नेकपा (एमाले) बागमतीले मंसिरमा चुनाव भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ।
बागमती प्रदेशको जारी अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मंसिर महिना निर्वाचनका लागि प्रतिकूल मौसम भएको निष्कर्ष निकालिएको छ।
‘हाम्रा मतदाता किसान, मजदुर र न्यून आय भएका व्यक्तिहरू निर्णायक हुन्। मंसिर महिना अत्यधिक काममा व्यस्त रहनु, उनीहरूसँगको भेटघाट र अन्तरक्रियाका लागि समय पर्याप्त भएन। उनीहरू पनि परिचालित हुन सकेन,’ राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा उल्लेख छ। त्यस्ता मतदातालाई मतदानकै दिन मतदान स्थलसम्म पुर्याउन नसक्दा भोट कम आएको विश्लेषण गरिएको छ।
‘यो यस निर्वाचनका लागि मात्र होइन आगामी निर्वाचनका लागि पनि ध्यान दिनुपर्ने विषय हो,’ एमाले बागमती प्रदेशको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै एमाले बागमतीले उम्मेदवारहरूका बीचमा एकले अर्कालाई हराउन शंकाले पनि सहकार्यको भावना नभएको र त्यसको सोझो असर परिणाममा परेको प्रतिवेदनमा उल्लेख छ।
‘स्थानीय निर्वाचनमा होस् या संघ र प्रदेशको निर्वाचनमा आफ्नै उम्मेदवारबीच शंकाको स्थिति कायम रह्यो। शंकाको स्थिति दुई प्रदेश र एक संघ रहेको निर्वाचन क्षेत्रमा प्रचारमा सधैँ सँगै रहने अवस्था रहँदैनथ्यो,’ प्रतिवेदनमा उल्लेख छ।
गोपनीयता कायम हुन नसक्दा पनि निर्वाचन परिणाममा एमाले कमजोर हुन पुगेको बागमती प्रदेशको विश्लेषण छ।
‘हामीले बनाएका सबै योजना बाहिरिने अवस्थामा हामी पुग्यौं। यहाँसम्म कि, दुई जनाबीच मात्र भएको छलफल पनि बाहिर पुग्ने अवस्था थियो। प्रतिस्पर्धीहरूले सबै गोप्य जानकारी पाउने तर उनीहरूको बारेमा हामी बेखबर रहने अवस्था बन्यो,’ प्रतिवेदनमा भनिएको छ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा एमालेले बागमती प्रदेशमा प्रत्यक्षतर्फ २० सिट जितेको थियो। त्यस्तै प्रदेश सभामा ६६ सिटमा ४२ स्थान जितेको थियो। २०७९ सालमा खुम्चिएर प्रतिनिधि सभामा ४ र प्रदेश सभामा १३ स्थानमात्रै जित्यो। नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा ७ स्थान जितेको थियो।
एमाले बागमतीको राजनीतिक प्रतिवेदनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सिट संख्याको हिसाबले एमाले दोस्रो भएको बताइएको छ। लोप्रिय मतको आधारमा एमाले पहिलो पार्टी भएको बताइएको छ।
‘२०७४ को समानुपातिक मत परिणामको तुलनामा २०७९ मा प्रमुख तीन पार्टीको मत घटेको र राप्रपाको मत झन्डै ५ गुणा बढेको देखिन्छ। यसको कारण खोज्नु जरूरी छ। २०७४ मा एमालेले प्राप्त गरेको मत र २०७९ मा एमाले र एस पार्टीले प्राप्त गरेको मत जोड्दा पनि करिब दुई हजार मात्र फरक देखिन्छ। यसले एमालेप्रतिको आकर्षण विभाजनका भ्रमका कारणले मात्र घट्न गएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ।
एमाले बागमतीले एकीकृत समाजवादी पार्टी आफैंमा शक्ति केन्द्र नबन्ने मात्र होइन अर्को चुनावसम्म पार्टी नै नरहने दाबी गरिएको छ।
‘बागमती प्रदेशमा उपत्यकाबाहेकको क्षेत्रमा नेकपा (माओवादी केन्द्र) को अझै पनि मजबुत उपस्थिति छ। हाम्रो ध्यान त्यस शक्तिलाई हामीतिर आकर्षित गर्न केन्द्रित गर्न जरूरी छ,’ एमाले बागमतीको विश्लेषण छ।