राणा शासकले व्यक्तिलाई पक्राउ गर्दा अदालत लैजान्थे। एउटा प्रक्रिया पुरा गर्थे। त्यही राणाशासन फालेर प्रजातन्त्र ल्याएका बिपी कोइराला आफू गृहमन्त्री हुँदा भरत शमसेरलाई पक्राउ गर्दा पक्राउ पुर्जी दिएनन्।
सिधै जेल हालेको प्रसंग इतिहासकार नयराज पन्तले आफ्नो डायरीमा उल्लेख गरेका छन्। प्रजातन्त्र स्थापना गर्न लडेका व्यक्ति सत्तामा पुगेपछि कतिको प्रजातान्त्रिक भए? युवा लेखक त्रिवेणीले बिपी कोइरालाको जेल डायरी पुस्तकका सम्पादक शंकर तिवारीलाई सोधे।
त्यतिबेला शमसेरलाई पक्राउ गर्दा पुर्जी दिए नदिएकाबारे तिवारीले खुलाएनन्। तर कोइरालाले गृहमन्त्रीबाट राजीनामा दिँदा आफैंले हस्ताक्षर गरेर रिहाइ पुर्जी दिएको बताए।
‘पक्राउ पुर्जी दिएको पनि हुनसक्छ,’ उनले भने, ‘कोइरालाले राजीनामा वक्तव्य प्रकाशित गर्नुअघि भरत शमसेरलाई रिहाई पुर्जी आफैंले हस्ताक्षर गरेर दिनुभएको थियो।’
बिपी कोइरालाको लेखनमा पश्चिमा लेखक र दार्शनिकको प्रभाव देखिएको प्रश्नमा तिवारीले पूर्वी दर्शन पनि बिपीले उत्तिकै अध्ययन गरेको बताए।
धेरै लेख रचनामा गीताको प्रसंग जोडेको भन्दै तिवारीले दर्शन र घटनाक्रमको जानकारी लिन कोइरालाले पश्चिमा लेखक तथा दार्शनिकबारे अध्ययन गरेको हुनसक्ने उनले बताए। पोखरामा शनिबार बिपी कोइरालाको जेल डायरी पुस्तकमाथि अन्तर्क्रिया सहजकर्ता त्रिवेणीले प्रजातन्त्र र शक्ति पृथकीकरणमा बिपी कोइराला प्रष्ट देखिएको बताए। तर अहिले कांग्रेस नेतृत्व प्रजातन्त्र र शक्ति पृथकीकरणका सिद्धान्त विपरित चलिरहेको भन्दै बिपीको सिद्धान्त अहिले कांग्रेसले छाडेको प्रसंग निकाले।
जवाफमा तिवारीले भने, ‘बुद्धपछि फेरी बुद्ध किन जन्मिएनन्, क्राइष्ट फेरी किन आएनन्, अब्राहम लिंकनको पार्टीबाट डोनाल्ड ट्रम्प जस्ता मान्छे आउलान् भनेर कसले कल्पना गरेको थियो र।’
बिपी कोइरालाको विचारलाई रामचन्द्र पौडेलले बिपीवाद भनेर व्याख्या गर्न खोजेको भन्दै तिवारीले त्यतिबेला प्रदीप गिरीले रोकेको बताए।
बिपी विचारधारासम्म भन्न सकिन्छ, वाद भन्दा मुर्खता हुने भनेर रोकेको उनले बताए। बिपी कोइरालाको साहित्यलाई एमाले अध्यक्ष केपी ओलीले कुण्ठाको साहित्य भनेर गिज्याएपछि जवाफ दिन बिपी साहित्य महोत्सव गरिएको तिवारीको भनाई छ।
‘बिपीको साहित्यलाई केपी ओलीले कुण्ठाको साहित्य भनेपछि बिपी के हो त भनरे साहित्य महोत्सव गरिएको हो,’ उनले भने। कोइरालाले २०१७ सालमा सत्ताच्युत भएपछि राजालाई देखाइदिन सशस्त्र संघर्ष गरेको तिवारीले बताए। राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई हटाएर आफैंले सत्ता हातमा लिएका थिए। त्यसपछि कोइरालाले सशस्त्र संघर्षको असफल प्रयास गरेका थिए।
कोइरालाले उक्त घटना राजालाई देखाइदिन गरेको भन्दै पछि आत्मालोचना गरेको तिवारीले बताए। नेपालमा सशस्त्र संघर्ष हुन सक्दैन भनेर बिपीले लेखेका छन्। त्यसपछि माओवादीले नेपालमा १० वर्ष सशस्त्र संघर्ष गरे। यो प्रसंग जोडी त्रिवेणीले प्रश्न गरे।
‘माओवादीले पनि सत्ता कब्जा गर्न नसकेपछि लोकतान्त्रिक मूल्य मान्यता स्वीकार गरेर सम्झौतामा आएको तिवारीले बताए।
‘बिपीले सशस्त्र संघर्षबाट सम्पूर्ण सत्ता कब्जा हुन सक्दैन भन्नुभएको थियो,’ उनले भने।
‘माओवादीले पनि त कब्जा गर्न सकेनन् नि,’ शंकरले उत्तर दिए।
पुस्तक जेल डायरी चर्चाको सुरूवातमै लेखक गनेस पौडेलले पुस्तकबारे धारणा राख्दै कोइरालाको ‘महामानव’ छवीबारे टिप्पणी गरेका थिए। उक्त टिप्पणीलाई उनले दार्शनिक फ्रेडरिक नित्सेको विचारसँग दाँजेका थिए। कार्यक्रममा त्रिवेणीले स्त्रीद्वेषी समाजशास्त्री सिग्मण्ड फ्रेडबाट प्रभावित भएर पनि बिपीले महिला मुक्तिका कुरा लेख्नुबारे पनि चर्चा चलाए।
सँगै रिभोलुशन एण्ड डिक्टेटरसिप नामक पुस्तकमा उल्लेखित क्रान्तिसँग सम्बन्धित अवधारणालाई जोडेर बिपी क्रान्तिका लागि तयार नभएकाले बिपिको सत्ता नटिकेको हुनसक्ने आँकलन गरि त्रिवेणीले प्रश्न गरे। सँगै, थोमस हब्स, मिसेल फुको, युर्गेन हाबरमास लगायतका समाजशास्त्रीका छुट्टाछुट्टै अवधारणालाई पुस्तकमा उल्लेखित प्रसंगसँग जोडेर कार्यक्रममा चर्चा गरिएको थियो।