आजभोलि धेरैजसो अभिभावकको एउटै साझा चिन्ता छ— मेरो छोरा वा छोरीलाई मोबाइलको लत बस्यो। मोबाइल बिना खाना खाँदैन, पढ्न बस्दैन, सुत्न पनि मान्दैन।
विद्यालयका शिक्षकहरू पनि यही गुनासो गर्छन्— मोबाइलको लतले विद्यार्थीको पढाइप्रति रूचि नै छैन।
तर एउटा गम्भीर प्रश्न हामी आफैलाई पनि सोध्नुपर्छ— यो चिन्ता गर्ने हामी शिक्षक र अभिभावक चाहिँ कति फरक छौं?
बिडम्बना के छ भने, आज आफ्ना छोराछोरी र विद्यार्थीको मोबाइलको लतप्रति चिन्तित धेरै अभिभावक र शिक्षक आफै पनि बिहान उठेदेखि राति सुत्ने बेलासम्म मोबाइलमै व्यस्त हुन्छन्।
उठ्नेबित्तिकै फोन हेर्ने, खाना खाँदा सामाजिक सञ्जाल चलाउने, काम गर्दागर्दै नोटिफिकेसन हेर्न मोबाइल चलाउने, राति सुत्नुअघि ओछ्यानमा अन्तिम पटक फेसबुक, टिकटक वा युट्युब हेर्ने बानी अहिले सामान्यजस्तै बनेको छ।
त्यसैले प्रश्न अब बालबालिकाको मात्र होइन, हामी सबैको हो। सायद हामीमध्ये धेरै जना थोरै वा धेरै मात्रामा डिजिटल लतको चरणमा प्रवेश गरिसकेका छौं।
मानव सभ्यताको विकासलाई हेर्दा हामी अहिले प्रविधि र विकासको उत्कृष्ट अवसरसँगै त्यसले निम्त्याएको गम्भीर चुनौतीको मोडमा उभिएका छौं।
भनिन्छ— समाज अहिले विकास र सभ्यताको पाँचौं युगमा प्रवेश गरिसक्यो।
ढुंगे र सिकारी युगबाट सुरू भएको मानवसभ्यताको विकास कृषि र स्थाइ बसोबास परम्परामा विकास हुँदै औधोगिक युगमा आइपुग्दा मानव जीवन धेरै सहज र सभ्य भइसकेको थियो।
सूचना र ज्ञानको चौथो युगमा प्रवेश गरेसँगै कम्प्युटर र इन्टरनेटको ज्ञानले समाज र हाम्रो जीवनलाई गजबले प्रभावित गर्न थाल्यो।
पहिला त यो कम आय भएका नेपाल जस्ता मुलुकमा सबैको सहज पहुँचमा थिएन। तर विशेषगरी कोभिड–१९ पछि स्मार्टफोन र इन्टरनेट नेपालको दुर्गम गाउँदेखि सहरसम्म सबैको पहुँचमा पुग्यो र त्यससँगै हाम्रो डिजिटल निर्भरता पनि निरन्तर बढ्दै गएको छ।
विगत केही वर्षयता कृत्रिम बुद्धिमत्ता (एआई) को उदयसँगै इन्टरनेटको विकासले नयाँ मोड लिएको छ। यही परिवर्तनसँगै मानव समाज अब विकासको पाँचौं युग अर्थात् 'सोसाइटी ५.०' तर्फ अघि बढिरहेको चर्चा हुन थालेको छ।
सन् २०१६ मा जापान सरकारले प्रस्तुत गरेको यस अवधारणाले एआई, बिग डेटा, रोबोटिक्स र साइबरस्पेसलाई दैनिक जीवनसँग जोडेर मानिसको जीवनलाई अझ सहज, सुरक्षित र समृद्ध बनाउने मानवमुखी 'सुपर–स्मार्ट' समाजको परिकल्पना गरेको छ।
यसमा कुनै शंका छैन— प्रविधिले हाम्रो जीवनलाई असाधारण रूपमा सहज बनाएको छ। केही सेकेन्डमै संसारको जुनसुकै कुनाको सूचना प्राप्त गर्न सकिन्छ। बैंकिङ, किनमेल, शिक्षा, स्वास्थ्य सेवा, सरकारी सेवा, मनोरञ्जन, सञ्चार सबै कुरा औंलाको स्पर्शमै उपलब्ध छन्। विद्यालय, कलेज, कार्यालय र घर सबै ठाउँमा डिजिटल प्रविधि हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ।
विश्वव्यापी डिजिटल तथ्यांक प्रस्तुत गर्ने प्लेटफर्म डाटारिपोर्टलको जनवरी २०२५ को तथ्यांक अनुसार नेपालमा करिब ३ करोड ९० लाख मोबाइल सिम/मोबाइल कनेक्सन सक्रिय छन्।
यो संख्या नेपालको कुल जनसंख्याको १३२ प्रतिशत बराबर हो। यसको अर्थ धेरै मानिससँग एकभन्दा बढी सिम प्रयोग गर्ने चलन छ। तर यी सबै कनेक्सन इन्टरनेटका लागि मात्र नभई फोन र एसएमएस सेवाका लागि पनि हुन सक्छन्।
सन् २०२५ को सुरूसम्म नेपालमा करिब १ करोड ६५ लाख मानिस इन्टरनेट प्रयोगकर्ता छन्, जुन कुल जनसंख्याको ५५.८ प्रतिशत हो। त्यसैगरी, करिब १ करोड ४३ लाख सामाजिक सञ्जाल प्रयोगकर्ता छन्, जुन नेपालको कुल जनसंख्याको ४८.१ प्रतिशत बराबर हो।
यसले के देखाउँछ भने, नेपालमा डिजिटल पहुँचसँगै इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग तीव्र गतिमा विस्तार भइरहेको छ।
डिजिटल उपयोगले हाम्रो व्यवहार कसरी बदल्दैछ?
प्रविधिले हाम्रो जीवन सहज त बनाएको छ, तर यससँगै यसले हाम्रो दैनिक बानी, सोचाइ र निर्णय प्रक्रियामा पनि गहिरो प्रभाव पार्न थालेको छ।
एआई, बिग डेटा र इन्टरनेट अफ थिङ्स (आइओटी) जस्ता प्रविधिले यो परिवर्तनलाई अझ तीव्र बनाइरहेका छन्।
यही परिवर्तनलाई आधार मानेर विकसित भएको अवधारणा हो 'सोसाइटी ५.०'।
जापान सरकारले अघि सारेको सोसाइटी ५.० अवधारणा अनुसार एआई, आइओटी, बिग डेटा, रोबोटिक्स र साइबरस्पेस जस्ता उन्नत प्रविधिलाई दैनिक जीवनसँग एकीकृत गरी मानव कल्याण अभिवृद्धि गर्ने तथा सामाजिक समस्याहरू समाधान गर्ने लक्ष्य राखिएको छ।
अर्थात्, प्रविधिलाई मानव जीवनको सेवामा प्रयोग गर्ने मानवकेन्द्रित 'सुपर–स्मार्ट' समाजको परिकल्पना यस अवधारणाले गरेको छ।
तर यस्तो सम्भावनासँगै अर्को पक्ष पनि छ। प्रविधिमाथिको बढ्दो निर्भरताले 'संज्ञान', 'सामाजिकीकरण' र 'संवेग' को सम्मिश्रणले बनेको हाम्रो प्राकृतिक र स्वतन्त्र जीवनशैली क्षयीकरण हुने भयंकर जोखिम पनि बढ्दै गएको छ।
हो, अब हामी इन्टरनेट, एआई र बिग डेटाद्वारा निर्देशित सुपर–स्मार्ट समाजतर्फ अघि बढिरहेका छौं। यससँगै हाम्रो दैनिक जीवन, बानी, सोचाइ र निर्णय प्रक्रिया पनि क्रमशः डिजिटल प्रणालीबाट प्रभावित हुँदै गएका छन्।
हिजो मानिसका अधिकांश अनुभव प्रकृति र सामाजिक वातावरणबाट प्राप्त हुन्थे। तर आज हाम्रो समयको ठूलो हिस्सा स्क्रिन र डिजिटल माध्यममै बित्न थालेको छ।
यसरी डिजिटल प्रणालीले हाम्रो व्यवहार र जीवनशैलीमाथि निरन्तर प्रभाव पारिरहेको छ। यस परिवर्तनको केन्द्रमा रहेको प्रमुख प्रविधि नै इन्टरनेट अफ थिङ्स (आइओटी) हो।
आइओटी भन्नाले इन्टरनेटसँग जोडिएका विभिन्न उपकरणहरूको यस्तो प्रणालीलाई जनाउँछ, जसले स्वतः डाटा संकलन, आदानप्रदान र विश्लेषण गर्छ। यही विश्लेषणका आधारमा यसले व्यक्तिको रूचि, आवश्यकता र व्यवहार अनुसार सेवा तथा सुझाव प्रदान गर्छ।
यस प्रक्रियाले मानिसका गतिविधि निरन्तर निगरानी गर्ने, तुरून्त प्रतिक्रिया दिने र धेरै काम स्वचालित रूपमा सम्पन्न गर्ने भएकाले मानिसको निर्णय गर्ने तरिका र दैनिक बानीसमेत प्रभावित हुन थाल्छ।
उदाहरणका लागि — तपाईंले आफ्नो गुगल वा एप्पल आइडी प्रयोग गरेर सामाजिक सञ्जाल, इमेल, अनलाइन किनमेल बजार लगायतका एपहरू र वेबसाइटहरूमा लगइन गर्नुभएको छ। अब ती सेवाहरूले तपाईंले के हेर्नुभयो, के खोज्नुभयो, के किन्नुभयो, कुन भिडिओ मन पराउनुभयो, कुन गीत सुन्नुभयो वा कहाँ जानुभयो भन्ने जस्ता जानकारी संकलन गर्न सक्छन्।
अहिले स्मार्ट टिभी, स्मार्ट घडी, स्मार्ट फ्रिज, स्मार्ट एसी, रोबोट भ्याकुम, सुरक्षा क्यामरा तथा अन्य घरायसी उपकरणहरू पनि वाइफाइमार्फत इन्टरनेटमा जोडिन्छन्। यस्ता उपकरण प्रयोग गर्दा प्रायः खाता खोल्न, लगइन गर्न तथा सर्त स्वीकार गर्न भनिन्छ। तपाईंले सहमति दिएपछि ती सेवाहरूले तपाईंका विभिन्न प्रकारका जानकारी संकलन र प्रयोग गर्न सक्छन्।
यी विभिन्न एप, वेबसाइट र उपकरणबाट प्राप्त जानकारी एकीकृत गरी तपाईंको रूचि, बानी, आवश्यकता र व्यवहारको डिजिटल प्रोफाइल तयार गरिन्छ।
त्यसका आधारमा तपाईंलाई कुन भिडिओ हेर्ने, कुन गीत सुन्ने, कुन सामान किन्ने, कुन समाचार पढ्ने, कुन रेस्टुरेन्टमा जाने, कहाँ घुम्न जाने वा कुन सेवा प्रयोग गर्ने भन्ने सुझावहरू निरन्तर दिइन्छ।
यसरी डिजिटल प्रणालीहरूले तपाईंलाई मनपर्ने विकल्पहरू मात्र देखाउँदै तपाईंको ध्यान, समय र रोजाइलाई क्रमशः निश्चित दिशातर्फ लैजान सक्छन्।
धेरै पटक हामीले आफै निर्णय गरिरहेका छौं जस्तो लागे पनि, हाम्रा धेरै रोजाइ र निर्णयहरू यिनै डिजिटल सुझावबाट प्रभावित भइरहेका हुन्छन्।
यसले दैनिक जीवनलाई सहज, छिटो र व्यक्तिगत आवश्यकता अनुरूप बनाउन सहयोग गरे पनि भविष्यमा यसको अत्यधिक प्रयोगले मानिसको डिजिटल प्रणालीमाथिको निर्भरता बढ्न सक्छ।
बिस्तारै मानिसले के खाने, के किन्ने, कहाँ जाने, कुन बाटो प्रयोग गर्ने, कुन चलचित्र हेर्ने, कसरी व्यायाम गर्ने, कसरी यात्रा गर्ने वा दिनभरको योजना कसरी बनाउने भन्ने निर्णयसमेत डिजिटल सुझावबिना गर्न गाह्रो महसुस गर्न सक्छ।
अझ, यस्ता प्रणालीहरूले हाम्रो व्यवहारबाट निरन्तर सिक्दै जाने भएकाले भविष्यमा मानिसका रूचि, बानी र निर्णयलाई अझ सुक्ष्म रूपमा प्रभावित गर्ने सम्भावना रहन्छ।
त्यसैले आइओटीले जीवन सहज बनाउने ठूलो सम्भावना बोके पनि यसको जिम्मेवार प्रयोग, व्यक्तिगत डाटाको सुरक्षा र स्वतन्त्र रूपमा सोचेर निर्णय गर्ने क्षमता जोगाइराख्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ।
यसरी हेर्दा, डिजिटल प्रविधि हाम्रो जीवनको सहायक मात्र होइन, हाम्रो समय र व्यवहारको महत्त्वपूर्ण निर्धारक बन्दै गएको देखिन्छ।
यसको प्रभाव हाम्रो दैनिक जीवनमा कति गहिरो भइसकेको छ भन्ने कुरा केही तथ्यांकले पनि देखाउँछन्।
'मिनिमलिस्ट लन्चर' ले सन् २०२५ मा २ लाख ३० हजारभन्दा बढी प्रयोगकर्तामाथि गरेको तथ्यांकीय विश्लेषण अनुसार मानिसले औसत दिनमा करिब ४ घन्टा मोबाइल प्रयोग गर्छ। यसरी हेर्दा मानिसले वर्षमा करिब ६० दिन र जीवनभरमा १७ वर्षभन्दा बढी समय मोबाइलमै बिताउने सम्भावना देखिन्छ।
सामाजिक सञ्जालले मात्रै दिनको २ घन्टाभन्दा बढी समय लिन्छ र यो समय हरेक वर्ष बढ्दै गएको देखिएको छ।
अनुसन्धानले के भन्छ?
नेपालमा पछिल्ला वर्षहरूमा भएका विभिन्न अनुसन्धानहरूले इन्टरनेट, सामाजिक सञ्जाल र स्मार्टफोनप्रतिको बढ्दो निर्भरता र त्यसमा उत्पन्न समस्यालाई स्पष्ट रूपमा देखाएका छन्।
विक्रम काफ्ले र सहअनुसन्धानकर्ताले 'नेपाल मेडिकल एसोसिएसनको जर्नल' मा सन् २०२५ प्रकाशित रूपन्देही जिल्लाको एक सरकारी विद्यालयमा गरिएको अध्ययनले ४६१ विद्यार्थीमध्ये करिब ३० प्रतिशतमा हल्का र करिब ५ प्रतिशतमा मध्यम स्तरको इन्टरनेट लत देखाएको छ।
'जर्नल अफ नेपाल मेडिकल एसोसिएसन' मा सन् २०१८ मा प्रकाशित कृति थापा र सहअनुसन्धानकर्ताहरूको ३९० जना स्नातक तहका विद्यार्थीमाझ गरिएको अध्ययनले २१.८ प्रतिशत विद्यार्थीमा मोबाइलको लत रहेको देखाएको छ।
त्यस्तै सन् २०२३ मा 'जर्नल अफ एडिक्सन' मा प्रकाशित सोनु आचार्य र सहअनुसन्धानकर्ताहरूको ३४४ जना काठमाडौंका स्नातक तहका विद्यार्थीमाझ गरिएको अध्ययनले करिब ३० प्रतिशत (२९.९ प्रतिशत) विद्यार्थीमा इन्टरनेटको लत रहेको देखाएको छ।
सन् २०२० मा 'बिएमसी साइकियाट्री' मा प्रकाशित सिरिसा कार्की र सहअनुसन्धानकर्ताहरूले चितवन मेडिकल कलेजका २५० जना नवप्रवेशी चिकित्सा विद्यार्थीमाझ गरेको अध्ययनले ३६.८ प्रतिशत विद्यार्थी स्मार्टफोनको लतबाट प्रभावित रहेको देखाएको छ।
सो अध्ययनले ६० प्रतिशतभन्दा बढी विद्यार्थीले स्मार्टफोन अत्यधिक प्रयोग गर्ने र करिब ३८ प्रतिशतले प्रत्यक्ष भेटघाटमा पनि मोबाइलमै व्यस्त रहने (फबिङ) व्यवहार देखाएको उल्लेख गरेको छ।
सन् २०२५ मा 'जर्नल अफ इन्स्टिच्युट अफ मेडिसिन नेपाल' मा प्रकाशित सन्देश सावन्त र सहअनुसन्धानकर्ताहरूले वीरगञ्जका १५५ जना स्नातक तहका चिकित्सा विद्यार्थीमाझ गरेको अध्ययनले ५५.५ प्रतिशत विद्यार्थीमा इन्टरनेटको लत भएको देखाएको छ। तीमध्ये अधिकांशमा समस्याग्रस्त इन्टरनेट प्रयोग र केहीमा गम्भीर स्तरको लत देखिएको थियो, जसले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरूमा पनि इन्टरनेटको लत गम्भीर चुनौती बन्दै गएको संकेत गर्छ।
सन् २०२५ मा 'प्लोस वन' जर्नलमा प्रकाशित सोफिया आचार्य र सहअनुसन्धानकर्ताहरूले दक्षिणकाली नगरपालिकाका २४३ जना किशोरकिशोरीमाझ गरेको अध्ययनले इन्टरनेटको लत भएकाहरूमा कमजोर निद्राको समस्या उल्लेखनीय रूपमा बढी देखिएको जनाएको छ।
अध्ययन अनुसार करिब आधा (४९.४ प्रतिशत) किशोरकिशोरीमा इन्टरनेटको लतको जोखिम र २७.६ प्रतिशतमा निद्राको गुणस्तर कमजोर रहेको पाइयो। यसले अत्यधिक इन्टरनेट प्रयोगले निद्रामा नकारात्मक असर पार्न सक्ने संकेत गर्छ।
त्यसैगरी सोही जर्नलमा सन् २०२१ मा प्रकाशित क्षितिज कार्की र सहकर्मीले कीर्तिपुर नगरपालिकाका ३९० जना किशोरकिशोरीमाझ गरेको अध्ययनले २१.५ प्रतिशतमा प्रारम्भिक लत देखिएको तथा इन्टरनेटको लत भएका विद्यार्थीमा कमजोर निद्राको समस्या उल्लेखनीय रूपमा बढी रहेको निष्कर्ष निकालेको छ।
यी सबै अनुसन्धानलाई एकसाथ हेर्दा, डिजिटल प्रविधिप्रतिको बढ्दो निर्भरता नेपालका विद्यालय, कलेज र घरपरिवारसम्म फैलिएको सामाजिक चुनौती बनिसकेको स्पष्ट देखिन्छ।
नेपालमा देखिएको अवस्था भने कुनै अपवाद होइन। विश्वव्यापी अनुसन्धानहरूले पनि डिजिटल लत अहिले गम्भीर सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा विकसित भइरहेको देखाएका छन्।
अमेरिकी मनोवैज्ञानिक जिन ट्वेन्जले आफ्नो चर्चित पुस्तक आइजेन (iGen, २०१७) तथा 'प्रिभेन्टिभ मेडिसिन रिपोर्ट्स' मा सन् २०१८ मा प्रकाशित अध्ययनमा दैनिक पाँच घन्टा वा सोभन्दा बढी समय मोबाइल वा स्क्रिन प्रयोग गर्ने किशोरकिशोरीमा एक घन्टा वा त्योभन्दा कम प्रयोग गर्नेहरूको तुलनामा आत्महत्यासँग सम्बन्धित जोखिम कारक ७१ प्रतिशत बढी रहेको देखाएकी छन्।
उनका अनुसार सन् २०१२ पछि स्मार्टफोन र सामाजिक सञ्जालको तीव्र विस्तारसँगै किशोरकिशोरीमा डिप्रेसन, आत्महत्याको विचार र आत्महत्याको दर पनि बढ्न थालेको देखिन्छ। अझ महत्त्वपूर्ण कुरा, जोखिम बढ्नुमा मोबाइलमा के हेरियो भन्नेभन्दा पनि त्यसमा कति समय बिताइयो भन्ने कारक बढी प्रभावकारी देखिएको छ।
मेङ र सहलेखकहरूले क्लिनिकल साइकोलोजी रिभ्यूमा सन् २०२२ मा प्रकाशित ६४ देशका २१ लाखभन्दा बढी सहभागी समेटिएका ५०४ वटा अध्ययनको मेटा–विश्लेषण गरेका छन्।
अध्ययनले विश्वव्यापी रूपमा करिब १४.२ प्रतिशत मानिसमा समस्याग्रस्त इन्टरनेट प्रयोग, २७ प्रतिशतमा स्मार्टफोनको लत, १७.४ प्रतिशतमा सामाजिक सञ्जालको लत र ६ प्रतिशतमा गेमिङको लत रहेको देखाएको छ।
त्यसैगरी, विश्व स्वास्थ्य संगठन युरोपको सन् २०२४ को प्रतिवेदन अनुसार ४४ देशका करिब २ लाख ८० हजार किशोरकिशोरीमध्ये ११ प्रतिशतमा सामाजिक सञ्जालको समस्याग्रस्त प्रयोग देखिएको छ, जुन सन् २०१८ को ७ प्रतिशतबाट उल्लेखनीय रूपमा बढेको हो।
विशेषगरी किशोरीहरूमा यो समस्या किशोरहरूको तुलनामा ४ प्रतिशतले बढी (१३ प्रतिशत र ९ प्रतिशत) रहेको तथा एकतिहाइभन्दा बढी किशोरकिशोरी निरन्तर साथीहरूसँग अनलाइन सम्पर्कमा रहने गरेको प्रतिवेदनले जनाएको छ।
साथै, १२ प्रतिशत किशोरकिशोरी समस्याग्रस्त डिजिटल गेमिङको जोखिममा रहेको र यो जोखिम किशोरहरूमा किशोरीहरूको तुलनामा ९ प्रतिशतले बढी (१६ प्रतिशत र ७ प्रतिशत) रहेको उल्लेख गरिएको छ।
'बिएमसी साइकोलोजी' मा सन् २०२३ मा प्रकाशित सान्तोस र सहलेखकहरूले ५० वटा अध्ययनको विश्लेषण गर्दै अत्यधिक स्क्रिन समय किशोरकिशोरीमा डिप्रेसन, चिन्ता तथा कमजोर मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको निष्कर्ष निकालेको छ।
अध्ययनले सामाजिक सञ्जालको अत्यधिक प्रयोग विशेषगरी किशोरीहरूमा डिप्रेसनको जोखिमसँग अझ बढी सम्बन्धित रहेको पनि देखाएको छ।
'बिएमसी पब्लिक हेल्थ' मा सन् २०२२ मा प्रकाशित दक्षिण कोरियाका करिब ५५ हजार माध्यमिक तहका विद्यार्थीमाथि गरिएको राष्ट्रिय अध्ययनले उच्च जोखिमयुक्त स्मार्टफोन प्रयोग गर्ने विद्यार्थीमा आत्महत्याको विचार आउने सम्भावना करिब २.५ गुणा र आत्महत्याको प्रयास गर्ने सम्भावना करिब दोब्बर रहेको देखाएको छ।
अध्ययनले अत्यधिक स्मार्टफोन प्रयोग किशोरकिशोरीको मानसिक स्वास्थ्यका लागि गम्भीर जोखिम कारक बन्न सक्ने चेतावनी दिएको छ।
यही कारणले विश्व स्वास्थ्य संगठनले पनि डिजिटल उपकरणको समस्याग्रस्त प्रयोगलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याएको छ। र, गेमिङ डिसअर्डरलाई आधिकारिक रूपमा रोगको रूपमा वर्गीकरण गरिसकेको छ।
यी सबै तथ्य र अनुसन्धानले एउटा गम्भीर प्रश्न उठाउँछ— हामी डिजिटल प्रविधिको उपयोग गरिरहेका छौं कि बिस्तारै त्यसकै नियन्त्रणमा पर्दै गइरहेका छौं?
आज डिजिटल एडिक्सन केवल सामाजिक सञ्जाल, अनलाइन गेम वा स्मार्टफोनको अत्यधिक प्रयोगमा मात्र सीमित छैन। कृत्रिम बुद्धिमत्ता (एआई) दैनिक जीवनको अभिन्न हिस्सा बन्दै जाँदा डिजिटल एडिक्सनले नयाँ आयाम लिन थालेको छ।
हालसम्म चिकित्सा विज्ञानले एआईलाई छुट्टै 'लत' वा 'रोग' का रूपमा वर्गीकरण गरेको त छैन। तर पछिल्ला अनुसन्धान र बहसहरूले एआईमाथिको अत्यधिक निर्भरतालाई डिजिटल एडिक्सनको उदीयमान स्वरूपका रूपमा हेर्न थालेका छन्।
आफ्ना विचारलाई सही ठहराउन एआईको सहारा लिनु, के खाने, के किन्ने, के लगाउने, कसरी पढ्ने वा कसरी निर्णय गर्ने भन्ने जस्ता दैनिक विषयमा एआईसँग नियमित सल्लाह लिनु, मानिससँगभन्दा एआई च्याटबोटसँग संवाद गर्न बढी रुचि राख्नु, दिनभरि एआईमा आवश्यकताभन्दा बढी समय बिताउनु, एउटै विषयमा पटक पटक एआईबाट आश्वासन खोज्नु, एआई उपलब्ध नभए असहज वा चिन्तित महसुस गर्नु, एआईको सहयोगबिना सामान्य इमेल, नोट वा लेखाइ गर्न पनि गाह्रो महसुस गर्नु, वा एआईले दिएको उत्तरलाई पर्याप्त जाँचबुझ नगरी सहजै स्वीकार गर्नुजस्ता व्यवहार अत्यधिक डिजिटल निर्भरता वा लतका संकेत हुन सक्छन्।
यसैगरी, अत्यधिक डिजिटल उपकरण र स्क्रिन प्रयोगका कारण घर, पढाइ वा कामको जिम्मेवारी बेवास्ता हुनु, परिवार र साथीभाइसँगको प्रत्यक्ष अन्तरक्रिया घट्दै जानु, अध्ययन, कार्यसम्पादन वा सिर्जनानात्मकता कमजोर हुनु, पहिले रूचि भएका गतिविधिप्रति चासो हराउँदै जानु, टाउको दुख्ने, आँखा पोल्ने, थकान महसुस हुनु तथा निद्राको बानी बिग्रिनुजस्ता शारीरिक, मानसिक र सामाजिक असर पनि देखिन सक्छन्।
तर यसको अर्थ प्रविधि खराब छ भन्ने होइन। समस्या प्रविधिमा होइन, त्यसको प्रयोगमाथिको नियन्त्रण गुमाउनुमा हो। चक्कुले तरकारी पनि काट्न सक्छ, चोट पनि पुर्याउन सक्छ। निर्णय चक्कुको होइन, प्रयोगकर्ताको हुन्छ।
डिजिटल प्रविधिको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ।
समस्या स्पष्ट छ। अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न समाधानतर्फ कसरी अघि बढ्ने भन्ने हो।
समाधान के हो?
सुखद पक्ष के हो भने डिजिटल एडिक्सन अपरिहार्य नियति होइन। सही ज्ञान, सचेत अभ्यास र सन्तुलित प्रयोगबाट यसको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ। त्यसका लागि प्रविधि त्याग्ने होइन, बरू विवेकपूर्ण, जिम्मेवार र सन्तुलित रूपमा प्रयोग गर्ने संस्कृतिको विकास गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।
यसका लागि हामी सबैले डिजिटल सिकाइ र प्रयोग सँगसँगै डिजिटल स्वास्थ्य (Wellbeing) लाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ। प्रविधि चलाउन जान्नु मात्र पर्याप्त हुँदैन, कहिले प्रयोग गर्ने, कति प्रयोग गर्ने र कहिले बन्द गर्ने भन्ने सीप पनि सिक्नुपर्छ।
यसको सुरूआत आफू र परिवारबाटै गर्न सकिन्छ। खाना खाने बेला मोबाइल प्रयोग नगर्ने, सुत्नुभन्दा कम्तीमा एक घन्टा अगाडि स्क्रिन बन्द गर्ने, बच्चासँग बस्दा आफूले पनि मोबाइल नचलाउने, घरमा प्रत्यक्ष संवादका लागि समय छुट्ट्याउने र परिवारसँग नियमित गुणस्तरीय समय बिताउने जस्ता सामान्य अभ्यासले ठूलो परिवर्तन ल्याउन सक्छ।
अहिले विश्वका धेरै देशमा 'डिजिटल होलिडे' वा 'डिजिटल डिटक्स' को अभ्यास बढ्दै गएको छ। यसको अर्थ निश्चित समयका लागि मोबाइल, सामाजिक सञ्जाल वा अन्य डिजिटल उपकरणको प्रयोगलाई सचेत रूपमा सीमित वा बन्द गरेर वास्तविक जीवनका गतिविधिमा ध्यान केन्द्रित गर्नु हो।
हाम्रो सन्दर्भमा यसलाई 'डिजिटल उपवास' भन्न सक्छौं। जसरी शरीर र मनलाई स्वस्थ राख्न कहिलेकाहीँ उपवास बसिन्छ, त्यसैगरी हप्तामा कम्तीमा आधा दिन वा एक दिन सामाजिक सञ्जाल र एआईसहितका डिजिटल उपकरणबाट सचेत रूपमा टाढा रहने डिजिटल उपवास अभ्यास पनि गर्न सकिन्छ।
त्यस्तो समय परिवारसँग बिताउने, पुस्तक पढ्ने, खेलकुद गर्ने, प्रकृतिमा हिँड्ने वा साथीभाइसँग प्रत्यक्ष भेटघाट गर्ने बानीले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
अध्ययनहरूले यस्ता सकारात्मक परिणामहरूको पुष्टि गरेका छन्।
सन् २०२४ मा प्रकाशित रामाधान र सहलेखकहरूले १० वटा अनुसन्धान नतिजाको एकीकृत विश्लेषण गर्दै 'डिजिटल डिटक्स' ले डिप्रेसनका लक्षण उल्लेखनीय रूपमा घटाउन सक्ने देखाएका छन्।
त्यसैगरी सेटिया र सहलेखकहरूले पनि 'क्युरियस' जर्नलमा सन् २०२५ मा प्रकाशित १४ वटा अध्ययनको विश्लेषण गरी 'डिजिटल डिटक्स' ले डिप्रेसनका लक्षण र समस्याग्रस्त इन्टरनेट प्रयोग कम गर्न सहयोग गर्न सक्ने उल्लेख गरेका छन्।
अध्ययनले विशेषगरी किशोरकिशोरी र युवा वर्गमा उमेर, मानसिक स्वास्थ्य अवस्था र डिजिटल उपकरण प्रयोगको प्रकृति अनुसार सन्तुलित तथा नियन्त्रित डिजिटल प्रयोग सबैभन्दा प्रभावकारी हुने निष्कर्ष निकालेको छ।
अब डिजिटल साक्षरता र डिजिटल स्वास्थ्य शिक्षा सँगसँगै जानुपर्छ।
विद्यालयले र घरपरिवारले पनि अब कम्प्युटर वा एआई प्रयोग मात्र सिकाउने होइन, डिजिटल साक्षरता, एआई साक्षरता, डिजिटल नैतिकता, आलोचनात्मक सोच, डाटा गोपनीयता, डिजिटल स्वास्थ्य र जिम्मेवार डिजिटल प्रयोग सम्बन्धी शिक्षा पनि दिनुपर्ने समय आएको छ।
विद्यार्थीलाई डिजिटल सीप र एआई प्रयोग गर्न सिकाउनु आवश्यक छ, तर यसमाथि पूर्ण रूपमा निर्भर हुन नहुने चेतना पनि उत्तिकै आवश्यक छ।
सरकार र सम्बन्धित निकायहरूले डिजिटल एडिक्सनलाई सार्वजनिक स्वास्थ्यको नयाँ चुनौतीका रूपमा हेर्दै विद्यालयमा डिजिटल स्वास्थ्य सम्बन्धी कार्यक्रम, अभिभावक सचेतना अभियान, मानसिक स्वास्थ्य सेवा तथा अनुसन्धानलाई प्राथमिकता दिन आवश्यक छ।
डिजिटल प्लेटफर्महरूलाई पनि प्रयोगकर्ताको ध्यान लामो समयसम्म बाँधेर राख्ने डिजाइनभन्दा स्वस्थ र जिम्मेवार प्रयोगलाई प्रोत्साहन गर्ने दिशामा उत्तरदायी बनाउनुपर्ने आवश्यकता छ।
अन्त्यमा, एउटा कुरा हामीले कहिल्यै बिर्सिनु हुँदैन— प्रविधि मानव विकासका लागि बनेको हो; मानिस प्रविधिका लागि बनेको होइन। यदि हामीले समयमै डिजिटल जीवन र वास्तविक जीवनबीच सन्तुलन कायम गर्न सकेनौं भने डिजिटल प्रविधिले हाम्रो समय, ध्यान, बानी, सम्बन्ध, सोच र निर्णय प्रक्रियामाथि बढ्दो प्रभाव पार्नेछ।
त्यसैले आजको सबभन्दा ठूलो चुनौती नयाँ एआई बनाउनु होइन; डिजिटल युगमा पनि स्वतन्त्र रूपमा सोच्न, विवेकपूर्ण निर्णय गर्न र मानवीय सम्बन्धलाई जीवन्त राख्न सक्ने समाज निर्माण गर्नु हो।
डिजिटल युगमा सबैभन्दा बुद्धिमान मानिस धेरै प्रविधि प्रयोग गर्ने होइन, आवश्यक पर्दा प्रविधि प्रयोग गर्ने र आवश्यक पर्दा त्यसलाई बन्द गर्न सक्ने मानिस नै हो।
सायद अब हाम्रो परिवार, विद्यालय र समाजमा डिजिटल हाइजिन, डिजिटल वेलबिइङ र डिजिटल उपवासको संस्कृतिलाई जीवनशैलीकै हिस्सा बनाउने समय आइसकेको छ।
अन्ततः प्रश्न प्रविधिको होइन; प्रश्न हाम्रो चेतना, विवेक र नियन्त्रणको हो। हामीले प्रविधिलाई चलाउने कि प्रविधिले हामीलाई चलाउने—अबको निर्णय हाम्रो आफ्नै हातमा छ।
(लेखक पेशल खनाल त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका प्राध्यापक र नेपाल शिक्षाशास्त्री समाजका अध्यक्ष हुन्)