प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरूलाई पनि उपदान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरूलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपदान दिन सरकारसँग माग गरेका हुन्।
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्धबाट करारमा कार्यरत कर्मचारीहरूलाई बञ्चित गराउन नहुने तर्क गरे।
नेता बडुले करारमा कार्यरत कर्मचारीले गरेको सेवा अवधि बराबरको उपदानको व्यवस्था गर्दा उपयुक्त हुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
समितिका अर्का सदस्य प्रेम सुवालले शैक्षिक प्रमाणपत्रको आधारमा कर्मचारीहरूको सेवा र सुविधाको व्यवस्था गर्न सरकारलाई सचेत गराए।
उनले मुख्य सचिवको नियुक्ति मन्त्रिपरिषद् बैठकले गर्न नहुने धारणा राखे।