एक–डेढ दशकमै कुनै देशको आर्थिक कायापलट हुनु सामान्य घटना होइन। सानोतिनो प्रयासले ५० करोड मान्छेलाई गरिबीको गर्तबाट बाहिर निकाल्न सकिँदैन।
बीसौं शताब्दीको उत्तरार्द्धमा चीनले जुन गतिमा आर्थिक विकास गर्यो, त्यो त्यस्तै असामान्य घटनाहरूमध्ये एक थियो।
संसारलाई आश्चर्यचकित बनाउने चीनको आर्थिक उन्नतिमा धेरै पात्रहरूले योगदान गरेका छन्। ती विभिन्न पात्रमध्ये एक थिए पूर्वप्रधानमन्त्री झु रोंगजी।
उनले मुलुकको बन्द केन्द्रीय योजनामा आधारित समाजवादी अर्थतन्त्रलाई खुला र बजारमुखी बनाउने पक्की बाटोमा हिँडाएका थिए। अघिल्लो साता बेइजिङमा ९७ वर्षको उमेरमा उनको निधन भएको छ।
बिथोलिएको विरासत
अथाह आर्थिक सम्भावनाको ज्वालामुखी पालेर बसेको चीन विश्व बजारमा खुल्न चाहन्थ्यो। मुलुकलाई औद्योगिक शक्ति बनाउने माओत्से तुंगका प्रयोग एकपछि अर्को गर्दै असफल भएका थिए। प्रचुर जल, जमिन, जंगल र जनशक्ति हुँदा पनि मुलुक गरिबीमा थियो। करोडौं मान्छे भोकमरीले मरेका थिए। तारतम्य मिलिरहेको थिएन।
भरपर्दो मित्र शक्ति भनिएको सोभियत संघ आफै कमजोर हुँदै गएको थियो। चीनलाई सोभियत संघबाट छुटाएर आफ्नो पक्षमा पार्ने यस्तै मौकाको ताकमा अमेरिका थियो।
सन् १९७२ मा तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिंगरले राष्ट्रपति रिचार्ड निक्सन र चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुंगको भेट गराए।
दुई देशबीच सम्बन्ध बढ्दै गयो। देंग सियाओ पिंग सर्वोच्च नेता बनेपछि अमेरिका र चीनबीचको लेनदेन झन् तीव्र गतिमा बढ्यो।
सन् १९७९ मा राष्ट्रपति जिमी कार्टरले देंगलाई अमेरिकामा स्वागत गरे।
त्यसपछि पश्चिमा संसारसँग चीनको हिमचिम बढ्दै गयो। देंग चिनियाँ अर्थतन्त्रमा 'सुधार र खुलापन' चाहन्थे। बजार अर्थतन्त्र चीनका लागि नौलो थियो। निजी सम्पत्ति, बजार मूल्य, लगानी, उत्पादन, वितरण, उपभोग, बचत, माग, आपूर्ति, प्रोत्साहन लगायतका बजार अवयवले अर्थतन्त्रमा ठ्याक्कै कसरी काम गर्छ भन्ने अनुभव चिनियाँहरूलाई थिएन।
अमेरिकीहरूको सल्लाहमा सुरू भएका केही प्रयोगले अकल्पनीय नतिजा दिएको थियो। त्यसरी सल्लाह दिनेमा चर्चित अर्थशास्त्री मिल्टन फ्रिडम्यान र उनका चेलाहरू थिए।
प्रारम्भिक सुधार
खासगरी राज्यको स्वामित्वमा भएका उद्योगबाट उत्पादित वस्तुको मूल्य निर्धारण र बिक्रीवितरण गर्ने सम्बन्धमा अलमल भएको थियो। ठीकसँग मूल्य निर्धारण भएन भने महँगीले आकाश छोला भन्ने चिन्ता थियो। त्यति बेला (सन् १९८८) प्रधानमन्त्री थिए झाओ जियांग।
'मैले पोलिटब्युरो बैठकमा प्रस्तुत गरेको कार्यपत्रमा बजार मूल्यले ल्याउन सक्ने खतरा र जनतामा बढ्न सक्ने असन्तुष्टिको चर्चा गरेको थिएँ,' झाओले आफ्नो आत्मकथा प्रिजनर अफ स्टेट: सिक्रेट जर्नल अफ प्रिमियर झाओ जियांगमा लेखेका छन्, 'जोखिम उठाउने यस्तै बेलामा हो भन्दै कमरेड देंगले मलाई नआत्तिन भनेका थिए।'
त्यसै समयमा झाओ र फ्रिडम्यानबीच अर्थतन्त्र व्यवस्थापनका विषयमा दुई घण्टा लामो छलफल भएको थियो। यो भेट फुदोंग विश्वविद्यालयले गराएको थियो। झाओले पार्टीको नीति अनुसार 'राज्यले बजार व्यवस्थापन र बजारले उद्यमलाई मार्गदर्शन गर्ने' गरी चीनमा अर्थतन्त्रको विकास गर्न लागिएको बताएका थिए।
जबाफमा फ्रिडम्यानले त्यस्तो व्यवस्था सम्भव छैन भनेका थिए।
उनको तर्क थियो– राज्यका आदेश माथिबाट तलतिर जाने किसिमका हुन्छन्, जबकि बजारका संकेतहरू तलबाट माथितिर जान्छन्। यी दुईमा मेल हुन सक्दैन। यस्तो द्वैध प्रणालीले उत्पादनलाई सस्तो होइन झन् महँगो बनाउँछ। कसैगरी बजार मूल्यलाई दबाइयो भने वस्तुको अभाव हुन्छ।
फ्रिडम्यान र झाओ एकअर्काका तर्कसँग असहमत भए पनि कुराकानी मैत्रीपूर्ण थियो। फ्रिडम्यान चिनियाँ नेताको अर्थशास्त्रीय चेतबाट प्रभावित भएका थिए।
उनले भने, 'तपाईंका कुरा सुनेर मलाई कुनै अर्थशास्त्रको प्राध्यापकसँग गफ गर्दैछु भन्ने लाग्यो।'
'मैले त हाइस्कुलसम्म पढेको हुँ,' झाओले हाँस्दै जबाफ दिए।
छलफल सकिएपछि झाओ उठे, फ्रिडम्यानलाई उनको गाडीसम्म पुर्याए, ढोकासमेत खोलिदिए। चिनियाँ नेताहरू सामान्यतया त्यसो गर्दैनन्। झाओको यो असामान्य व्यवहारले बेइजिङका नीति–निर्माता र विद्वानहरूको सर्कललाई कानेखुसी गर्ने सामग्री दियो।
चिनियाँ प्रेसमा फ्रिडम्यानको यात्राको चर्चा भयो। फ्रिडम्यान चीनमा बजारमैत्री परिवर्तन हुने आशामा घर फर्किए।
लगत्तै झाओको चिन्ता यथार्थमा परिणत हुने दिशामा अर्थतन्त्र लाग्यो। बढ्दो मुद्रास्फीतिले जनसाधारणको दैनिक जीवन महँगो बनायो। बेरोजगारी बढ्यो। भ्रष्टाचार व्यापक भएको र राजनीतिक सुधार कत्ति पनि नभएको भन्दै विद्यार्थीहरू विरोधमा ओर्लिए।
तियानमेन संकट र सुधारमा लगाम
सन् १९८९ मा विद्यार्थीहरूले बेइजिङको तियानमेन चोकलाई केन्द्र बनाएर देशव्यापी विरोध प्रदर्शन सुरू गरे। दिन प्रतिदिन तियानमेन चोकमा विद्यार्थीको भीड बढ्दै गयो।
पार्टीका शीर्ष नेताहरू बल प्रयोग गरेर प्रदर्शन दबाउनुपर्छ भन्न थाले। झाओ बल प्रयोगको विपक्षमा थिए।
एक दिन पार्टीको बैठक चलिरहेकै बेला विद्यार्थीसँग सिधै कुरा गर्ने भनी एक्कासि बाहिरिए।
तियानमेन चोकमा उनले हाते माइक लिएर भावुक स्वरमा भने, 'तपाईंहरूसम्म आइपुग्न हामीले धेरै ढिलो गर्यौं। हाम्रो आलोचना गर्नुभएको छ, त्यसलाई स्वीकार गर्छौं। तपाईंहरूले भनेका कुरा हामी मान्छौं। तर अहिले घर जानुहोस्, यहाँ बसेर आफ्नो स्वास्थ्य नबिगार्नुहोस्!'
त्यसको भोलिपल्ट देंग सियाओ पिंगको आदेशमा विद्यार्थीमाथि दमन सुरू भयो। हप्तौँदेखि विद्यार्थीले डेरा जमाएर बसेको तियानमेन चोक रातभरमै खाली गरियो। थुप्रै प्रदर्शनकारीहरू मारिए, थुप्रै घाइते भए।
प्रदर्शनकारीलाई समर्थन गरेको, पार्टी विभाजनलाई सहयोग गरेको र समाजवादलाई कमजोर बनाएको आरोप लगाएर झाओलाई प्रधानमन्त्री पदबाट हटाइयो। उनलाई मृत्युपर्यन्त घरमै नजरबन्द गरियो।
झाओको सट्टामा पुरातनवादी लि पेंग प्रधानमन्त्री भए, उनको समूह सत्तामा हाबी भयो। झन्डै एक दशक सुधारको गति सुस्त भयो।
सुधारको राजमार्ग
झाओका पालाका अधुरा काम गर्ने गरी सन् १९९८ मा झु रोंगजी प्रधानमन्त्री भए। उनले '१६ बुँदे समष्टिगत आर्थिक व्यवस्थापन' नीति लागू गरे। यसमा मुद्रा आपूर्ति नियन्त्रण, ब्याजदर समायोजन, लगानी संरचना सुधार, विदेशी विनिमय व्यवस्थापन, घरजग्गा बजार र मूल्य नियन्त्रणका उपायहरू समावेश थिए।
बैंकिङ प्रणालीको पुनर्संरचना, सरकारी स्वामित्वका उद्योगको सुधार, कर प्रणालीमा सुधार, स्वास्थ्य प्रणालीको रूपान्तरण र विश्व व्यापार संगठन (डब्लुटिओ)मा चीनको प्रवेशजस्ता कदमहरूको प्रत्यक्ष नेतृत्व झु रोंगजीले गरे।
जनवादी गणतन्त्र चीन स्थापना भएको वर्ष १९४९ मा झु रोंगजी चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध भएका थिए। विश्वविद्यालय शिक्षा पूरा गरेपछि उनले राज्य योजना आयोगमा काम गरेका थिए।
सन् १९५७ मा 'हन्ड्रेड फ्लावर्स क्याम्पेन' चलाइयो। सबैले मनमा लागेका कुरा भन्न पाइने भनियो। त्यस मौकामा प्रस्टभाषी झु रोंगजीले माओत्से तुङका आर्थिक नीतिहरूको आलोचना गरे।
यही आलोचना गरेबापत उनको हजुरबाले पहिलेका बादशाहको दरबारमा काम गरेका थिए भन्ने इतिहास पनि जोडेर उनलाई 'दक्षिणपन्थी' को लेबल लगाइयो र पार्टीबाट निष्कासन गरियो र दुर्गम गाउँमा पठाइयो।
माओको 'ग्रेट लिप फरवार्ड' पछिको भीषण अनिकालपश्चात् सन् १९६२ मा उनको कारबाही फुकुवा भयो। सांस्कृतिक क्रान्तिको समयमा झु रोंगजी फेरि कारबाहीमा परे। उनलाई खेतीपाती गर्न पठाइयो। एक प्रतिभाशाली इन्जिनियर सामान्य कृषि मजदुरको भूमिकामा सीमित भए।
देंग नेतृत्वमा आएपछि झुको राजनीतिक पुनर्स्थापना भयो। त्यहीँबाट पार्टी र सरकारको माथिल्लो ओहोदातर्फ उनको यात्रा सुरू भयो।
सन् १९८७ मा सांघाईको मेयर नियुक्त भए। उनले सांघाईमा विशेष आर्थिक क्षेत्रको अवधारणालाई सफलतापूर्वक लागू गरे। उनको नेतृत्वमा सांघाईले द्रुत आर्थिक विकास गर्न थाल्यो र चीनको वित्तीय राजधानीको रूपमा स्थापित भयो।
सांघाईको सफलताले एक भरपर्दो र सक्षम प्रशासकको रूपमा झु रोंगजीको छवि निर्माण गरिदियो र राष्ट्रिय राजनीतिमा स्थापित हुने बाटो खोलिदियो। सन् १९९१ मा झु रोंगजी उपप्रधानमन्त्री भए। पिपल्स बैंक अफ चाइनाको नेतृत्व उनकै हातमा आयो।
त्यस बेला चीनमा मुद्रास्फीति गम्भीर समस्याको रूपमा देखिएको थियो। अनियन्त्रित कर्जा प्रवाह रोक्ने, स्थानीय सरकारहरूको अत्यधिक खर्च नियन्त्रण गर्ने लगायत 'नरम अवतरण' नाम दिइएको कठोर कार्यक्रममार्फत मुद्रास्फीतिलाई मत्थर बनाउन झु रोंगजी सफल भए। यसबाट उनले 'आर्थिक तानाशाह', 'आर्थिक जार' जस्ता उपनाम कमाए।
चिनियाँ बैंकिङ प्रणालीमा जोखिम व्यवस्थापन र पुँजी पर्याप्तताका मापदण्डहरू लागू गर्ने काम पनि यसै समयमा सुरू भएको थियो। उनको प्रधानमन्त्री कार्यकाल (१९९८–२००३) चीनको आर्थिक इतिहासको सबभन्दा परिवर्तनकारीमध्ये एक मानिन्छ।
प्रधानमन्त्री भएको तीन वर्षभित्र राज्यको स्वामित्वका प्रमुख उद्यमहरूलाई नाफामा फर्काउने महत्त्वाकांक्षी लक्ष्य राखेका थिए। घाटामा चलिरहेका र ऋणले थिचिएका सरकारी कम्पनीहरू 'भात खाने फलामे कचौरा' का रूपमा चिनिन्थे। यिनीहरूलाई बन्द गर्नु, निजी क्षेत्रलाई दिनु वा पुनर्संरचना गर्नु ठूलो राजनीतिक जोखिमको विषय थियो।
झु रोंगजीको कदमले आजीवन रोजगारीको ग्यारेन्टीमा भर परेका करोडौँ कामदार अचानक बेरोजगार भए। उनका अनुसार यो अल्पकालीन पीडा दीर्घकालीन आर्थिक स्वास्थ्यका लागि अनिवार्य थियो। उनले सरकारी कर्मचारी र सेनाको संख्या पनि घटाए।
उनको यो अभियानलाई 'ठूलालाई समाउन, सानालाई छाड्ने' भनेर प्रचार गरिएको थियो। यसअन्तर्गत रणनीतिक महत्त्वका उद्यमलाई मात्र सरकारी नियन्त्रणमा राख्ने, अन्य साना र मझौला राज्य उद्यम निजीकरण गर्ने नीति लिइएको थियो।
यसले चिनियाँ अर्थतन्त्रमा निजी क्षेत्रको उदयलाई प्रोत्साहन गर्यो।
वित्तीय प्रणालीको सुधार
चीनको बैंकिङ प्रणाली दशकौंदेखि अनुत्पादक ऋणको बोझले थिचिएको थियो। साँवा–ब्याज नउठ्ने भए पनि सरकारी बैंकहरूले सरकारी स्वामित्वकै उद्योगलाई ऋण दिन्थे।
झु रोंगजीले बैंकहरूलाई व्यावसायिक आधारमा सञ्चालन गर्न लगाउने, खराब ऋणका लागि धितो राखिएका सम्पत्तिलाई अलग्याएर सम्पत्ति व्यवस्थापन कम्पनीको जिम्मा लगाउने र बैंकिङ नियमनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप बनाउने काम गरे।
सांघाई र सेन्जेन स्टक एक्सचेन्जहरूको विकासमा उनको महत्त्वपूर्ण भूमिका रह्यो। यसले चिनियाँ कम्पनीहरूलाई पुँजी बजारबाट लगानी जुटाउने वैकल्पिक बाटो प्रदान गर्यो। बैंकिङ प्रणालीमाथिको निर्भरतालाई क्रमशः घटाउँदै लग्यो।
मौद्रिक नीति निर्माणलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न पिपल्स बैंक अफ चाइनाको संस्थागत स्वतन्त्रता बढाउने, थप व्यावसायिक र प्राविधिक निकायको रूपमा विकास गर्ने काम उनले गरे।
करको केन्द्रीकरण र बाँडफाँट
सन् १९९० को दशकभन्दा अघि चीनको राजस्व संकलन प्रणाली विकेन्द्रीकृत थियो। यस कारण केन्द्र सरकारको राजस्व संकलन क्षमता निकै कमजोर भएको र प्रान्तीय सरकारहरूलाई उपलब्ध वित्तीय शक्तिको दुरूपयोग भएको निष्कर्ष निकालियो।
उनले 'एकीकृत कर प्रणाली' लागू गरे। केन्द्र सरकार र प्रान्तीय सरकारहरूबीच राजस्व बाँडफाँट व्यवस्थित तरिकाले पुनर्संरचना गरियो। राजस्व आधार सुदृढ भएपछि केन्द्र सरकार पूर्वाधार विकास, सामाजिक सुरक्षा र अन्य राष्ट्रिय प्राथमिकताका कार्यक्रमहरूमा लगानी गर्न सक्षम भयो। यो सुधार आजसम्म पनि चीनको वित्तीय प्रणालीको आधारस्तम्भको रूपमा छ।
विश्व व्यापार संगठनमा प्रवेश
चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउनु झु रोंगजीको सबैभन्दा ऐतिहासिक र दीर्घकालीन प्रभाव पार्ने उपलब्धि थियो। संगठनमा प्रवेश गर्न अमेरिका लगायतका व्यापार साझेदारसँग वार्ताको नेतृत्व झु रोंगजी आफैले गरे। सन् २००१ मा चीन औपचारिक रूपमा संगठनको सदस्य बन्यो।
यसले चिनियाँ अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय बजारसँग एकीकृत गर्यो। विदेशी लगानीका लागि थप ढोका खोलिदियो, व्यापार अवरोधहरू घटायो र चिनियाँ कम्पनीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्ने अवसर दियो।
परिणाम स्वरूप चीन विश्वको 'कारखाना' बन्यो। उसले निर्यातमुखी आर्थिक वृद्धिको मोडल अपनायो।
यो प्रक्रिया सजिलो थिएन। अमेरिका लगायत पश्चिमी देशहरूसँगको वार्ता निकै जटिल र समय लाग्ने किसिमको थियो। सन् १९९९ मा अमेरिकाको आधिकारिक भ्रमणको क्रममा झु रोंगजीले व्यापारिक समुदाय, कांग्रेस सदस्यहरू र सञ्चार माध्यमसँग प्रत्यक्ष संवाद गरे। उनको खुला र व्यावहारिक संवाद शैलीले अमेरिकी पक्षलाई प्रभाव पार्यो।
विश्व व्यापार संगठनमा प्रवेशका लागि चीनले भन्सार दर घटाउने, विदेशी कम्पनीलाई दूरसञ्चार, बैंकिङ र बीमा क्षेत्रमा प्रवेश दिने र बौद्धिक सम्पत्ति अधिकार सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्ड लागू गर्ने लगायतका सहमति गरेको थियो।
विदेशी शक्तिसँग घुँडा टेक्यो भनेर घरेलु राजनीतिमा यसको पनि व्यापक आलोचना भएको थियो। धेरै चिनियाँ उद्योगी र किसानले विदेशीसँग प्रतिस्पर्धा खुला गर्दा साना तथा मझौला उद्योग र कृषि क्षेत्रलाई हानि हुन्छ भन्ने चिन्ता व्यक्त गरेका थिए।
एसियाली वित्तीय संकट
सन् १९९७–९८ मा एसियाली वित्तीय संकटले थाइल्यान्ड, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, इन्डोनेसिया लगायतका देशहरू संकटमा परेका थिए। यस्तो वित्तीय अस्थिरताको बेला झु रोंगजीले चिनियाँ मुद्रा युआनलाई अवमूल्यन नगर्ने निर्णय गरे।
चीनले मुद्रा अवमूल्यन गर्दा क्षेत्रीय वित्तीय संकट अझ गहिरो हुने र फैलिने भएकाले त्यसो नगर्न व्यापार साझेदार मुलुकहरूले आग्रह गरेका थिए।
चीनको यो निर्णयले क्षेत्रीय स्थिरता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्यो र चीनलाई एक जिम्मेवार र भरपर्दो आर्थिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय समुदायमा स्थापित गर्यो।
निजी आवास र मध्यम वर्गको उदय
पुरानो समाजवादी प्रणाली अन्तर्गत राज्य स्वामित्वका उद्यम र सरकारी निकायहरूले आफ्ना कर्मचारीहरूलाई अत्यन्त न्यून वा निःशुल्क आवास उपलब्ध गराउने चलन थियो। यसले घरजग्गा बजारको विकास रोकेको थियो।
सन् १९९८ मा झु रोंगजीको सरकारले पुरानो प्रणाली खारेज गर्दै आवासलाई बजारमुखी बनाउने ऐतिहासिक निर्णय गर्यो। बरू नागरिकलाई आफ्नै आवास किन्न प्रोत्साहित गरियो र निजी घरजग्गा बजारको विकासका लागि बाटो खोलियो।
यो सुधारले चिनियाँ अर्थतन्त्रमा दूरगामी प्रभाव पार्यो। यसले घरजग्गा र निर्माण क्षेत्रलाई द्रुत गतिमा विस्तार गर्न मद्दत गर्यो। घरजग्गा चिनियाँ अर्थतन्त्रको लगभग एक चौथाइ हिस्सा ओगट्ने ठूलो क्षेत्र बन्यो। धेरै विश्लेषकहरूको मतमा यही आवास सुधारले नै चीनमा मध्यमवर्गीय सम्पत्ति सिर्जनाको जग बसाल्यो।
यसले अल्पकालमा आर्थिक वृद्धिलाई प्रोत्साहन त गर्यो तर दीर्घकालमा (सन् २०२० पछि) देखिएको घरजग्गा क्षेत्रको ऋण संकटको बिउ पनि रोप्यो।
स्वास्थ्य प्रणालीमा सुधार
पुरानो स्वास्थ्य प्रणालीमा सरकारी कर्मचारीहरूको स्वास्थ्य उपचार पूर्ण रूपमा निःशुल्क हुन्थ्यो। झु रोंगजीले नयाँ सामाजिक स्वास्थ्य बीमा प्रणाली थालनी गरे। यसमा कर्मचारी र रोजगारदाता दुवैले योगदान गर्ने व्यवस्था मिलाइयो।
यो प्रणाली प्रारम्भिक चरणमा सीमित र असमान सुविधा प्रदान गर्ने किसिमको थियो। यसलाई पछि राष्ट्रव्यापी स्वास्थ्य बीमा प्रणालीमा विस्तार गरियो।
भ्रष्टाचार विरूद्धको अभियान
झु रोंगजीले भ्रष्टाचारलाई चीनको सबैभन्दा गम्भीर समस्यामध्ये एक मानेका थिए।
उनको कार्यकालमा पूर्वी चीनको जियांग्सी प्रान्तका पूर्व उप–गभर्नरलाई घुस लिएको आरोपमा मृत्युदण्ड दिइयो। भन्सार, कर र वित्त क्षेत्रमा व्यापक भ्रष्टाचार–विरोधी अभियान सञ्चालन गरियो। उच्च तहका सयौं अधिकारी कारबाहीमा परे।
'म सय वटा कफिन बनाउँदै छु, त्यसमध्ये ९९ वटा भ्रष्टहरूका लागि र एउटा मेरै लागि हो' भन्ने उनको भनाइ चर्चित थियो।
समाजवादी मान्यताबाट टाढा
उनको आक्रामक सुधार गतिले केही रूढिवादी नेताहरूलाई असहज बनाएको थियो। कतिपय आलोचकहरूले उनका नीतिलाई अत्यन्त पश्चिमी बजार अर्थतन्त्रको मोडलमा आधारित भएको र चिनियाँ समाजवादी मान्यताबाट टाढा गएको भन्दै आलोचना गरेका थिए।
झु रोंगजीको केन्द्रीकृत र माथिबाट तल सर्ने विकासे नीतिले क्षेत्रीय असमानता बढाएको आरोप पनि छ।
सांघाई लगायत तटीय क्षेत्रका सहरहरूले सुधारको फाइदा उठाए तर भित्री र पश्चिमी प्रान्तहरू विकासको दौडमा पछाडि परे।
यो असमानता आजसम्म पनि चीनको आर्थिक नीति निर्माणमा एउटा प्रमुख चुनौती बनेको छ।

एक्सः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)