सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले नयाँ प्रदेश प्रमुखहरू छानेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सकिएको नेकपाको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख बनाउन सात जनाको नाम छानेको हो।
बैठकपछि बोल्दै नेकपा महासचिव बिष्णु पौडेलले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, डडेल्धुराका गोविन्द कलौनी, झापाका बिष्णु प्रसाईं, काठमाडौंकी शर्मिला त्रिपाठी र सिरहाका धर्मनाथ यादवलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको जानकारी दिए।
कसलाई कुन प्रदेशमा खटाउने भन्ने कुरा मन्त्रिपरिषद् बैठकले टुंग्याउने महासचिव पौडेलले बताए।
केहीबेरमा बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नेछ। यसअघि आइतबारको मन्त्रिपरिषद बैठकले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो।
आफूले नियुक्त गरेका प्रदेश प्रमुख हटाएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले असन्तुष्टी व्यक्त गरेको थियो। प्रदेश प्रमुख हटाउनु निर्वाचन आचार संहिताविपरित भएको र यसले दलहरूबीच सहमतिको राजनीतिलाई तोड्ने काम गरेको उस्को टिप्पणी थियो।
यसबारे राखिएको जिज्ञासामा महासचिव पौडेलले संवैधानिक प्रक्रियाअनुसार नै प्रमुखहरू हटाउने र नयाँ नियुक्त गर्ने काम भएको बताए।
‘यसले सहमतिको राजनीतिलाई केही असर पार्दैन,’ उनले भने।