नेपालका सार्वजनिक उच्च शिक्षाका गौरवशाली संस्थाका रूपमा स्थापित आंगिक क्याम्पसहरू आज एउटा गम्भीर प्रश्नसँग जुधिरहेका छन्— विद्यार्थी किन घटिरहेका छन्?
कुनै बेला भर्नाका लागि प्रतिस्पर्धा हुने यी क्याम्पसहरूमा अहिले कक्षा सञ्चालन गर्नसमेत विद्यार्थी पुग्दैनन्।
यो अवस्था केवल जनसांख्यिक परिवर्तनको परिणाम मात्र होइन; यसले उच्च शिक्षाको नीति, व्यवस्थापन, गुणस्तर र सामाजिक विश्वासमाथि उठेका प्रश्नहरूको प्रतिबिम्ब पनि हो।
सबैभन्दा पहिले, विद्यार्थीको रोजाइ बदलिएको छ। आजको विद्यार्थी केवल प्रमाणपत्र खोज्दैन; उसले रोजगारी, सीप, प्रविधि, अन्तर्राष्ट्रिय अवसर र लचिलो सिकाइ वातावरण खोज्छ। तर धेरै आंगिक क्याम्पसहरू अझै पनि दशकौंअघिको संरचना, शिक्षण शैली र प्रशासनिक प्रक्रियामै सीमित देखिन्छन्। जब बजार परिवर्तन हुन्छ तर संस्था परिवर्तन हुँदैन, त्यसको मूल्य विद्यार्थी संख्याले तिर्नुपर्छ।
दोस्रो, पाठ्यक्रम र श्रम बजारबीचको दुरी बढ्दै गएको छ। धेरै कार्यक्रमहरू अझै पनि परीक्षामुखी छन्; अनुसन्धान, नवप्रवर्तन, उद्यमशीलता र डिजिटल दक्षताभन्दा पाठ्यपुस्तकको पुनरूत्पादनमा जोड दिइन्छ। विद्यार्थीले भविष्य देख्न नसकेको ठाउँमा वर्तमान पनि टिक्दैन।
तेस्रो, निजी क्याम्पसहरूले विद्यार्थीको मनोविज्ञान बुझेर आफूलाई परिवर्तन गरे। नियमित कक्षा, अभिभावकसँगको सम्पर्क, अंग्रेजी माध्यम, सूचना प्रविधिको प्रयोग, करियर परामर्श, इन्टर्नसिप, अतिरिक्त क्रियाकलाप र प्रचार–प्रसारमा उनीहरू सक्रिय देखिए। यसको विपरीत कतिपय आंगिक क्याम्पसहरू आफ्नै ऐतिहासिक प्रतिष्ठाको भरोसामा बसिरहे। प्रतिष्ठा इतिहासले दिन्छ, तर विद्यार्थी वर्तमानले तान्छ।
चौथो, राजनीतिक संस्कृतिले पनि उच्च शिक्षामा प्रभाव पारेको छ। नेतृत्व चयनदेखि शैक्षिक निर्णयसम्ममा राजनीतिक प्रभाव हाबी हुँदा शैक्षिक उत्कृष्टताभन्दा शक्ति सन्तुलन प्राथमिकतामा परेको अनुभूति धेरैले गरेका छन्। यस्तो वातावरणले विद्यार्थीलाई आकर्षित गर्नु कठिन हुन्छ।
पाँचौं, प्रविधिको युगमा पनि कतिपय क्याम्पसको डिजिटल रूपान्तरण निकै सुस्त छ। अनलाइन सेवा, डिजिटल पुस्तकालय, स्मार्ट कक्षा, अनुसन्धान डेटाबेस, सिकाइ व्यवस्थापन प्रणालीजस्ता आधारभूत सुविधाको अभावले विद्यार्थीलाई आधुनिक शैक्षिक अनुभव दिन सकेको छैन।
अर्को महत्त्वपूर्ण पक्ष आत्मसमीक्षाको अभाव हो। विद्यार्थी घटेपछि दोष कहिले जनसंख्यालाई दिइन्छ, कहिले विदेश पलायनलाई, कहिले निजी क्याम्पसलाई। यी कारणहरू वास्तविक भए पनि पर्याप्त होइनन्।
प्रश्न यो पनि हो— आफ्नो संस्थाले विद्यार्थीलाई के नयाँ दिन सक्यो?
परिवर्तनको जिम्मेवारी सधैं बाहिर खोज्ने प्रवृत्तिले सुधारको ढोका बन्द गर्छ।
यससँगै, शिक्षक, कर्मचारी र प्रशासनबीच साझा शैक्षिक दृष्टिकोण कमजोर हुनु पनि चुनौती हो। जहाँ अनुसन्धानभन्दा हाजिरी, नवप्रवर्तनभन्दा औपचारिकता, विद्यार्थी सेवाभन्दा प्रक्रियागत जटिलता हाबी हुन्छ, त्यहाँ संस्थाको आकर्षण क्रमशः घट्दै जान्छ।
यद्यपि समाधान असम्भव छैन। आंगिक क्याम्पसहरूले आफ्नो ऐतिहासिक विश्वसनीयतालाई आधुनिक आवश्यकतासँग जोड्नुपर्छ। बजारसँग संवाद गर्ने पाठ्यक्रम, प्रविधिमैत्री शिक्षण, अनुसन्धानमुखी वातावरण, उद्योग–विश्वविद्यालय सहकार्य, विद्यार्थीमैत्री प्रशासन, गुणस्तरीय परामर्श सेवा र उत्तरदायी नेतृत्व विकास गर्न सके विद्यार्थीको विश्वास पुनः प्राप्त गर्न सकिन्छ।
अन्ततः, विद्यार्थी घट्नु केवल संख्यात्मक समस्या होइन; यो संस्थाप्रतिको विश्वास घटेको संकेत पनि हो। भवनहरू पुराना भएर होइन, सोच पुरानो भएर क्याम्पसहरू खाली हुन थालेका हुन्।
समयको माग अनुसार आफूलाई रूपान्तरण गर्न सकिएन भने आंगिक क्याम्पसहरू इतिहासका गौरवशाली स्मारक त रहनेछन्, तर भविष्यका जीवन्त शैक्षिक केन्द्र बन्न सक्ने छैनन्। विद्यार्थीको खोजीमा भौंतारिनुभन्दा पहिले विद्यार्थीले खोज्ने क्याम्पस बन्ने साहस आजको सबभन्दा ठूलो आवश्यकता हो।
विद्यार्थी घट्नु केवल विद्यार्थीको दोष होइन। विद्यार्थीलाई प्रायः 'आजका विद्यार्थी पढ्न चाहँदैनन्', 'विदेश जाने मोह बढ्यो', 'सजिलो बाटो खोज्छन्' भन्ने आरोप लगाइन्छ।
तर एउटा गम्भीर प्रश्न सोध्नुपर्ने हुन्छ— यदि समस्या केवल विद्यार्थीमै हो भने निजी क्याम्पसमा विद्यार्थी किन बढिरहेका छन्? यदि विदेशप्रेम नै एक मात्र कारण हो भने केही विषय र केही संस्थामा अझै पनि हजारौं विद्यार्थी किन आकर्षित भइरहेका छन्?
त्यसैले विद्यार्थीको निर्णयलाई दोष दिनुभन्दा पहिले संस्थाको आकर्षण र विश्वसनीयताको समीक्षा आवश्यक छ।
आजको विद्यार्थी उपभोक्ता पनि हो। उसले आफ्नो समय, श्रम र आर्थिक लगानीको प्रतिफल खोज्छ। जहाँ शिक्षण नियमित छ, शिक्षक उपलब्ध छन्, प्रविधिको प्रयोग हुन्छ, प्रशासन छिटोछरितो छ र भविष्यका अवसर देखिन्छन्, त्यतै विद्यार्थी आकर्षित हुन्छ। यो स्वाभाविक सामाजिक र आर्थिक व्यवहार हो।
आंगिक क्याम्पसहरूमा अनुसन्धान संस्कृति कमजोर हुँदै जानु, प्रयोगात्मक सिकाइ सीमित हुनु, अन्तरविषयगत सहकार्यको अभाव हुनु र उद्योग तथा समुदायसँगको सम्बन्ध न्यून हुनु पनि विद्यार्थी घट्नुको एउटा संरचनात्मक कारण हो।
विश्वविद्यालय केवल परीक्षा सञ्चालन गर्ने संस्था होइन; ज्ञान उत्पादन गर्ने केन्द्र पनि हो। ज्ञान उत्पादन कमजोर भएपछि आकर्षण पनि कमजोर बन्छ।
संस्था भवनले होइन, नेतृत्वले चलाउँछ। विद्यार्थी संख्या घट्दा त्यसलाई केवल बाह्य कारण देखाएर टार्नु नेतृत्वको सफलता होइन। वास्तविक नेतृत्वले तथ्यांक विश्लेषण गर्छ, विद्यार्थीको अपेक्षा बुझ्छ, पूर्वविद्यार्थीसँग संवाद गर्छ, नयाँ कार्यक्रम विकास गर्छ र संस्थालाई समयानुकूल रूपान्तरण गर्छ।
प्रश्न विद्यार्थी किन गए भन्ने मात्र होइन; गएका विद्यार्थी किन फर्केनन् र आउने विद्यार्थी किन आएनन्?
यसको उत्तर खोज्ने साहस नै संस्थागत नेतृत्वको परिपक्वता हो।
सुधारका लागि अब शिक्षकको भूमिका पनि पुनः परिभाषित हुनुपर्छ। शिक्षक ज्ञानको एक मात्र स्रोत रहने युग समाप्त भइसकेको छ। कृत्रिम बुद्धिमत्ता, डिजिटल पुस्तकालय, खुला पाठ्यसामग्री र अनलाइन सिकाइका कारण विद्यार्थीसँग सूचना अभाव छैन; अभाव छ त त्यस सूचनालाई ज्ञानमा रूपान्तरण गर्ने मार्गदर्शनको।
यसैले आज शिक्षकको भूमिका व्याख्यान दिनेभन्दा बढी सिकाइ सहजीकरण गर्ने, अनुसन्धानमा प्रेरित गर्ने, नवीन प्रविधिको प्रयोग गराउने र विद्यार्थीलाई जीवनोपयोगी दक्षता विकास गराउने हुनुपर्छ।
शिक्षक परिवर्तन नहुँदा विद्यार्थी परिवर्तनलाई रोक्न सकिँदैन।
आज विश्वविद्यालयले समाजलाई मूल्यांकन गर्नेभन्दा पहिले आफ्नै आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ। कति विद्यार्थी सन्तुष्ट छन्? कति रोजगारीमा पुगे? कति अनुसन्धान प्रकाशित भए? कति नवप्रवर्तन भए? कति पूर्वविद्यार्थीले आफ्नो संस्थाप्रति गर्व गर्छन्?
यस्ता प्रश्नको उत्तरबाट नै संस्थाको वास्तविक अवस्था देखिन्छ।
यदि प्रत्येक वर्ष विद्यार्थी घटिरहँदा पनि प्रतिवेदनमा सबै कुरा 'सन्तोषजनक' देखाइन्छ भने समस्या विद्यार्थीमा होइन, संस्थाको आत्ममूल्यांकन प्रणालीमै छ।
आंगिक क्याम्पसमा विद्यार्थी घट्नुको कथा केवल क्याम्पसभित्रको कथा होइन; यो पूर्वी पहाडको बदलिँदो सामाजिक, आर्थिक र जनसांख्यिक संरचनाको पनि कथा हो।
धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङदेखि इलामसम्मका पहाडी जिल्लाहरूमा गाउँहरू क्रमशः रित्तिँदै गएका छन्। विद्यालयमा विद्यार्थी घटेका छन्, कतिपय विद्यालय एकापसमा गाभिएका छन्, र यही प्रवृत्तिको प्रत्यक्ष प्रभाव उच्च शिक्षामा पनि परेको छ।
विद्यालयमा नै विद्यार्थी कम हुँदा क्याम्पसले विद्यार्थी कहाँबाट ल्याउने?
तर यो यथार्थको एउटा मात्र पाटो हो।
जनसंख्या घट्नु एउटा कारण भए पनि सबै कारण होइन। किनभने यही पूर्वी पहाडबाट निस्किएका विद्यार्थी विराटनगर, इटहरी, धरान, काठमाडौं वा विदेशका विश्वविद्यालयमा पुगेका छन्।
यसले देखाउँछ— विद्यार्थी हराएका होइनन्; उनीहरूले आफ्नो गन्तव्य परिवर्तन गरेका हुन्।
यसको अर्थ पूर्वी पहाडका आंगिक क्याम्पसहरूले केवल भौगोलिक अवस्थालाई दोष दिएर पुग्दैन। विद्यार्थीलाई आफ्नै क्षेत्रमा रोकिने वातावरण सिर्जना गर्न सकिएको छैन।
आधुनिक प्रयोगशाला, डिजिटल सिकाइ, अनुसन्धान संस्कृति, रोजगारमुखी कार्यक्रम, अन्तर्राष्ट्रिय सहकार्य र समयानुकूल विषयको अभावले विद्यार्थीलाई 'यहाँ बसेर भविष्य देखिँदैन' भन्ने मनोविज्ञान निर्माण गरेको छ।
पूर्वी पहाडका धेरै परिवारको आर्थिक र सामाजिक संरचना पनि परिवर्तन भएको छ। वैदेशिक रोजगारी, बसाइँसराइ र सहरीकरणले अभिभावकको सोच बदलिएको छ।
अहिले धेरै अभिभावकको चाहना छ— छोराछोरीलाई पहाडको सानो क्याम्पसभन्दा अवसर बढी भएको सहर वा विदेश पठाउने। जब स्थानीय क्याम्पसले त्यो विश्वास जित्न सक्दैन, विद्यार्थीको रोजाइ पनि स्वाभाविक रूपमा बाहिरतिर मोडिन्छ।
यस अवस्थामा पूर्वी पहाडका आंगिक क्याम्पसहरूले आफूलाई नयाँ ढंगले पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता छ। यहाँका क्याम्पसहरूले हिमाली तथा पहाडी अध्ययन, जैविक विविधता, स्थानीय भाषा–साहित्य, किराँत सभ्यता, कृषि, पर्यटन, वातावरण, जलवायु परिवर्तन, जडीबुटी, स्थानीय शासन र पहाडी विकासजस्ता विषयलाई आफ्नो शैक्षिक विशेषता बनाउन सक्छन्।
सबै क्याम्पसले सबै कुरा पढाउन खोज्नुको सट्टा, आफ्नै भूगोल र समाजसँग जोडिएको विशिष्ट शैक्षिक पहिचान निर्माण गर्न सके मात्र पूर्वी पहाडका क्याम्पसहरू पुनः आकर्षणको केन्द्र बन्न सक्छन्। आज पूर्वी पहाडका क्याम्पसहरूको सबैभन्दा ठूलो चुनौती विद्यार्थीको अभाव मात्र होइन; आशाको अभाव हो।
विद्यार्थीले जहाँ भविष्य देख्छ, त्यहीँ जान्छ।
त्यसैले अब प्रश्न 'विद्यार्थी किन गए' भन्नेभन्दा पनि 'उनीहरू फर्किने आधार हामीले के बनायौं' भन्ने हुनुपर्छ।
यही प्रश्नको इमानदार उत्तर खोज्न सके मात्र सार्वजनिक उच्च शिक्षाले पूर्वी पहाडमा आफ्नो हराउँदै गएको सान पुनः प्राप्त गर्न सक्छ।
धनकुटा बहुमुखी क्याम्पस– साख जोगाउने कठिन यात्राको एउटा पाठ
पूर्वी नेपालमा उच्च शिक्षाको इतिहास लेख्दा धनकुटा बहुमुखी क्याम्पसलाई बेवास्ता गर्न सकिँदैन। कुनै समय पूर्वी पहाडका हजारौं विद्यार्थीको पहिलो रोजाइ बनेको यो क्याम्पस आज भने आफ्नै विगतसँग तुलना गर्न बाध्य देखिन्छ।
प्रश्न उठ्छ— यस्तो अवस्था किन आयो?
यस प्रश्नको उत्तर केवल विद्यार्थी घटे भन्ने तथ्यमा सीमित छैन। यसभित्र नेतृत्वको दृष्टि, संस्थागत योजना, शैक्षिक प्राथमिकता र परिवर्तनलाई आत्मसात गर्ने क्षमताको पनि परीक्षा लुकेको छ। संस्था कमजोर तब मात्र हुँदैन जब विद्यार्थी घट्छन्; संस्था तब कमजोर हुन्छ जब नेतृत्वले विद्यार्थी घट्नुको कारण खोज्न छोड्छ।
विगतको गौरवलाई वर्तमानको उपलब्धि ठान्ने प्रवृत्तिले धेरै संस्थालाई जड बनाएको छ। धनकुटा बहुमुखी क्याम्पस पनि यस्तै चुनौतीबाट अछुतो छैन भन्ने प्रश्न उठ्न थालेको छ।
अदुरदर्शी नेतृत्वको पहिलो चिह्न भनेको परिवर्तनको संकेत समयमै नपढ्नु हो। पूर्वी पहाडबाट बसाइँसराइ बढिरहेको थियो, निजी क्याम्पसको विस्तार भइरहेको थियो, प्रविधिमा आधारित शिक्षाको माग बढिरहेको थियो, विद्यार्थीको रोजाइ बदलिँदै थियो।
यस्ता परिवर्तन स्पष्ट देखिँदासमेत यदि संस्थाले आफ्ना कार्यक्रम, शिक्षण पद्धति, अनुसन्धान संस्कृति र विद्यार्थी सेवा सुधार्न सकेन भने त्यसको असर भर्ना संख्यामा देखिनु अस्वाभाविक होइन।
धनकुटा बहुमुखी क्याम्पसले केही वर्षदेखि 'क्युएए आउँदैछ' भन्ने आशालाई आफ्नो शैक्षिक भविष्यको प्रमुख आधार बनाइरहेको देखिन्छ। गुणस्तर सुनिश्चितता र प्रत्यायन निःसन्देह उच्च शिक्षाका लागि महत्त्वपूर्ण प्रक्रिया हो। तर क्युएए आफैमा गन्तव्य होइन; त्यो त संस्थामा विद्यमान शैक्षिक गुणस्तर, सुशासन, अनुसन्धान संस्कृति र विद्यार्थीमैत्री वातावरणको औपचारिक मान्यता मात्र हो।
यदि क्युएएलाई सुधारको माध्यमभन्दा प्रतिष्ठाको प्रमाणपत्र मात्र ठानियो भने त्यसले संस्थाको वास्तविक समस्या समाधान गर्न सक्दैन।
वास्तविक प्रश्न के हो भने— क्युएएको तयारी गर्दै गर्दा क्याम्पसले विद्यार्थीलाई कति आकर्षित गर्न सक्यो? अनुसन्धान कति बढ्यो? शिक्षण पद्धतिमा कति सुधार आयो? पूर्वी पहाडका विद्यार्थीलाई यही क्याम्पस रोज्न प्रेरित गर्ने कस्ता नयाँ कार्यक्रम सञ्चालन भए?
यदि यी आधारभूत प्रश्नहरू अनुत्तरित रहन्छन् भने क्युएए प्राप्त भए पनि खाली हुँदै गएका कक्षाकोठा स्वतः भरिने छैनन्। प्रत्यायनले विश्वासलाई पुष्टि गर्न सक्छ, तर हराएको विश्वास आफैँ सिर्जना गर्न सक्दैन।
त्यसैले धनकुटा बहुमुखी क्याम्पसले क्युएएलाई अन्तिम उपलब्धि होइन, निरन्तर सुधारको संस्कृतिको प्रारम्भका रूपमा लिनुपर्छ। विद्यार्थी घट्दै गएको अवस्थामा संस्थाको प्राथमिकता केवल प्रत्यायन प्राप्त गर्नु मात्र नभई शैक्षिक उत्कृष्टता, दुरदर्शी नेतृत्व, अनुसन्धानमुखी वातावरण र विद्यार्थीको विश्वास पुनः स्थापित गर्नु हुनुपर्छ।
क्युएएको प्रमाणपत्र भित्तामा झुन्ड्याउन सकिन्छ, तर क्याम्पसको प्रतिष्ठा भने कक्षाकोठामा बस्ने विद्यार्थी, अनुसन्धानमा संलग्न शिक्षक र समाजले व्यक्त गर्ने विश्वासबाट मात्र स्थापित हुन्छ।
क्युएएको सफलता भवन उद्घाटनको संख्याले मापन हुँदैन; कक्षाकोठामा विद्यार्थीको उपस्थितिले मापन हुन्छ। औपचारिक कार्यक्रम, भाषण र स्वागत–विदाइका समारोहले संस्थाको प्रतिष्ठा टिक्दैन। प्रतिष्ठा टिकाउने शक्ति भनेको नियमित शैक्षिक गतिविधि, अनुसन्धान, अनुशासन, पारदर्शिता र विद्यार्थीप्रतिको उत्तरदायित्व हो।
धेरै सार्वजनिक क्याम्पसमा देखिने अर्को समस्या भनेको रणनीतिक योजनाभन्दा प्रतिक्रियात्मक निर्णय हो। समस्या उत्पन्न भएपछि छलफल हुन्छ; तर समस्या आउन नदिन दीर्घकालीन योजना बनाइँदैन।
पाँच वा दस वर्षपछि क्याम्पस कहाँ पुग्ने भन्ने स्पष्ट दृष्टिबिना संस्थाले समयसँग प्रतिस्पर्धा गर्न सक्दैन। धनकुटा बहुमुखी क्याम्पसजस्तो ऐतिहासिक संस्थाले आफ्नो भौगोलिक अवस्थालाई कमजोरी होइन, विशेषता बनाउन सक्थ्यो।
पहाडी अध्ययन, स्थानीय भाषा–संस्कृति, किराँत सभ्यता, पर्यटन, जैविक विविधता, वातावरण, कृषि र स्थानीय विकासका क्षेत्रमा राष्ट्रिय केन्द्र बन्ने सम्भावना थियो।
तर यस्ता विशिष्ट पहिचान निर्माणमा पर्याप्त ध्यान नपुगेको भन्ने आलोचना सुनिनु आफैमा गम्भीर संकेत हो।
सबै दोष नेतृत्वमै थोपर्नु पनि न्यायसंगत हुँदैन। सीमित बजेट, विश्वविद्यालयका नीतिगत जटिलता, जनसांख्यिक परिवर्तन र राज्यको लगानीका चुनौती पनि छन्। तर यस्ता सीमाबीच पनि दुरदर्शी नेतृत्वले संस्थालाई नयाँ दिशा दिन सक्छ भने अदूरदर्शी नेतृत्वले उपलब्ध स्रोतसमेत निष्क्रिय बनाइदिन सक्छ।
त्यसैले नेतृत्वको प्रश्न गौण होइन; केन्द्रीय प्रश्न हो। आज धनकुटा बहुमुखी क्याम्पसलाई नयाँ भवनभन्दा बढी नयाँ सोच चाहिएको छ। नयाँ नीतिभन्दा बढी नयाँ दृष्टि चाहिएको छ। नेतृत्वले संस्थाको आत्मालाई पुनर्जीवित गर्न सकेन भने इतिहासको गौरव केवल स्मृतिमा सीमित हुनेछ।
दुरदर्शी, उत्तरदायी र शैक्षिक दृष्टिले सक्षम नेतृत्व विकसित भयो भने यही क्याम्पसले पुनः पूर्वी पहाडको शैक्षिक केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सक्छ। कुनै पनि संस्थाको साख एकै दिनमा बन्दैन, र एकै दिनमा भत्किँदैन।
वर्षौंसम्म गरिएका सही वा गलत निर्णयहरूको सञ्चित परिणाम नै संस्थाको प्रतिष्ठा हुन्छ। त्यसैले प्रश्न व्यक्ति होइन, प्रवृत्तिको हो; र समाधान पनि व्यक्ति परिवर्तनभन्दा बढी संस्थागत संस्कार परिवर्तनमा निहित छ।
गुणस्तरको मापन केवल परीक्षाले हुँदैन। हाम्रो उच्च शिक्षामा अझै पनि 'परीक्षा भयो, नतिजा आयो, वर्ष सकियो' भन्ने मानसिकता बलियो छ।
तर विश्वका उत्कृष्ट विश्वविद्यालयहरूले विद्यार्थीलाई केवल पाठ्यपुस्तक पढाउँदैनन्। उनीहरूलाई अनुसन्धान गर्न, समस्या समाधान गर्न, सहकार्य गर्न, आलोचनात्मक सोच विकास गर्न र समाजसँग जोडिन सिकाउँछन्।
त्यसैले अब आंगिक क्याम्पसले परम्परागत प्रशासनिक सोचबाट बाहिर निस्किनैपर्छ। प्रत्येक क्याम्पसले आफ्नो विशिष्ट पहिचान निर्माण गर्नुपर्छ।
कुनै अनुसन्धानमा उत्कृष्ट बन्न सक्छ, कुनै प्रविधिमा, कुनै स्थानीय ज्ञानमा, कुनै रोजगारमुखी शिक्षामा। सबैले एउटै ढाँचामा चल्न खोज्दा सबै औसत बन्छन्; उत्कृष्ट कोही हुँदैन। विद्यार्थीलाई आकर्षित गर्ने सबैभन्दा ठूलो प्रचारपत्र रंगीन होर्डिङ होइन, गुणस्तरीय कक्षा हो।
सबैभन्दा प्रभावकारी विज्ञापन सामाजिक सञ्जाल होइन, सफल पूर्वविद्यार्थी हुन्। सबैभन्दा बलियो ब्रान्डिङ भाषण होइन, परिणाम हो।
आंगिक क्याम्पसमा विद्यार्थी घट्नु एउटा आकस्मिक घटना होइन; यो वर्षौंदेखि थुप्रिँदै आएको नीतिगत अन्योल, व्यवस्थापकीय जडता, शैक्षिक नवप्रवर्तनको अभाव र बदलिँदो समयलाई समयमै नचिनेको परिणाम हो।
त्यसैले समाधान पनि सतही हुन सक्दैन। नयाँ भवन, नयाँ नारा वा केही प्रचारात्मक कार्यक्रमले मात्र यो समस्या समाधान हुँदैन।
उच्च शिक्षाले फेरि विद्यार्थीको विश्वास जित्नुपर्छ। विश्वास आदेशले होइन, गुणस्तरले जितिन्छ; इतिहासले होइन, वर्तमानको कार्यसम्पादनले जितिन्छ।
जब आंगिक क्याम्पसले विद्यार्थीलाई केन्द्रमा राखेर आफूलाई पुनर्निर्माण गर्न थाल्छन्, तब विद्यार्थीको संख्या मात्र होइन, सार्वजनिक उच्च शिक्षाप्रतिको सामाजिक विश्वास पनि पुनर्जीवित हुनेछ।
(लेखक डा. मीनप्रसाद अधिकारी धनकुटा बहुमुखी क्याम्पस, नेपाली शिक्षाका उपप्राध्यापक हुन्।)