नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नं. १ मा भएको निर्वाचनबाट हीरा केसीको प्यानल नै विजयी भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा समूहका केसी देवदह नगरपालिकाका मेयर तथा यसअघिका पनि कांग्रेस क्षेत्रीय सभापति समेत हुन्।
क्षेत्र नम्बर १ मा देउवा समूहबाट केसी र पौडेल समूहबाट विश्वनाथ यादवले प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।
जसअन्तर्गत सभापतिमा ३९६ मत ल्याएर केसी विजयी भएका हुन्।
यादवले भने २१५ मत प्राप्त गरेका छन्। त्यस्तै, दुइटा सचिव पदमा पनि केसी प्यानलकै बैजनाथ साहनी र विजय गुरूङ विजयी भएका छन्। साहनीले ३५२ र गुरूङले ३६१ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
यादव समूहबाट सचिव पदका उम्मेदवारहरू विनोद न्यौपानेले २४६ र अर्जुन पोखरेलले २१२ मत ल्याएका थिए। सहसचिवमा पनि केसी प्यानलकै नरबहादुर थापा र मोहम्मद रजा पठानसँगै सबै क्षेत्रीय सदस्यहरू विजयी भएका छन्।
उक्त क्षेत्रमा महाधिवेशन प्रतिनिधिहरूको मतगणना भने जारी छ।
क्षेत्र नम्बर ३ मा दुई समूहका बीचमा विवाद भएपछि सोमबार मतदान स्थगित गरिएको छ।
क्षेत्र नम्बर ४ मा मुकेश यादव र ५ मा वसिउल्लाह मुसलमान सभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन्।
यादव र मुसलमान दुबै शशांक कोइराला समूहका हुन्। क्षेत्र नम्बर २ को निर्वाचन परिणाम भने आइपुगेको छैन।