राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ।
बैठक दुई दिनका लागि स्थगित भएसँगै पार्टीले तत्काल सरकार नछाड्ने भएको हो।
बिहीबार बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनको समय मागेकोले अहिलेलाई बैठक स्थगित गरिएको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
उच्च राजनीतिक संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय भएको समेत प्रवक्ता ढकालले जानकारी दिए।
‘उहाँहरूले दुई दिनको समय मागेकोले दुई दिनपछि आवश्यक निर्णय गर्नेछौं’, उनले भने।
माघ १३ गते सर्वोच्च अदालतले रास्वपा सभापति लामिछानेले कायम नरहेको नागरिकता प्रयोग गरी प्रतिनिधि सभा चुनाव लडेको भन्दै उनको सांसद पद बदर गरिदिएपछि पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएको हो।
अदालतको आदेशपछि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए।
गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुन: प्राप्त गरेका लामिछानेले आफूलाई फेरि गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका थिए।
गैरसांसदलाई पनि ६ महिनासम्म मन्त्री बनाउन मिल्ने संविधानको व्यवस्थाअनुसार आफू मन्त्री बन्नु पर्ने लामिछानेको भनाइ थियो। रास्वपाले पनि यसअघिको सहमतिअनुसार गृहमन्त्री आफ्नो दल नै पाउने भएकाले गृहमन्त्री नपाए सरकार छोड्ने चेतावनी दिएको थियो।
एमाले अध्यक्ष ओली गृहमन्त्री रास्वपालाई दिने पक्षमा भए पनि प्रधानमन्त्री प्रचण्डले भने नयाँ गृहमन्त्री आफ्नै पार्टीबाट बनाउन चाहेका छन्।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, २१:३७:००