पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले ५५ लाख रुपैया लिँदा प्रक्रियागत त्रुटि भएको स्वीकार गरेका छन्।
फोहोर प्रशोधन केन्द्रको जग्गा खरिद गर्न भन्दै महानगरले गत पुस २९ गते उनको व्यक्तिगत खातामा ५५ लाख पठाइदिएको थियो। उनको व्यक्तिगत खातामा उक्त रकम गएपनि हालसम्म जग्गा खरिद प्रक्रिया भने अघि बढेको छैन।
‘पोखरा महानगर–३३ झाक्रेखोल्सा देब्रे बगरमा करिब ९६ रोपनी जग्गा खरिदको लागि बैनावापतको रकम ५५ लाख म मार्फत जग्गा धनिलाई प्रदान गरिएको हो,’ उनले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अगाडि भनेका छन्, ‘केही प्रक्रियागत त्रुटी पक्का छन्।’
महानगरले फोहोर प्रशोधन केन्द्र बनाउन जग्गा खरिद प्रक्रिया सुरू नगर्दै पेस्की स्वरूप वडाध्यक्ष अधिकारीको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको समाचार सेतोपाटीले शुक्रबार प्रकाशित गरेको थियो।
जनप्रतिनिधिको व्यक्तिगत खातामा विकासे बजेट पठाउन नमिल्ने कानुनी प्रावधान रहेपनि महानगरले अधिकारीको खातामा रकम पठाएको थियो।
महानगरको गत पुस २७ गते बसेको १५ औं कार्यपालिका बैठकले अधिकारीको खातामा ५५ लाख पठाउने निर्णय गरेको थियो।
महानगरका मेयर धनराज आचार्यको मुख्य आग्रहमा आफुले काम गरेको वडाध्यक्ष अधिकारीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘जग्गाको अनुचित भाउ बढ्न सक्ने आंकलन गरी महानगरका मेयर धनराज आचार्यकै मुख्य आग्रहमै निर्णय गरी रकम बुझाइएको हो,’ उनले भनेका छन्, ‘महानगरको कार्यपालिका बैठक मार्फत नै जग्गा होल्ड गर्न आग्रह गरेकै कारण मैले आफुलाई जिम्मेवार गरेको अनुरोधलाई स्विकार गरी काम गरेको सत्य हो।’
यो पनि: पोखरा महानगरको ५५ लाख रुपैयाँ वडाध्यक्षको व्यक्तिगत खातामा
