राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका सुरेन्द्र चौधरीलाई सहप्रवक्ताको जिम्मेवारी दिएको छ।
चौधरी आजै केन्द्रीय सदस्यसमेत मनोनीत भएका थिए।
रास्वपाले आज केन्द्रीय सदस्यमा मनोनीत गरेका सुरेन्द्रबाहेक अरू कोही पनि महाधिवेशनमा उम्मेदवार बनेका थिएनन्।
रास्वपा केन्द्रीय समिति बैठकले आज ९ जना कन्द्रीय सदस्य मनोनीत गरेको छ।
भूपदेप शाह, सुनिल लम्साल, सुधन गुरूङ, प्रतिभा रावल, पुरूषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भानुभक्त राई केन्द्रीय सदस्य मनोनीत भएका हुन्।
महाधिवेशनमा पराजित भएकाहरूलाई पदाधिकारी बनाउन नहुने पार्टी भित्रैको आवाजलाई सभापति रवि लामिछानेले सुने/नसुनेझैँ गरेका हुन्।
रास्वपामा केन्द्रीय सदस्य विजयी भएकाहरूलाई मात्र पदाधिकारीको चुनाव लड्न दिइएको थियो। महामन्त्रीसहित अन्य केही पदाधिकारी चुनाव लडेकाहरूबाट मनोनीत गर्ने महाधिवेशनका बेला समझदारी भएको थियो।
तर सहमति विपरीत चौधरीले सहप्रवक्ताको जिम्मेवारी पाएका हुन्। चौधरी समानुपातिक तर्फबाट सांसदसमेत छन्।
सुरेन्द्र चौधरी निर्वाचनअघि रास्वपाबाट उम्मेदवार बन्न पुगेका थिए। उनका दाजु योगेन्द्र चौधरी नेपाली कांग्रेस पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदवार बनेका थिए। उनी कांग्रेसका सहमहामन्त्री छन्।