परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीतिक विषयबारे जानकारी दिएको छ।
राजधानीको होटल अन्नपूर्णमा दिउँसो साढे १२ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनीहरूलाई बिफ्रिङ गरेका हुन्।
मन्त्री ज्ञावलीले नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभावका बारे जानकारी गराएका छन्। नेपालमा हुने लगानी सम्मेलनबारे पनि उनले उक्त कार्यक्रममा जानकारी गराएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
'गत वर्ष विदेशसँगको परराष्ट्र नीति र कूटनीतिक सम्बन्ध कस्तो भएको थियो त्यसबारेमा मन्त्री ज्ञवालीले जानकारी गराउनुभयो,' उनले भने,'यसभन्दा अघि परराष्ट्रमन्त्रीले कूटनीतिका सम्बन्धमा गराएको जानकारीका बारेमा समेत छलफल भयो।'
विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले भने नेपालमा लगानी गर्नका लागि आवश्यक कानूनी विषयमा समेत चासो राखेका थिए। लगानी सम्मेलनबारे कूटनीतिक नियोगले राखेका प्रश्नको जवाफ अर्थमन्त्री युवराज खतिवडाले दिए।
सरकारले आगामी चैतमा लगानी सम्मेलन आयोजना गर्दैछ। गोरखा भूकम्पपछि २०७२ असारमा नेपालले पुनःनिर्माणका लागि दाता मुलुक र संस्थाहरु बोलाएर सम्मेलन गरेको थियो।
विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिले गत वर्ष नेपालको कूटनीतिक क्षेत्रमा राम्रो प्रगति भएको भन्दै प्रसंसा गरेको भट्टराईले बताए।
भेनेजुयला अमेरिकी हस्तक्षेप भएको भन्दै सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्ति विवादित भएको थियो। त्यसपछि सरकारले पनि आफूले त्यहाँको राजनीतिक अवस्था नजिकबाट नियालेको भन्दै विज्ञप्ति निकालेको थियो।
दुवैले सात समुन्द्र पारीको देशका लागि अमेरिकासँगको सम्बन्ध विगार्ने गरि विज्ञप्ति जारी गर्न नहुने भन्दै सरकारको आलोचना भैरहेका बेला सरकारले आफ्नो कुटनीतिका बारेमा स्पष्ट पारेको हो।