नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले मूलधारका राजनीतिक दलले इतिहासका विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन र समाज परिवर्तनमा खेलेको भूमिकालाई अवमूल्यन गर्ने प्रवृत्ति हाबी हुन खोजेको बताएका छन्।
पुनले नेपाली इतिहास बिर्सिएर केही शक्ति र मानिसहरूले मूलधारका राजनीतिक दलहरूप्रति समाजमा गलत भाष्य निर्माण गर्न खोजेको बताए। राजनीतिक दल र नेताहरूप्रति उठेका प्रश्नको सबैले जवाफ दिर्नैपर्ने भए पनि कतिपय प्रश्न नियोजित रहेको उनको भनाइ थियो।
उनले पञ्चायतकालमा भन्दा बहुदलीय व्यवस्थामा र बहुदलीय व्यवस्थामा भन्दा आफूहरूको नेतृत्वमा भएको सशस्त्र युद्ध र ०६२/०६३ को जनक्रान्तिपछि मुलुकमा भएको विकासका फेहरिस्त प्रस्तुत गरे।
'मुख्य राजनीतिक शक्तिहरूका बारेमा प्रश्नहरू छन्। ती प्रश्नको एकएक जवाफ दिनुपर्छ। पुराना दल असान्दर्भिक भए, विकल्प खोज्नुपर्छ भन्ने भाष्य निर्माण गर्न खोजिएको छ,' एक सय ५४ औं गान्धी जयन्ती तथा विश्व शान्ति दिवसका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले सोमबार राजधानी काठमाडौंमा गरेको कार्यक्रममा पुनले भने, 'कतिपय नियोजित प्रश्न छन्। इतिहास र आजको यथार्थता बिर्सिएर मूलधारका रानजीतिक दलप्रति अनावश्यक लाञ्छना लगाइएका छन्।'
पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले पञ्चायतको सामयभन्दा ०४६ र ०६३ पछिका विकासमा तथ्यांकले नै देशमा सडक सञ्जालको निर्माण, विद्युतीयकरण, भौतिक पूर्वाधारको विकास, साक्षरता र उच्च शिक्षाको दर हेर्दा नेपाल तीव्र विकासको चरणमा रहेको स्पष्ट हुने दाबी गरे। यद्यपि आजको विश्वको तुलनामा केही अपर्याप्ता रहेको स्वीकार उनले गरे।
पुनले नेपालमा ००७ सालमा कांग्रेस, ०२८ सालमा एमाले र ०५२ मा आफ्नो पार्टीले संघर्षको बाध्यात्मक विधिका रूपमा हिंसाको प्रयोग गरेको भन्दै नेपाली समाजको मूल चरित्र शान्तिपूर्ण, अहिंसात्मक र मेलमिलाप रहेको बताए।
'२००७ सालमा संघर्ष गरेको पुस्ता सायद आज छैन। ०२८, ०३६, ४६ र हाम्रो पार्टीको नेतृत्वमा भएको सशस्त्र संघर्ष हाम्रो सामु छ। यो नेपाली समाज रूपान्तरणको मौलिकता हो,' उनले भने, 'राजनीतिक संघर्षका क्रममा बाध्यात्मक विकल्पका रूपमा हिंसाको प्रयोग भएको इतिहास हाम्रो अगाडि साक्षी छ। आजका मुख्य दलहरूका आ–आफ्ना पृष्ठभूमि हेर्दा हामी त्यो पाउँछौं। विश्वको अनुभव र हाम्रो आफ्नै देशको हेर्दा पनि हामी आपसी मेलमिलाप, सहकार्य र शान्तिमा र आपसी सदभावमा टेकेर अगाडि बढेका छौं।'
पुनले शान्ति र प्रतिस्पर्धाको राजनीतिक धार आजको यथार्यता भएको बताए। आपसी प्रतिस्पर्धामार्फत राष्ट्रिय शक्ति निर्माण हुने उनको भनाइ थियो। शान्ति प्रक्रियाका अधिकांश काम सकिए पनि संक्रमणकालीन न्यायसम्बन्धी काममा सबै दल एकै ठाउँ उभिनुको विकल्प नरहेको पनि उनले बताए।
दलीय व्यवस्थामा कहिले सरकार र कहिले प्रतिपक्षमा रहनुलाई सामान्य रूपमा बुझ्नुपर्ने भन्दै उनले संक्रमणकालीन न्यायको राष्ट्रिय कार्यभारप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गरे।
'राजनीतिक दलहरूबीच कहिले सहकार्य र कहिले प्रतिस्पर्धा हुनु स्वाभाविक हो,' उनले भने, 'राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई हामी सबै मिलेर न्याय दिने र समाजमा सत्य स्थापित गर्नुपर्ने भन्नेमा सायद कसैको दुई मत हुन सक्दैन।'
मुलुकको शान्ति, स्थायित्व, विकास, सुशासन र आपसी सदभावका लागि दलहरू मात्र नभई सबै राष्ट्रिय शक्तिबीच सहकार्य हुनुपर्नेमा पुनले जोड दिए।
पुनले मूलधारका राजनीतिक दलहरूमध्ये २००७ सालपछि कांग्रेसको एउटा पक्षको वरपर शासक वर्गको उदय भएको भन्ने आरोपको सबै दलले व्यवहारबाटै जवाफ दिनुपर्ने उल्लेख गरे।
‘सात सालपछि कांग्रेसको एउटा पक्षको वरपर शासक वर्ग जन्मियो। ०४६ को परिवर्तनले एमाले वरिपर अर्को शासन वर्ष जन्मायो र २०६३ को शान्ति प्रक्रियापछि माओवादीभित्र एउटा शासक वर्ग जन्मायो। के यही हो राजनीतिक परिवर्तन भन्ने प्रश्न उठ्ने गरेको छ,' उनले भने, 'राजनीतिक दल र नेताहरूले यो प्रश्न पन्छाउने होइन। सकारात्मक जवाफ दिनुपर्छ।'
उनले मुलुकको विदेश नीति, शिक्षा नीति, विकास नीति र संस्कृतिसम्बन्धी नीतिमा सबै दलबीच साझा धारणा हुनुपर्ने बताए।
पछिल्लो समय मुलुकमा धार्मिक र सामाजिक सदभाव भड्काउने खालका गतिविधि भइरहेको भन्दै उनले त्यसमा सरकार र राजनीतिक दल चनाखो हुनुपर्ने बताए।
नेपालमा सामाजिक, जातीय, भाषिक, धार्मिक र सांस्कृतिक बहुलता रहेको भन्दै पुनले त्यसलाई साझा विशेषता र पुँजीका रुपमा स्वीकार गर्नुपर्ने बताए।