प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले सरकार भ्रष्टाचारको आहालमा डुबेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले भ्रष्टाचारको आहालमा डुबेर प्रधानमन्त्रीको कुर्सीमात्रै देखिएको आरोप लगाए।
‘भ्रष्टाचारको आहालमा डुबेर प्रधानमन्त्रीको कुर्सीमात्रै देखिन्छ अरू केही देखिँदैन,’ उनले भने।
उनले नेपालमा कोरोनाभन्दा भ्रष्टाचार व्यापक भएको बताए।
‘कुन ठाउँमा भ्रष्टाचार छैन? यो सरकार बनेपछि दिनमा दुई गुणा रातमा चौगुणा भ्रष्टाचार भएको छ,’ उनले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना पनि गरे। तर मिर्गौला प्रत्यारोपण सफलतासँगै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताए।
‘मिर्गौला प्रत्यारोपणको सफलतासँगै बालुवाटारमा फर्कने होइन, सुनपानी छर्केर गोकुलधाम बनेको बालकोटमा सर्नुस्,’ उनले भने, ‘नैतिकताको आधार एक प्रतिशत छ भने बाँकी छ भने इमेज जोगाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।’