त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिले विश्वविद्यालय सभाको बैठकले गरेको निर्णय कार्यान्वयन नगर्न सुझाव दिएका छन्।
सोमबार पूर्वउपकुलपतिहरू केदाभक्त माथेमा, नवीनप्रकाश जंग, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र हिराबहादुर महर्जनले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त सुझाव दिइएको हो।
उनीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विगत १० वर्षदेखि करारमा कार्यरत तर यस अघिका प्रतियोगितामा उत्तीर्ण हुन नसकेका ४८० जना व्यक्तिलाई मात्र परीक्षामा सामेल गराई स्थायी गर्ने निर्णय गर्नु अत्यन्तै दुर्भाग्यको हो।'
त्रिभुवन विश्वविद्यालय सभाको उक्त आत्मघाती निर्णय कार्यान्वयन नगर्न र त्रिवि सभाको विशेष बैठक बोलाएर उक्त निर्णय बदर गर्न त्रिवि प्रशासनलाई उनीहरूले ध्यानाकर्षण गराएका छन्।
'उचित निर्णय गर्न दबाबलाई नपर्खाैं र दबाबका कारण अनुचित निर्णय कुनै हालतमा नगरौं', उनीहरूले भनेका छन्।