संगम दाइ र म टापु सल्लेरीमा गोरु चराउँदै थियौँ। एकछिन सल्ली पिरलमा चिप्लेटी खेलेर पोखरी छेउमा थकाइ मार्दै गर्दा दाइलाई उहाँको भूपूको बारेमा सोधेँ।
‘दाइ, तपाईंको त खतरै लभ थियो रे त, के भएर छुटेको हो?’
दाइले जवाफ दिनुभयो, ‘खै भाइ, त्यस्तै भयो। सायद भाग्यमै थिएन होला कि।’
‘केही कारण त होला नि। यतिकै त हैन, भन्नू न भन्नू,’ दाइलाई दबाबका साथ प्रश्न गरेँ।
‘साँची भाइ, मलाई अहिलेसम्म थाहा छैन ऊ किन मलाई छोडेर गई,’ मलिन स्वरमा भन्नुभयो।
मैले उसो भए ऊ त्यस्तै खालकी केटी रहिछे है भनेँ। उहाँले ‘हैन भाइ त्यस्तो नभन, ऊ त्यस्तो केटी हैन। मैले ७ वर्ष सङ्गत गरेको हुँ’ भन्दै उसको बचाउमा लाग्नु भयो।
अघिको वचनप्रति आफैलाई नराम्रो लागेपछि दाइसँग माफी मागेँ। दाइले सहज रूपमै लिनुभयो।
‘दाइ, हजुरको प्रेम कहानी सुनाउनु न आज,’ उहाँको प्रेम सम्बन्ध बुझ्न खोजेँ।
धौले गोरु कता गयो फर्काएर आऊ अनि भन्छु भन्नु भयो। दाइको कहानी सुन्न हतारिँदै गएर धौले फर्काएर आए।
स्या-स्या गर्दै आएर भनेँ, ‘दाइ अब भन्नू न।’
दाइले खै कहाँबाट सुरु गरौँ भन्दै अलमल प्रकट गर्नुभयो। मैले उत्सुकताको भावमा जहाँबाट भए पनि हुन्छ भनेँ।
दाइले आफ्नो प्रेमकथा सुरु गर्नुभयो।
‘ऊ र म एउटै कक्षामा पढ्थ्यौँ। म फर्स्ट हुन्थेँ भने ऊ सेकेन्ड हुन्थी। हामी दुवै जना ‘अप्सनल म्याथ’ पढ्थ्यौँ। ऊ र म त्यति खासै बोल्दैन थ्यौँ। त्यही कहिलेकाहीँ हिसाब सोधा सोध हुन्थ्यो। हुन त सबैले उसलाई र मलाई जिस्काउँथे। त्यही भएर नै बोल्न अप्ठ्यारो लागेको होला। नजिक जाँदा पनि जिस्काउने हुन् कि डर हुन्थ्यो। त्यही भएर नि खासै बोलचाल भएन।
कहिलेकाहीँ ऊ जिस्काउँथी तर म उसलाई अनुहारमा हेरेर बोल्न डराउँथेँ। ऊ त्यसको मौका पो छोपेकी हो कि, बेलाबेला जिस्काउँथी। उसले क्लासमा राख्देको मेरो नाम थियो चङ्खे। त्यो नाम उसको मुखारविन्दबाट मात्रै राम्रो सुनिन्थ्यो। बेलाबेला चङ्खे भन्थी, म हाँसेर टार्थेँ, जवाफ फर्काउन भने सक्दैन थिएँ।
एक दिन अप्सन म्याथ सर बिदामा हुनुहुन्थ्यो। कात्तिकको महिना, घाम तापिरहेका थियौँ। यतिकैमा ‘चङ्खे’ भन्दै ऊ मुसुक्क हाँसी। उसको मुहारमा हेरे तर केही बोल्न सकिनँ।
अनि फेरि थपी, ‘मैले चङ्खे भन्दा तिमीलाई रिस उठ्छ होला है?’
‘हैन उठ्दैन, राम्रो लाग्छ,’ भनेँ।
‘उसो भए त सधैँ चङ्खे भन्छु, संगम भन्दिनँ है?’ ऊ जिस्काउन लागी।
‘सधैँ त राम्रो सुनिन्न होला, कहिले काहीँ पो राम्रो सुनिन्छ,’ जवाफ दिएँ।
उसले हाँस्दै ‘उसो भए कहिलेकाहीँ भन्छु’ भनी।
टाउको हल्लाउँदै हस् भनेँ।
अनि फेरि सोधी- ‘तिमी किन मसँग बोल्दैनौ नि? परीक्षामा जित्छे कि भन्ने डर छ कि क्या हो? जित्दिनँ हौ।’
यति भनेर ऊ फेरि हाँस्न थाली।
मैले आफूलाई लाज लाग्ने बताएँ।
‘माया लाग्छ भन्छ कि भनेको त लाज लाग्छ पो भन्छ बा,’ ऊ जिस्काउने मुडमा थिई।
‘हैन माया पनि लाग्छ होला’ म पनि के कम, भनिदिएँ।
‘ए! माया नि गर्छौ? खै त भन्दिनौ त,’ ऊ जोसमा आई।
‘भनेँ त’ हाँसे म।
‘यस्तो पनि हुन्छ त? कति लोभी निस्केको,’ यति भन्दै थिई घण्टी बज्यो।
हिँड्दा हिँड्दै जवाफ दिएँ, ‘भूमिका बाँध्न आउँदैन क्यारे, यसैलाई आधिकारिक माने हुन्छ है।’
यति भनेर पछाडि नफर्की अघि लागेँ।
‘नाइँ हुन्न, मलाई त राम्रोसँग भन्न पर्छ,’ ऊ घुर्की लाउन थाली।
म पनि के कम, आफूले नजानेको र यसलाई नै आधिकारिक माने ठिक छ नभए राम्रोसँग भन्ने खोज्दा हुन्छ है भन्दिएँ। उसले उसो भए यसैमा चित्त बुझाउने बताउँदै मायालु स्वरमा चङ्खे भनी।
यसरी नै सुरु भयो हाम्रो प्रेम सम्बन्ध। समयसँगै एसइई सकियो। त्यसपछि म बुटवल आएँ, ऊ पोखरा। कुराकानीको केही माध्यम थिएन। एक दिन साँझ छतमा बसेर मोबाइल चलाउँदै थिएँ, एक फ्रेण्ड रिक्वेस्ट आयो। नाम देख्न साथ एसेप्ट गरेँ।
मलाई अझै याद छ उसको पहिलो फेसबुक साथी म थिएँ। उति बेलै म्यासेज गरी र बोल्न थाल्यौँ। २/३ महिना सम्पर्क नहुँदा पनि उसले माया घटाएकी रहिनछे, २/३ महिनाको एकै दिन पोखी। अब बिस्तारै साँझ बिहान कुरा हुन थाल्यो च्याटमा।
म बुटवलमा साइन्स पढ्थेँ भने ऊ पोखरा नर्सिङ पढ्दै थिई। सबै ठिकै थियो। समय बित्दै गयो। मेरो १२ पनि सकियो। अब के गर्ने भन्ने कुरा थियो।
लोक सेवा पढ्न उसकै सल्लाहमा काठमाडौँ आएँ। उहीँ त हो लोक सेवा तयारी, मोबाइल कम हेरिन्थ्यो। बिस्तारै ऊसँग कुरा पातलिँदै गयो। कहिलेकाहीँ कुरा त हुन्थ्यो तर थोरै समय। अब त ऊ पनि पिसिएल नर्सिङ उत्तीर्ण भई।
एक दिन भन्दै थिई- ‘एउटा हस्पिटलमा काममा लागेकी छु।’
उसलाई बधाई छ मात्र भनेँ, लामो समय कुरा गर्ने माहौल थिएन।
बिस्तारै मेरो परीक्षा नजिकिँदै गयो, मोबाइल मबाट टाढिँदै गयो। उसले मलाई माया गर्न छोड्यो लाग्यो कि के सोची थाहा भएन, बिस्तारै मलाई भुल्न थालिछ।
परीक्षापछि सम्पर्क गरेँ। केही समय बोल्यौँ पनि। तर खै के भएको हो, झगडा मात्रै परिरहन्थ्यो। झगडाले झन् उसलाई मदेखि टाढा बनाएछ। झगडा हुने अनि बोल्ने त रुटिन जस्तै थियो। झगडा भएर बोल्न छाडे पनि पछि बोलिन्छ भन्ने चाहिँ ढुक्क हुन्थ्यो।
एक दिन फोनमा बोल्दा बोल्दै फोन काटी। रिसले अबदेखि फोन गर्नु पर्दैन मलाई भनेको थिएँ। त्यही रिसमा ब्लक गरिछे। आज अनब्लक गर्ली भन्यो गरिन, भोलि गर्ली भन्या गरिन। दिन बित्यो महिना बित्यो तर म अनब्लक भइनँ। पछि राती १२ बजे नै कल गरी र भनी- ‘ह्याप्पी बर्थडे संगम, सधैँ खुसी हुनू।’
धन्यवाद भन्न नपाउँदै फोन काटिछे। कल ब्याक गरेँ तर नम्बर ब्लकमै थियो। सदा खुसी हुनु भन्दै गरेको जन्मदिन शुभकामना एक मिनेट पनि रहेन, त्यही वाक्यपछि नै म निराश भएँ। जन्मदिन फिक्का भयो। बरु शुभकामना नदिएकै भए चित्त बुझाउँथेँ होला। बेलाबेला फोनमा कल गर्थेँ तर ब्लक नै थियो।
उसको बर्थडेमा सर्प्राइज दिन पोखरा जाने निधो गरेँ। काठमाडौँदेखि पोखरा बिहान ६ बजेको टिकट काटेँ। केही समयको उडानपछि एअर होस्टेसले हामी पोखरा अवतरण गरेको जानकारी दिइन् तर म सपनामै उनीसँगै उडिरहेको थिएँ।
विमानस्थल बाहिर आएर सम्पर्क गरेँ तर मेरो नम्बर ब्लक लिस्टमै थियो। म झसङ्ग भई सपनाबाट अवतरण गरेँ। नजिकै मोबाइल पसलमा गएर नयाँ सिम लिएर कल गरेँ। कल रिसिभ भयो।
म तिमीलाई सर्प्राइज दिन पोखरा आएको भन्दै थिएँ उसले फोन काटी। अनि फेरि कल गर्दा उसको नम्बर स्विच अफ थियो। उसको साथीको माध्यमबाट कुरा गर्न खोजेँ तर सम्भव भएन। उसको कुरै नगर्नू मसँग भन्दै उल्टो साथीलाई थर्काइछे। उसको साथीले भन्दै थिई छोड्देऊ संगम।
पछि थाहा भयो, त्यही हस्पिटलमा काम गर्ने डक्टरसँग बिहे भएछ। मेरो साथीले एक दिन सोधिछे उसलाई।
‘केही नहुँदा साथ दिएकी थिएँ, सबै पाएपछि मलाई बिर्सियो। त्यही भएर यो निर्णय लिएकी हुँ। मलाइ पछुतो छैन,’ उसले साथीलाई जवाफ दिइछ।
यही हो मेरो कथा। साँझ पर्न लाग्यो जाऊँ हिँड घर।’
हुन्छ दाइ भन्दै गोरु फर्कायौँ।
दाइलाई फेरि सोधेँ, ‘उसलाई केही भन्नु छ दाइ?’
आँखामा आँसु तपक्क निकाल्दै भन्नुभयो, ‘मलाई म बनाएर आफू अर्कैको भएकी हो, सधैँ खुसी रहोस्। अरू के भन्न सक्छु र!’