्यारो, ओरालो बाटो झरेर सिम्बुवा किनार आइपुग्यौं। तोराङदिन जोड्ने झोलुंगे पुल पोहोर सिम्बुवाको बाढीले बगाएको रहेछ।
तोराङदिनमा खाना खाएर चौलानीजस्तो पानी बोकेर ठाडै तल झरेकी सिम्बुवा खोलालाई दाहिने पार्दै तिरैतिर उकालो लागियो। बाटोमा झरेका गुराँस र चिमालका पुष्पपत्रहरू। लोभलाग्दो जंगल। रंगीबिरंगी जंगली फूलहरू।
अन्धाफेदी पार गरेसँगै पानीले चुटौंलाझैं गरेपछि ओडारमा ओत लाग्दा बिहानदेखि हिँडेका घुमन्तेलाई राहत भयो। सिम्बुवा टाढिँदै गयो। हामी काठैकाठका होटलहरूले सजिएको चेराम पुग्यौं।
बेसक्याम्प पुग्ने दिन
पाँचौं दिन। आज हिँड्नुपर्ने केहीबेर उकालो, अनि तेर्सै तेर्सो। घाम अस्ताउनुअघि यही आइपुग्ने सोचका साथ घाम उदाएसँगै लागियो चेरामबाट बेसक्याम्पतिर। घुन्सातिर जाने सेलेले पास जाने बाटो छुट्नुअघि जोडी डाँफेले दर्शन दिएर यात्राको साइत बनाइदिए।
सुन्दर पाटनहरू। बाच्छाहरू साथैमा राखेर जंगलमा एकलौटी चरिरहेका चौरीका बथान। लाप्साङ पोखरी। यालुङ हुँदै ४,५८० मिटरमा बसेको राम्जेर पुगियो। बिल्कुल फरक ल्यान्डस्केप। जंगल गायब भएको चट्टानी भूगोल। बाटो पहिल्याउन ठडिएका आइसपोल। खुला चउरहरू। भेटिन सक्छन् नाउरहरू।
हिमालको झण्डै ३६० डिग्री चौघेरो। हिमालका दन्तेलहरझैं रंग फेर्दै टल्किइरहेका वरिपरिका खाङ्ला खाङ, कोक्थाङ, राथोङ, काब्रु, कञ्चनजंघा मध्य, कञ्चनजंघा दक्षिण, यालुङकाङ, काङबाचेन हिमाल। अलि पर कुम्भकर्ण (जन्नु)। हिमालहरू कोभन्दा को अग्लो भन्दै अग्लिइरहेजस्ता।
उत्तरतर्फ पाङपेमा र दक्षिणतर्फ ओक्ताङ गरी दुई बेसक्याम्प छन् कञ्चनजंघाका। हिमाल हेर्न उत्कृष्ट दक्षिणी बेसक्याम्प।
राम्जेरबाट दुई घण्टा हिँडेपछि पुगिने ४,७३० मिटर उचाइमा बसेको ओक्ताङ (अन्तिम भ्यू प्वाइन्ट) बाट देखिन थाल्छ अघिसम्म छेलिएको क्रिस्टल माउन्टेन कञ्चनजंघा। बेलायतका जर्ज ब्यान्ड र जो ब्राउनले १९५५ मे २५ मा सफल आरोहण गरेको, ८,५८६ मिटरको विश्वकै तेस्रो अग्लो हिमाल। हामी लमतन्न हिमालहरूको शृंखलालाई फर्की फर्की हेर्दै फर्कियौं चेरामतिरै।
फर्किएको फरक बाटो
तोराङदिनसम्म जाँदाकै बाटो। त्यहाँबाट सिम्बुवालाई नछोडी रानीपुलतिर लाग्यौं। याम्फुदिन हुँदै थर्पु जानुपर्दैन अब, तापेथोक झर्दै फुङलिङ उक्लिनुपर्नेछ। सिरिजंगाबाट फक्ताङलुङ गाउँपालिकातिर। घुमन्तेलाई नौलै बाटो राम्रो।
पहिरोले बिगारेको बाटो। सिम्बुवाले उग्र रूप लिँदा बनेका बगर। लासेमा अस्थायी काठेपुल तरेर काट्नुपर्ने केङ्स्रासम्मको भीरको बाटो। केङ्स्रासम्म निगालोको जंगल, केङ्स्राबाट झर्दा ऐसेलुको। बाटो त याम्फुदिनकै छोटो र सजिलो हो कि जस्तो। तर ठाउँ ठाउँमा सुन्दर झरना, खच्चडका खुरले बिगार्न नपाएको बाटो। फरक बाटोको फरक अनुभव लिइयो।
रानीपुल टु बिर्तामोड
बोलेरो एकाबिहानै बसेकै होटलमा लिन आइपुग्यो।
होटलको हिसाबः तीन जनाले राति मासुभात खाएको र सुतेको पैसासमेत जोडेर जम्माजम्मी पन्ध्र सय।
म ट्वाँ परेँ। एकजनाको हो? फर्की फर्की सोध्दा तीनै जनाको भन्छन्। बरू एक जनालाई पन्ध्र सय त गाडीले फुङलिङसम्म पुर्याएको भाडा रहेछ।
बोलेरो रानीपुल तापेथोक हुँदै तमोर हाइड्रोका सामान ढुवानी गर्ने ट्रकलाई उछिन्दै चार घन्टामा सदरमुकाम पुग्यो। फुङलिङबाट बिर्तामोड झर्न तयार सुमोको टिकट पनि पाइहालियो।
तीन जना हामी, तीन जना विदेशी, दुईजना अरू यात्रु र चालकसहित नौ जनाको बिर्तामोड यात्रा उही मेची राजमार्गको सेरोफेरो, उकाली ओराली गर्दै ९ घन्टामा सकियो।

को–को विदेशी पर्यटक भेटिए?
ट्रेकिङ अवधिभर विदेशी पर्यटक फाटफुट मात्र देखिए। एक जना युरोपतिरका तोराङदिन आसपास। नेदरल्यान्ड्सका एक जना चेराममा।
दुई जना जर्मन वृद्धहरू भोलिपल्ट त्यहीँ। एक जना फ्रेन्च महिला र दुई जना अस्ट्रेलियन पर्यटकहरू फुङलिङतिर भेटिए।
संयोग मान्नुपर्छ, सबैका गाइड गोर्खाकै रहेछन्। धादिङ, गोर्खा र नुवाकोटका धेरैजना गाइड पेसामा देखिन्छन्। हुन त यो पेसाका आफ्नै पीडा छन्। सर्टिफाइड गाइडको संख्या २४–२५ हजार पुगिसक्दा रोजगारी भने गुम्दैछ। कारण पर्यटकहरू गाइडबिना जानु।
पर्यटकले उतैबाट टिम ल्याएर आफै गाइड गर्ने प्रवृत्ति बढ्दा त्यसको नियमन गर्न नसक्नु। गाइड पेसाबारे कमै बहस र चर्चा हुनु।
आठौं पटकमा कचनकवल
सात पटक झापा पुगिसक्दा दमक, बिर्तामोड, भद्रपुरकै सेरोफेरोमा घुमियो। नेपालकै होचो ठाउँ कचनकवल पुग्न कहिल्यै जुरेन। आठौं पटक पनि नपुगे आठौं आश्चर्य हुने भएकाले यसपालि कञ्चनजंघा बेसक्याम्पबाट झर्दै गर्दा कचनकवल पुग्ने अठोट पलायो।
बिर्तामोड झरेर भोलिपल्ट बिहानै लागियो कचनकवलतिर। बाटैमा पर्ने ऐतिहासिक किचकबध पनि हेरियो। किचकबधको कथा सुनियो, भग्नावशेष देखियो।
मेची राजमार्गको दक्षिणी बिन्दु कचनकवल शान्त छ। सुन्दर छ। पानी जमेर बनेको तालमा तैरिएका पातमाथि मुन्टो निकालेर फुलेका छन् कमलका गुच्छाहरू। अनि तालको बीचमा स्तम्भमाथि छ सिमेन्टको कमल।
कचनकवलतिर भारतीय कामदारले सडकमै मकै छोडाएर बिस्कुन बनाउँदै गर्दा केङ्स्रातिर बल्ल मकैका बिरुवा उम्रिँदै थिए। लेकतिर ऐसेलु वन पहेलपुर हुँदा तराईमा लिची बगान राताम्मे थिए।
आरोहण टोलीका कुरा
कञ्चनजंघाको चुचुरो चुम्न हिँडेका ९ जना विदेशी, साथमा त्यति नै संख्यामा नेपाली गाइड। आरोहण अनुमति पाएपछि २० अप्रिलतिर हिँडे काठमाडौंबाट।
१५ मेदेखि चढ्न प्रयासरत रहे पनि हामी ओक्ताङतिर हुँदै गर्दा उक्लिए। पाँच जना विदेशी र ६ जना नेपाली गाइड मात्र चढ्न सफल भए २० मेमा। एक जना गाइड २५ मेमा चढे।
दुई जना विदेशीले आरोहण परित्यागै गरे, काठमाडौंबाटै गएनन्। बाँकी सबैले प्रयास गरे पनि कोही चुचुरो नजिकैबाट फर्किए, कोही आधार शिविरबाटै उक्लिएनन्। सम्पर्क एजेन्सी इम्याजिन नेपालका डोमा छिरिङ र दावा फुटी, विभागका कर्मचारी र पर्यटन क्षेत्र हेर्ने केही मिडिया पर्सनहरूसँग निरन्तर सम्पर्कमा रही जिम्मेवारी पूरा गरियो।
अन्त्यमा, पहिले सगरमाथा बेसक्याम्प पुगियो। पोहोर मकालु। यसपालि कञ्चनजंघा बेसक्याम्प देखियो। एक हप्ते कञ्चनजंघा ट्रेकिङमा नेपालकै होचो स्थान कचनकवलको गहिराइमा जमेको पानीदेखि संसारकै तेस्रो अग्लो कञ्चनजंघाको आधार शिविर नजिक जमेको हिउँ छुन पाइयो। तराईका कमलदेखि हिमालका गुराँससम्म हेर्न, सारसदेखि डाँफेसम्म नियाल्न पाउँदा अलौकिक अनुभूति हुने नै भयो।

(लेखक गोकर्णप्रसाद उपाध्याय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हुन्)