त्यस दिन बेलुका साढे आठ बजेको थियो।
खाना खाएर भान्सासँगैको बार्दलीमा मोबाइल चलाउँदै आमा र दाइका साथ बसेका थिए समुद्र गुरूङ।
आमाले अचानक समुद्रलाई सोधिन् — किन तैंले फेसबुकमा यौनिक तथा अल्पसंख्यक समुदायका मानिसहरूको कुरा र फोटो मात्रै सेयर गरेको?
समुद्र झसंग भए। मनमा उकुसमुकुस भयो। उनी मौन रहे।
त्यस बेला समुद्र एमबिबिएस चौथो वर्षका विद्यार्थी थिए। फुर्सद हुँदा यौनिक तथा अल्पसंख्यक समुदायका कार्यक्रममा जान्थे। त्यहाँ खिचेका फोटा सामाजिक सञ्जालमा सेयर गर्थे। कहिलेकाहीँ त्यही समुदाय सम्बन्धी लेख पनि सेयर गर्थे।
उनलाई आफ्नो यौनिक–लैंगिक पहिचानबारे अलमल थिएन। तर आमा र परिवारका अन्य सदस्यलाई भन्ने हिम्मत गरेका थिएनन्।
अचानक आमाले सोधेपछि उनी असमञ्जसमा परे। आमा जबाफ पर्खिरहेकी थिइन्।
उनमा एकाएक हिम्मत पलायो। उचित समय यही हो भन्ठानेर बोले, 'म पनि त्यस्तै हुँ नि आमा!'
समुद्रको जबाफले आमा र दाजु अवाक भए। बार्दलीमा सन्नाटा छायो।
केही बेरपछि दाजुले भने, 'ए, हो र!'
समुद्रले 'हो' भन्ने संकेतमा टाउको हल्लाए।
आमाले मलीन स्वरमा भनिन्, 'त्यसो हो भने तँ कसरी जिउँछन्? मेरो मायाले मात्रै पुग्दैन! छोरो नै भइरहनु राम्रो हुन्छ, तँलाई सजिलो हुन्छ।'
दाइको भनाइ पनि आमाकै जस्तो थियो।
समुद्रले तत्कालका लागि कुरा सक्दै भने, 'म क्वीर हुँ, त्यही भएर बाँच्न चाहन्छु। म पुरूषको परिभाषामा पर्दिनँ। क्वीर भएरै बाँच्ने निर्णय गरेको छु।'
आफ्नो यौनिकता–लैंगिकता नखुलाई आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटिक्युआइए प्लस) व्यक्तिका रूपमा चिनाउनेहरूले क्वीर शब्द प्रयोग गर्छन्। सुरूमा क्वीर भनेका समलिंगी हुन् भनिन्थ्यो। समयक्रममा यसको दायरा फराकिलो हुँदै गयो। जन्मका आधारमा महिला वा पुरूषभन्दा अलग रहेको तर खास पहिचान यकिन नभइसकेकाले पनि आफूलाई क्वीर भनेर चिनाउँछन्।
समुद्रले त्यो रात आफ्नो मनको कुरा खोलेपछि आमा मलीन भइन्। दाइले भाइको काँध थुम्थुम्याए। आमा र दाइको मन भारी भए पनि समुद्रको मन हलुका भयो।
'आफ्नोबारे भन्न नसक्दा उकुसमुकुस भएको थियो, भनेपछि मन हल्का भयो,' समुद्रले भने।
यो पाँच वर्षअघिको कुरा हो।
२६ वर्षीय डाक्टर समुद्रका लागि त्यो समय अविस्मरणीय बनेको छ।
उनले १३ वर्ष उमेरदेखि आफू अरू केटाभन्दा फरक भएको महसुस गरेका थिए। उमेर बढ्दै जाँदा फरकपन पक्का हुँदै गयो। तर किन त्यस्तो भएको भनेर कसैलाई सोध्न सकेनन्। परिवार, अरू मान्छेले के भन्लान् भनेर डर बसिरह्यो। त्यही डरले उनलाई आफ्नो यौनिक–लैंगिक पहिचान स्वीकार र सार्वजनिक गर्न धेरै समय लाग्यो।
'मैले सबै कुरा भनेपछि पनि परिवारमा मप्रतिको व्यवहार जस्ताको तस्तै छ। मन दुख्ने कुनै व्यवहार भएको छैन। बरू मलाई आफ्नो कुरा भन्न ढिलो गरेछु भन्ने पछुतो भएको छ,' उनले भने, 'तर सबैलाई मलाईजस्तो सजिलो हुँदैन। मेरो परिवार कुरा बुझ्ने भएकाले सजिलो भएको हो।'

समुद्र काठमाडौंको नागार्जुन नगरपालिका–४ मा जन्मेहुर्केका हुन्। उनका बुबा सेनामा छन्, आमा गृहिणी हुन्। आमाबुबा दुवैले स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेका छन्। उनका एक दाजु छन्।
स्कुल पढ्दा समुद्र अलि संवेदनशील थिए। ससानो कुराले पनि मन दुख्थ्यो, रून्थे। कक्षाका केही साथीहरू उनलाई 'केटीजस्तो रून्चे' भन्थे। कहिले केटीजस्तो हाँस्छ, केटीजस्तो चन्चले छ पनि भन्थे। 'केटीजस्तो' भनेको सुन्दा उनको मन कुँडिन्थ्यो।
'केटीलाई किन त्यसरी हेला गरेको होला भन्ने लाग्थ्यो। मन दुख्थ्यो, रोइदिन्थेँ,' उनले सुनाए।
साथीहरू उनको स्वभावबारे कुरा काट्थे। फेसबुकको ग्रुपमा समेत उनको उपहास हुन्थ्यो। बिस्तारै साथीहरूसँग उनको घुलमिल कम हुँदै गयो।
उनी जानकारीमूलक भिडिओ, फिल्म र पुस्तकतिर लागे। पुरूषलाई 'महिलाजस्तो' भनेर जिस्क्याउनुको कारण खोजी गरेर पढ्न थाले। कक्षा १० मा पुग्दासम्म उनले यौनिक तथा अल्पसंख्यक समुदायका बारे बुझे। तर आफ्नो पहिचान के हो भनेर थाहा पाउन सकेनन्।
२०७१ सालमा एसएलसी दिएर उनी लैनचौरस्थित निस्ट कलेजमा विज्ञान विषय पढ्न भर्ना भए। साथीहरूको 'केटीजस्तो' टिप्पणी र कटाक्षले छाडेन।
'केटाहरू केटीजस्तो छस् भनेर जिस्क्याउँथे। केटीहरू भने त्यसो भन्दैन थिए। त्यसैले केटाभन्दा केटी साथी धेरै थिए,' उनले भने।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायबारे थप खोजी गर्दै जाँदा समुद्रले आफूलाई अरूले केटीजस्तो भनेर जिस्क्याउनुको कारण थाहा पाए।
'बुझ्दै जाँदा म क्वीर हुँ भन्ने थाहा पाएँ। थाहा भएपछि कसैलाई सुनाऊँ जस्तो लागेको थियो तर डरले लुकाएँ,' उनले भने, 'मलाई अब समाजले पनि घृणा गर्छ, कसैले राम्रो नजरले हेर्दैन भन्ने लाग्यो। मान्छेहरूको नजिक जान पनि मन लाग्दैनथ्यो। हाम्रो पनि मन दुख्छ भन्ने कसैले ख्याल नै गर्दैन।'
उनले आफ्नो यौनिक–लैंगिक पहचान थाहा पाएपछि आफ्ना समुदायका व्यक्तिहरूसँग भेटघाट बढाए। आफ्नो वास्तविकता यही हो, क्वीर भएरै बाँच्छु भनेर स्वीकार गर्न उनैलाई डेढ–दुई वर्ष लाग्यो।
उनी स्नातक पढ्ने तयारीमा थिए। २०७२ वैशाख १२ गते भूकम्प आयो। अनि उनको जिन्दगीले नयाँ मोड लियो।
काठमाडौंका अस्पतालहरूमा भूकम्पका घाइतेहरूको चाप थियो। जनशक्ति अभाव भएकाले अस्पतालहरूले स्वयंसेवक राखे। साथीको माध्यमबाट समुद्र पनि काठमाडौंको ट्रमा सेन्टरमा स्वयंसेवक भए।
अस्पतालमा बिरामीलाई औषधि खान सम्झाउने, एक ठाउँबाट अर्को ठाउँमा लैजाने–ल्याउने, रगतका पोका एउटा कोठाबाट अर्कोमा लैजाने जस्ता काम गर्नुपर्थ्यो।
काम गरेको १२ औं दिन एक जना महिलाले उनलाई बोलाएर भनिन्, 'तपाईंको सहयोगले म छिट्टै निको भएँ। मेरा कोही पनि आफन्त आएका थिएनन्। यस्तो बेला तपाईंले गरेको हेरचाह कहिल्यै पनि बिर्सिन सक्दिनँ। तपाईंलाई धेरै धन्यवाद।'
समुद्रलाई लाग्यो— यस्तो साधारण सहयोगले त मान्छे यति धेरै खुसी हुँदो रहेछन्, डाक्टरसँग झन् कति खुसी हुँदा हुन्!
त्यही क्षण उनले डाक्टर बन्ने अठोट गरे।
'तर मेरो लैंगिक–यौनिक पहिचानले पेसामा असर पो गर्ने हो कि, टिक्न नसकिने पो हो कि डर भयो,' उनले भने, 'एक मनले डाक्टर बन भन्थ्यो, अर्को मनले विदेशतिर गएर आफ्नो पहिचानसहितको जिन्दगी बिताउन भन्थ्यो।'
उनको डाक्टर बन्ने मनले जित्यो। दुई महिना तयारी कक्षा लिएर पढे र नाम निकाले। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस पढ्ने अवसर पाए।
पढाइ तेस्रो वर्षमा पुगेपछि आफ्ना समुदायका व्यक्तिहरूसँग आफ्नो लैंगिक–यौनिक पहिचान खुलाउन सुरू गरे। यसपछि उनको हिम्मत बढ्दै गयो।
'सामाजिक सञ्जालमा कार्यक्रमका फोटोहरू सेयर गर्न थालेँ। त्यही देखेर आमाले सोध्नुभएको थियो,' समुद्रले भने, 'आमाले सोधेपछि मलाई पनि मौका पर्यो। आफूभित्रको युद्ध जित्न सके दुनियाँ जित्न सकिने रहेछ भन्ने लाग्यो।'
उनी एमबिबिएस पढाइको अन्तिम वर्ष प्रयोगात्मक परीक्षा प्रयोजनका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगे। त्यहाँ आफ्नो पहिचान लुकाएनन्।
सन् २०२३ मा एमबिबिएस सकेर उनले चिकित्सक दर्ता प्रमाणपत्र लिए। सुरूमा काठमाडौंको मेट्रो अस्पतालमा नौ महिना काम गरे। त्यहाँ कसैले उनको लैंगिक–यौनिक पहिचानमाथि प्रश्न गरेन। कसैले जिज्ञासा राखे उनी सहज जबाफ दिन्थे।
दुई वर्षयता उनी सैनिक अस्पतालमा कार्यरत छन्। विगत ६ महिनादेखि मान्छेको छालामा आउने 'मुसा' बारे अनुसन्धान पनि गर्दैछन्। स्नातकोत्तर (एमडी) मा छालारोग सम्बन्धी (डर्माटोलोजी) पढ्ने योजना छ।
अस्पतालको काम र अनुसन्धानबाट बचेको समय उनी आफ्ना समुदायका साथीहरूसँगै रमाउँछन्। आफ्नो लैंगिकता, यौनिकताबारे कसले के भन्छ भन्ने चिन्ता उनलाई छैन।
'बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अस्पतालमै व्यस्त हुन्छु। मेराबारे कसले के भन्यो भनेर खोजी गर्ने र त्यसमा सोचिरहने समय हुँदैन,' समुद्रले भने, 'म क्वीर हुँ र आफ्नो वास्तविक पहिचानसहित स्वाभिमानका साथ जिउन चाहन्छु।'