काठमाडौं उपत्यकाको वर्षौं पुरानो र जटिल बञ्चरेडाँडा फोहोर व्यवस्थापनको छलफल गर्ने क्रममा सांसद र मेयरबीच चर्काचर्की भएको छ।
शुक्रबार सहरी विकास मन्त्रालयमा उपत्यकाका स्थानीय प्रमुख, प्रभावित क्षेत्रका प्रतिनिधि र स्थानीयसहित छलफल कार्यक्रममा सांसद र मेयरबीच चर्काचर्की भएको हो।
छलफलमा सांसद आशिका तामाङ मेयरहरूसँग चर्काचर्की हुँदाहुँदै रिसाएर झोला बोकेर निस्किएकी हुन्।
उनी भनाभन हुने क्रममा निस्किएर हिँडेको भिडिओ सामाजिक सञ्जालमा आएसँगै घटना के भएको थियो? त्यस्तो स्थिति कसरी सिर्जना भयो? भनेर हामीले सांसद र मेयरसँग कुराकानी गरेका छौं।
आशिका धादिङ क्षेत्र-१ बाट जितेर सांसद बनेकी हुन्। बञ्चरेडाँडा उनकै क्षेत्रमा पर्छ। केही दिनअघि उनी स्थानीयहरूको कुरा सुन्न बञ्चरेडाँडा पुगेकी थिइन्।
उनका अनुसार त्यहाँका स्थानीयको समस्याहरूबारे छलफल गर्न मन्त्रालयसँग समन्वय गरेर आज छलफल डाकिएको थियो।
'त्यहाँ स्थानीयहरूको घरमा एक पाउ भन्दा ठूला झिँगाहरू देखिन्छन्। फोहोरको दुर्गन्धले नाक थुनेर बस्नुपर्ने अवस्था छ,' उनले भनिन्, 'त्यही फोहोर व्यवस्थापन गर्न आज उपत्यकाका सबै स्थानीय तहका प्रमुखसँग विस्तृत छलफल गर्ने योजना थियो।'
उपत्यकाका सबै स्थानीय तहका प्रमुखहरूलाई बोलाइएको थियो। तर सबै आएनन्। काठमाडौं, ललितपुर, टोखा लगायतका ८/९ जना मेयरहरूमात्र उपस्थित थिए।
सांसद तामाङका अनुसार कार्यक्रम सुरू भएसँगै एक जना मेयरले आफ्ना कुरा राखेर निस्किए। त्यसपछि पुन: अर्को मेयर पनि आफ्ना कुराहरू राखेर निस्किन थाले।
'यति महत्वपूर्ण छलफल निश्कर्षमा नपुग्दै उठेर हिँड्न थालेपछि त्यस्तो नगर्न आग्रह गरेकी हुँ,' उनले भनिन्, 'बञ्चरे डाँडाको स्थानीयहरूको स्वास्थ्य अवस्था गम्भीर छ। यसमा समय दिएर कुराकानी गरूम्। म पनि आज महत्वपूर्ण कार्यक्रम छोडेर आएको छु भनेकी हुँ।'
उनले थपिन्- 'मेरो स्वर नै यस्तो छ। सामान्य बोल्दा पनि चर्किएको जस्तो देखिन्छ। त्यही विषयलाई लिएर चर्काचर्की भयो।'
मन्त्रालय र काठमाडौं महानगरपालिहरूले सम्झौता भएको लामो समय भइसक्दा पनि कार्यान्वयन नभएको र यसरी छलफलमा पनि निश्कर्षमा पुग्न नपाइ हिँड्ने हो भनेपछि थप भनाभन भएको उनी बताउँछिन्।
उनका अनुसार २०७९ सालमा मन्त्रालय र काठमाडौं महानगरपालिकासँग भएका सम्झौताहरू थिए। ती अझै कार्यान्वयन भएका छैनन्। फोहोरको सेग्रिगेसन (वर्गीकरण) नगर्ने, दुर्गन्धित लिचेटलाई ट्रिटमेन्ट वा फिल्टर नगरी सिधै खोलामा मिसाउने र बाटो घाटोका पूर्वाधार नबनाउने परिपाटीले बञ्चरेडाँडा तथा प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य र जनजीवन भयावह बनेको छ।
यी कुराहरू राख्ने क्रममा मेयरहरूसँग भनाभन भएपछि आफू त्यहाँबाट निस्किएर हिँडेको उनी बताउँछिन्। उनले आफू ‘भुइँमान्छे’ र प्रभावित जनताको मुद्दा उठाउन सधैं अग्रसर रहने र कसैको दबाब वा हेपाइ नसहने स्पष्ट पारेकी छन्।
साथै, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनका अनुसार सहरी विकास मन्त्रालयले बञ्चरेडाँडाको विषयमा छलफल गर्न बैठक बोलाइएको थियो।
'काठमाडौं उपत्यका मेयर फोरमको अध्यक्षको हैसियतले म पनि थिएँ, साथसाथै ८/९ जना मेयरसाप हुनुहुन्थ्यो,' मेयर महर्जनले भने, 'म बोलिरहँदा सांसद आशिका तामाङ बीचमा बोलेपछि अन्य मेयरहरूले बीचमा किन बोलेको भन्दै विरोध गरेका थिए। त्यसपछि अन्य मेयरहरूसँग भनाभन भएपछि बैठक छोडेर हिँड्नुभयो।'
उनले थपे- 'उहाँसँग भेट पनि भएको थिएन। आज पहिलो पटक कार्यक्रममा प्रत्यक्ष रूपमा देखिएको थियो। तर प्रस्तुति एकदम आक्रमक स्वभावको लाग्यो।'
बञ्चरेडाँडाको फोहोरको समस्या छिटोभन्दा छिटो समाधान होस् भन्ने आफूहरूको पनि चाहना भएको उनले बताए।
'माहोल बिग्रिएकाले बिनानिश्कर्ष नै छलफल सकिएको छ,' उनले भने।