नेपाली साहित्यमा इतिहासप्रतिको आकर्षण बढिरहेको छ। लेखकहरू अतीततर्फ फर्किरहेका छन्। पुराना सभ्यता, संस्कृति र मिथकहरूको उत्खनन् भइरहेको छ।
लेखकहरू आफ्ना कृतिमार्फत इतिहासमा ओझेल परेका पात्रहरूलाई पुनः जीवित र स्थापित गर्ने प्रयास गरिरहेका छन्।
गत वर्ष मात्र फाइन प्रिन्टबाट आएका आख्यानहरूमा केशव दाहालको 'इथा', निलम कार्की निहारिकाको 'राजमाता', केशव ज्ञवालीको 'अज्ञात' र नेपालयबाट प्रकाशित श्रवण मुकारूङको उपन्यास 'सलह' त्यसका पछिल्ला केही उत्कृष्ट उदाहरण हुन्।
त्यस्तै गैर–आख्यानको क्षेत्रमा पनि ऐतिहासिक सामग्रीको सघन उपस्थिति हुने क्रम जारी छ। जसको पछिल्लो उदाहरण 'मुकाम रणमैदान', 'इतिहासमाथिको इतिहास', 'सन्धिकाल' आदि हुन्।
यद्यपि, इतिहासलाई केवल घटनाहरूको पुनर्कथन वा अतीतको रोमाञ्चकतामा सीमित नराखी त्यसभित्र दर्शन, सांस्कृतिक संवाद र सीमान्त अस्तित्वका प्रश्नहरूलाई एकैसाथ जोड्ने र कलात्मक ढंगले समेट्ने प्रयत्न भने न्यून भेटिन्छ।
केशव दाहालको नवीनतम उपन्यास इथा भने यस्तै दुर्लभ प्रयत्नका कारण समकालीन नेपाली आख्यानमा पृथक पहिचान बनाउने कृति बनेको छ।
यहाँ, इथालाई केवल ऐतिहासिक उपन्यास भन्नु यसको आयाम साँघुरो बनाउनु हुनेछ।
स्वयं लेखकले पनि भनेका छन्, 'यो ऐतिहासिक उपन्यास होइन। बरू यो इतिहास र कथाको संयोजन हो। र, हो हाम्रो सभ्यताको बयानवाजी।'
जब मैले इथा पढ्न सुरू गरेँ, मलाई लाग्यो — यो इतिहास मात्र होइन, न त कथा नै हो। बरू यो हाम्रो सभ्यता माथिको दार्शनिक विमर्श हो, नारी चेतनाको घोषणापत्र हो र हो समयको आत्मसंवाद।
त्यसैले नै, इथाले विजेताहरूको मात्र कथा भन्दैन। बरू, इतिहासभित्र दबिएका र दबाइएका आवाजहरूको खोजी गर्छ। विशेषतः यसले महिलाहरूको जीवन, उनीहरूको मौन प्रतिरोध, उनीहरूको अस्तित्वको खोज र आत्मसम्मानको प्रश्नलाई केन्द्रमा राखेर एउटा वैकल्पिक दृष्टि निर्माणगर्ने प्रयत्न गर्छ।
केशव दाहालको लेखनयात्रालाई नजिकबाट नियाल्ने पाठकका लागि इथा कुनै आकस्मिक उपलब्धि होइन। पहिलो उपन्यास 'मोक्षभूमि' मै उनले इतिहास, दर्शन, धर्म, अध्यात्म र मानवीय प्रश्नलाई एउटै आख्यानिक वृत्तमा बाँध्ने प्रयत्न गरेका थिए। जहाँ उनले धार्मिक परम्पराहरूलाई प्रतिस्पर्धी सत्यका रूपमा होइन, साझा मानवीय चेतनाका अनेक अभिव्यक्तिका रूपमा स्थापित गर्न खोजेका थिए।
दोश्रो उपन्यास इथामा आइपुग्दा उनको त्यो शैली अझ परिपक्व, अझ व्यापक र अझ प्रभावशाली बनेको पाइन्छ।
मोक्षभूमि हुँदै इथासम्म आइपुग्दा उनी एउटा धर्म, एउटा परम्परा वा एउटा सभ्यताभित्र सीमित रहँदैनन्। बुद्ध, महावीर, वैदिक ऋषि, किराँत मुन्धुम र पूर्वीय दर्शनका अनेक धाराहरूलाई एउटै आख्यानिक आकाशमुनि उभ्याएर संवाद गराउँछन्। त्यही संवादधर्मिता नै उनको लेखनको विशिष्ट पहिचान हो। र, इथा त्यसको एक अनुपम उदाहरण हो।
दाहालको लेखनमा अर्को रोचक निरन्तरता पनि देखिन्छ। उनी इतिहासलाई अतीतको संग्रहालयमा थन्क्याएर राख्न चाहँदैनन्। किनभने, इतिहास उनका लागि वर्तमानसँग प्रश्न गर्ने एउटा सशक्त माध्यम हो।
त्यसैले उनका पात्रहरू इतिहासका थोत्रा पात्रहरुू मात्र हुँदैनन्। उनीहरू फगत इतिहासको बयान मात्र गर्दैनन्। उनीहरू आजका पाठकसँग पनि गहिरो संवाद गरिरहेका हुन्छन्।
त्यो संवादका लागि मोक्षभूमिमा उनले ज्ञान, मुक्ति र आध्यात्मिक यात्रालाई केन्द्रमा राखेका थिए भने इथामा त्यही चिन्तनधारालाई नारी अस्तित्व, स्वाधीनता र सभ्यताको विकाससँग जोड्ने प्रयत्न गरेका छन्।
यस अर्थमा इथालाई मोक्षभूमिपछि दाहालमा विकसित भएको वैचारिक यात्राको विस्तार भन्न सकिन्छ।
इथाको कथा वर्तमानबाट अतीततर्फ जान्छ।
कथा सुरू हुन्छ, एक निवृत्त कुमारी वसुधाबाट। प्रेममा अस्वीकृत भएकी, अंगदोषका कारण अपमानित र जीवनप्रति निराश बनेकी कुमारी वसुधा आत्मविनाशको बाटोमा उभिएकी हुन्छिन्।
प्रेमीले धोका दिएपछि उनी कठोर निर्णयमा पुग्छिन्। आत्मदाहको निर्णय।
जब मर्ने निश्चित हुन्छ, वसुधा जीवन र मृत्युको चिन्तन गर्न थाल्छिन्। त्यही क्रममा उनको सम्झनामा आफ्नै अतीत सजीव भएर आउँछ। त्यति नै बेला, अकस्मात उनी मनको एउटा मायावी यात्रामा प्रवेश गर्छिन्।
त्यो यात्रा नै कथाको मुख्य यात्रा हो। जो समयको मात्र यात्रा हुँदैन, हुन्छ चेतनाको पनि नवीन यात्रा।
त्यही यात्रामा वसुधासँग साक्षात्कार हुन आइपुग्छन् इतिहास, कथा र किम्बदन्तीका अनेक पात्रहरू।
त्यही कल्पनाको यात्रामा वसुधाले नयनतारा, सैरिन्द्री, धान्यावती लगायत अनेक पात्रहरूको जीवन देख्छिन्। राजा, महाराजा र सेनापती देख्छिन्। दरबार देख्छिन्। युद्ध, धोका र प्रेम देख्छिन्। राज्य र राजकाज देख्छिन्। जीवन देख्छिन् र त्यसको प्रवाह देख्छिन्।
त्यही यात्रामा वसुधाले वैशाली, मगध, लगायत भारतवर्षका अनेक जनपद, महाजनपद देख्छिन्। र, देख्छिन्, नयनतारा, सैरिन्द्री, धान्यावतीले गरेका संघर्ष, भोगेका अपमान, विद्रोह, प्रेम र साहसहरू।
अन्ततः त्यो सबैको प्रेरणाले उनी मृत्युबाट जीवनतर्फ फर्किन्छिन्।
यस अर्थमा इथा निराशाबाट आशातर्फको कथा हो। अँध्यारो बाट उज्यालोतिरको यात्रा हो। जसले भन्छ— मानिसको जीवनमा पीडा हुन्छ, अन्याय हुन्छ, अपमान हुन्छ; तर ती सबैभन्दा ठूलो कुरा जीवन स्वयं हो।
यही जीवनवादी चेतनाले इथालाई केवल ऐतिहासिक आख्यानमा सीमित हुन दिँदैन। बरू यसलाई बनाउँछ, आजका लागि समेत जीवन बोध गर्ने एक दस्तावेज।
उपन्यासको सबैभन्दा सशक्त पक्ष यसको नारी दृष्टि हो। यहाँ नारीवादी दृष्टिकोण नभनी नारीदृष्टि भन्नु उपयुक्त हुन्छ। अधिकांश ऐतिहासिक आख्यानहरू राजा, सम्राट र साम्राज्यको कथामा सीमित छन्। इथामा महिलाहरू नै कथाको केन्द्रमा छन्। जो कथालाई मात्र हाँक्दैनन्, कथासँगै युग हाँक्छन्।
यहाँ कुमारी वसुधा, नयनतारा, सैरिन्द्री र धान्यावती केवल पात्रका रूपमा उपस्थित छैनन्। उनीहरू उपस्थित छन् फरक फरक चरित्रका नारी चेतनाका प्रतीक बनेर।
उपन्यासकी मूलपात्र नयनतारा उपन्यासको चरितनायक (प्रोटगनिस्ट) हुन्। उनी सबभन्दा जीवन्त पात्र हुन्। उनी राजदरबारको वैभवभन्दा व्यक्तिगत स्वाभिमानलाई ठूलो ठान्छिन्। त्यसै कारण उनी दरबार त्याग गर्छिन्। पद, प्रतिष्ठा र धनदौलत त्याग गर्छिन्। र, स्वतन्त्रताको यात्रा रोज्छिन्।
आफूले छनौट गरेको बाटोमा हिँड्दा उनले सत्ता, परिवार, प्रेम र आत्मसम्मानबीच अनेक संघर्षहरू गर्नुपर्छ। र. त्यही संघर्षले उनलाई उपन्यासमा सर्वाधिक शक्तिशाली पात्र बनाएको छ।
पुरूषप्रधान समाजमा पटक पटक अपमानित हुँदा पनि उनी पराजित हुँदिनन्। र, त्यही अपराजित लडाइँकै कारण कथामा उनी नारी स्वतन्त्रता र अस्तित्वकी प्रतीकझैं अटल उभिएकी छन्।
अर्की पात्र सैरिन्द्री उपन्यासको वैचारिक उचाइ हुन्। कथामा उनी गणिका हुन्छिन्। तर उनको चरित्रले कथालाई अगाडि मात्र बढाउँदैन, त्यसलाई वौचारिक उचाइ पनि प्रदान गर्छ।
अरू दुई पात्रहरू, वसुधा र धान्यवती भने उपन्यासमा निराशाबाट जीवनतर्फ फर्किने चेतनाको प्रतिनिधि पात्र बनेर उपस्थित छन्। जसले पाठकहरूलाई मनको कोमलता र कठोरताको एकै पटक दर्शन गराउँछन्।
यी पात्रमार्फत लेखकले महिलालाई करूणाको विषय बनाएका छैनन्। उनीहरूलाई विचार गर्ने, निर्णय गर्ने, प्रतिरोध गर्ने र इतिहास निर्माण गर्ने पात्रका रूपमा उभ्याएका छन्। यही कारण इथा नारीमुक्तिको सामान्य कथाभन्दा धेरै माथि उठेर नारी अस्तित्वको गहिरो साहित्यिक अभिव्यक्ति बन्न पुगेको छ।
उपन्यासको अर्को महत्वपूर्ण पक्ष यसको दार्शनिक संरचना हो। विशेष गरी च्यासल दरबारमा आयोजना गरिएको महायज्ञको प्रसंग नेपाली आख्यान परम्परामा दुर्लभ साहित्यिक प्रयोगको रूपमा देखिन्छ।
यज्ञमा बुद्ध, महावीर, गार्गी, अष्टावक्र, सुकदेव, पोरोक्मी याम्फामी र पूर्वीय दर्शनका अन्य प्रतिनिधिहरूलाई एउटै आख्यानिक धरातलमा उपस्थित गराउनु ऐतिहासिक यथार्थ होइन; यो साहित्यिक स्वैरकल्पना हो।
तर यही स्वैरकल्पनाले उपन्यासलाई विशेष बनाएको छ।
त्यहाँ लेखकले कुनै एउटा दर्शनलाई श्रेष्ठ सावित गर्ने प्रयास गरेका छैनन्। बरू विभिन्न ज्ञान परम्पराहरूबीच संवाद गराउने तथा सबैको अस्तित्व र महत्वलाई अर्थ दिने प्रयत्न गरेका छन्। वेद, विनय पिटक, सूत्त पिटक, अभिधर्म पिटक, मुन्धुम र आगम सूत्र— यी सबै ज्ञानधाराहरूलाई एउटै वैचारिक मञ्चमा ल्याउनु लेखकले गरेको एक साहसी साहित्यिक प्रयोग हो।
आजको विभाजित संसारमा, जहाँ धर्म र विचारहरू अक्सर टकरावमा हुन्छन्, इथाले ज्ञानका अनेक धाराहरूबीच सहअस्तित्व र संवादको सम्भावना देखाउँछ। जो यसको सर्वाधिक सुन्दर र सशक्त पक्ष हो।
सैरिन्द्रीको, 'सबै धर्मको सार एउटै हो, सबै ज्ञानको सार एउटै हो र संसारको श्रेष्ठ धर्म हो मानव धर्म' भन्ने उद्घोषले उपन्यासको केन्द्रीय वैचारिकी निर्माण गर्छ जो निकै सरल तर महत्वपूर्ण छ।
केशव दाहालको भाषा यो उपन्यासको अर्को उल्लेखनीय पक्ष हो। उनको लेखनमा सरलता छ। वाक्यहरू छोटा र लयबद्ध छन्। अनावश्यक अलंकारमा उनी रमाउँदैनन्। तर आवश्यक ठाउँमा भाषा काव्यात्मक पनि बनाउँछन्।
उपन्यास सुललित, सुसंगठित ढंगले नदीझैं सलल बगेको छ। उनको भाषामा, संस्कृतनिष्ठ शब्दावली, प्राचीन परिवेश र पात्रहरूको भाषिक स्वभावबीच राम्रो सन्तुलन देखिन्छ।
उपन्यास पढ्दा लाग्छ, उनी कथा लेखिरहेका छैनन्। आफ्नो आख्यानिक संसारका लागि छुट्टै भाषिक संरचना पनि निर्माण गरिरहेका छन्।
यद्यपि, यो कृति आलोचनाबाट मुक्त छैन। इतिहासप्रति अत्यधिक चासो राख्ने तथा शुद्धताको अपेक्षा राख्ने पाठकहरूले कतिपय प्रसंगमा तथ्यगत प्रश्न उठाउन सक्छन्।
तर लेखक स्वयंले भनेका छन्, 'यो आख्यान हो र कथानकता यसको विशिष्टता हो।'
त्यसैगरी, कतिपय ठाउँमा दर्शनको घनत्वका कारण कथाको गति केही सुस्त भएको अनुभूति हुन्छ। तर यी कमजोरीहरू उपन्यासको महत्वाकांक्षी संरचनाका स्वाभाविक परिणाम मान्न सकिन्छ।
केशव दाहालले नेपाली आख्यानमा बिस्तारै एउटा छुट्टै लेखकीय शैली पछ्याइरहेका छन्। यस्तो शैली, जहाँ इतिहास कल्पनासँग संमिलन गर्छ, दर्शन कथामा रूपान्तरित हुन्छ र साहित्य केवल मनोरञ्जनको माध्यम नभई सभ्यतासँग संवाद गर्ने शक्तिशाली साधन बन्छ।
मोक्षभूमिबाट देखिन थालेको उनको यो लेखकीय प्रवृत्ति इथामा आएर अझ गहिरो, अझ व्यापक र अझ कलात्मक बनेको छ।
त्यसैले इथालाई केवल एउटा उपन्यास मात्र नभई, आख्यानमा स्थापित एउटा लेखन परम्पराको निरन्तरता मान्न सकिन्छ। जसलाई भारतमा प्रख्यात साहित्यकार आचार्य चतुर्सेनले, वैशालीकी नगरवधुमा, राहुल साकृत्यायानले सिहं सेनापतिमा र नेपाली साहित्यका शिखर व्यक्तित्व मदनमणि दीक्षितले 'माधवी' मा स्थापित गरेका छन्।
सायद यही कारण इथा पढिसकेपछि पनि उपन्यास सकिँदैन। बरू पाठकभित्र नयाँ संवाद सुरू हुन्छ।
र, सँगै जागृत हुन्छन्, इतिहासको अर्थ के हो, मुक्तिको अर्थ के हो, मानिस हुनुको अर्थ के हो जस्ता जीवन्त प्रश्नहरू।
अन्त्यमा, इथाले जुन प्रश्नहरू उठाएको छ, ती इतिहासका मात्र प्रश्नहरू होइनन्। ती हाम्रो युगका पनि सर्वाधिक महत्वपूर्ण प्रश्न हुन्, जसले सधैं मानव सभ्यतालाई अझ समुन्नत, सुन्दर र सुसंस्कृत बनाउन आह्वान गरिरहन्छन्।