नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्य सोमबार पनि केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने भएका छन्।
सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउन सहमत नभएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडान पौडेलले राखेका हुन्।
पौडेल पक्षले आइतबार र गत बिहीबार पनि बैठक बहिष्कार गरेका थिए। पौडेल पक्षको बहिष्कारबीच बिहीबार सभापति देउवाले ९ एजेन्डा छलफलका लागि पेश गरेका छन्।
आइतबार पनि केहीबेर बसेको बैठकले चार वटा निर्णय गरेको थियो।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सहमतिको प्रयास गर्दा सुरू भएको छैन।
सोमबार विहान उपसभापति विमलेन्द्र निधिले सहमतिमा ल्याउन पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग कुराकानी गरेका थिए।
पौडेलको सचिवालयले जनाएअनुसार आज बैठकमा बरिष्ठ नेतासहित उनी पक्षका नेता सहभागी हुने छैनन्।
‘पाथीभरा जानुभएकोले होला उहाँ (पौडेल) लाई सञ्चो पनि छैन,’ पौडेलको सचिवालयका एक सदस्यले सेतोपाटीसँग भने, ‘बैठकमा नजाने कुरा भएको छ।’ पौडेल स-परिवार आइतबार पाथीभरा दर्शन गरी काठमाडौं फर्केका थिए।