गौरव तिवारी जर्मनीको फ्रयांकफर्टमा बस्छन्। पेसाले उनी डेटा साइन्टिस्ट हुन्।
उनी मेकानिकल कम्पोनेन्ट्स सम्बन्धी एक बहुराष्ट्रिय कम्पनीमा काम गर्छन्।
कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा मेसिनलाई ठूलो मात्रामा उपलब्ध तथ्यांकबाट सिकाउने, प्रयोगकर्ताको रूचि अनुसार सामग्री वा उत्पादन सिफारिस गर्ने प्रणाली विकास गर्ने तथा व्यावसायिक तथ्यांकको विश्लेषणमार्फत निर्णय लिन सहयोग गर्ने काम उनको मुख्य जिम्मेवारी हो।
'मेसिनबाट आउने तथ्यांक अध्ययन गर्दै त्यसलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्ने र मेसिनलाई आफै सिक्न सक्ने बनाउने हो,' उनले भने।
गौरवले यो कम्पनीमा काम गर्न थालेको चार वर्ष भयो। उनको समूहमा उनीसहित ७ जना डेटा साइन्टिस्ट छन्। तीमध्ये गौरव एक्ला नेपाली हुन्।
उनको कार्यतालिका बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मको छ। सातामा दुई दिन बिदा हुन्छ।
गौरवको पुर्ख्यौली घर स्याङ्जा हो। दुई दाजुभाइ र एक जना दिदीमध्ये उनी कान्छा हुन्। बुबा भारतमा व्यवसाय गर्थे भने आमा गृहिणी थिइन्।
सानैदेखि उनको ध्यान पढाइमा बढी थियो। गाउँकै जनहित माध्यमिक विद्यालयबाट उनले २०६८ सालमा एसएलसी (एसइई सरह) दिए। प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि गाउँकै एक कलेजबाट विज्ञान संकायमा कक्षा १२ पढेर सके।
त्यसपछि उनी स्नातक तह पढ्न काठमाडौं आए। ग्वार्कोस्थित एकेडेमी इन्टरनेसनल कलेजमा कम्प्युटर साइन्स पढ्न थाले। चार वर्षे उक्त कोर्सको पढाइ अन्तिमतिर पुग्दै गर्दा उनले एक अमेरिकी कम्पनीमा काम गर्ने अवसर पाए।
'त्यहाँ डेटा स्पेसलिस्टका रूपमा ६ महिना काम गरेँ। त्यसपछि टिम लिड भएर एक वर्ष काम गरेँ। त्यसपछि थप अध्ययनका लागि जर्मनी आउने सोच बनाएँ,' गौरवले भने।
थप पढ्न भनेर सन् २०१९ मा उनी विद्यार्थी भिसामा जर्मनी पुगे। टेक्निकल युनिभर्सिटी अफ केमनिट्जमा उनले पूर्ण छात्रवृत्ति पाएका थिए।
उनले स्नातकोत्तर तहमा अटोमोटिभ सफ्टवेयर इन्जिनियरिङ विषय पढे।
पूर्ण छात्रवृत्तिमा पढिरहेकाले गौरवलाई कमाउनुपर्ने बाध्यता थिएन। त्यसैले उनले आफ्नो समय र ऊर्जा पढाइमै लगाए।
एक वर्षपछि उनले आफ्नै क्षेत्रसँग सम्बन्धित एक जर्मन कम्पनीमा इन्टर्नसिप गर्ने अवसर पाए। त्यहाँ काम गर्दा सुरूमा मासिक ४ हजार युरोसम्म कमाइ हुन्थ्यो। उनले कमाइको केही हिस्सा घुमघाममा खर्च गरे।
'मलाई घुम्न एकदमै मनपर्छ। बिदा हुँदा विभिन्न देश घुम्छु,' उनले सुनाए, 'अहिलेसम्म २७ वटा देश घुमिसकेँ।'
सो कम्पनीमा गौरवले एक वर्ष काम गरे। त्यही अवधिमा उनको पढाइ पनि पूरा भयो। त्यसपछि उनले इयू ब्लू कार्ड पनि पाए। यो कार्ड उच्च दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने गैर–इयू नागरिकलाई जर्मनीमा बस्न र काम गर्न दिइने अनुमति हो।
ब्लू कार्ड पाएपछि उनले जर्मनीमै आफ्नो पेसागत यात्रा अघि बढाए।
पढाइ पूरा गरेपछि उनलाई एक अमेरिकी कम्पनीबाट कामको अवसर आयो। त्यहाँ उनले डेटा साइन्टिस्टका रूपमा एक वर्ष काम गरे।
त्यसपछि फ्रयांकफर्ट आएर अहिले कार्यरत कम्पनीमा जोडिएका हुन्।
'विदेशमा हासिल गरेको अनुभव कसरी नेपालमा प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि सोचिरहेको छु,' गौरवले भने।