सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले देशभरि जागरण अभियान सुरू गरेको छ।
झापाको काँकडभिट्टाबाट असोज १४ गतेदेखि अभियान सुरू भएको हो।
आज चौथो दिन अभियान महोत्तरी आइपुगेको छ। २९ गते सुर्खेत पुगेर अभियान सकिने एकीकृत समाजवादीले बताएको छ।
एक हजार किलोमिटर लामो अभियानका क्रममा ७५ वटा साना-ठूला सभा हुने र अधिकांश सभामा शीर्ष नेताहरूले नै सम्बोधन गर्ने छन्।
व्यवस्था फेरिए पनि मुलुकको अवस्था ज्युँका त्युँ रहेकाले जागरण अभियान चलाउनु परेको पार्टीका महासचिव घनश्याम भूसालले जानकारी दिए।
‘हामीले व्यापक रोजगारी सिर्जना गर्नुपर्ने छ। देशभित्र रोजगारी र अवसरको सिर्जना नगर्दासम्म मुलुकमा बस्ने वातावरण हुँदैन,’ महासचिव भूसालले सेतोपाटीसँग भने, ‘अभियानमा हिँड्नुअघि पनि हामीले रोजगारी सिर्जना र सुशासन कायम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं।’
सधैं श्रम गरेर पनि सामान्य जीवन बाँच्ने अवस्थासमेत किन हराउँदै गएको भूसालले बताए।
जुनसुकै बीउ जहाँ छरे पनि उम्रने मुलुकमा कृषिमा आश्रित ५१ प्रतिशत जनताको जीवन किन झन्-झन् सङ्कटपूर्ण हुँदैछ? आफ्नै मुलुकमा रोजगारी नपाएर किन वर्षेनी आठ लाख युवाले मुलुक छाडिरहेका छन्? किन उद्योगी/उद्यमी तथा व्यवसायीले खुट्टै टेक्न नपाउँदै धर्मराउँछन्? किन उद्यम गर्ने बर्बाद हुन्छ र उद्यम नगर्ने रातारात अर्बपति/खर्बपति हुन्छ? हामीले उद्योग/व्यवसायको संरक्षण किन गर्न सकेनौं? राज्यका प्रमुख निकायहरूले नागरिकहरूमा किन सेवा प्रवाह गर्न सकेका छैनन् वा किन सबैतिर दलालीले संस्थागत रूप लिँदैछ? यी आदि यावत् प्रश्नको समाधान खोज्न मेची-महाकाली यात्रामा निस्किएको भूसालले बताए।
उत्पादक पुँजी तथा रोजगारीको विकास नगरिकन समृद्धि हासिल गर्न नसकिने हुनाले देशभित्र क्रियाशील राजनीतिक दलहरू यतातिर दत्तचित्त हुनुपर्ने भूसालको भनाइ छ।
‘१० वर्षमा श्रम गर्न सक्ने सबै नेपालीलाई कसरी रोजगारी दिन सकिन्छ र समृद्धि र समाजवादको पहिलो आधार तयार गर्न सकिन्छ भन्नेबारे हामीले आफ्नो सोच तयार पारेका छौं,’ भूसालले भने, ‘यसका लागि बलियो पार्टी निर्माण गर्नुपर्ने हुन्छ। बलियो पार्टी बने आगामी १० वर्षभित्र यो लक्ष्य पूरा गर्छौं।’
एकीकृत समाजवादीले आगामी ५-६ वर्षभित्र नयाँ कृषि व्यवस्था निर्माण गर्नुपर्ने बताएको छ। कृषि क्षेत्रमा यान्त्रिकीकरण र आधुनिकीकरण नगरी आत्मनिर्भर हुन नसकिने उसको ठहर छ।
‘त्यसका लागि कृषि बीउ, पानी, मल, बिजुली आदिमा पर्याप्त अनुदान, सस्तो कृषि ऋण, सबैलाई प्राविधिक सेवा, प्रभावकारी बीमा, कृषकलाई केही बचत हुने गरी समर्थन मूल्य तोक्ने र उत्पादित बाली-वस्तु बिक्रीको व्यवस्था गर्नुपर्छ। साथै, प्रदेश तथा स्थानीय तहको नेतृत्वलाई बलियो बनाउँदै कृषि सहकारी तथा समूहमार्फत् सम्पूर्ण सेवाहरू उपलब्ध गराउँदा ५/६ वर्षमा नयाँ कृषि व्यवस्था बन्ने छ,’ एकीकृत समाजवादीको दृष्टिकोण रहेको छ।
यसका अतिरिक्र बाँझो र वन नभएको वन क्षेत्रमा फलफूल र जडीबुटीको खेतीलाई योजनाबद्ध रूपले विकास गर्दा कृषिमा आश्रित ५१ प्रतिशत जनताको बेरोजगारी, अर्ध/अल्प बेरोजगारी समस्या समाधान गर्ने एकीकृत समाजवादीले बताएको छ।
लगानीलाई रोजगारी र उत्पादनसँग जोड्नुपर्ने पार्टीको बुझाइ छ।
‘विप्रेषण र गैरआवासीय नेपालीको पुँजीलाई राष्ट्रिय पुँजी निर्माणको महत्त्वपूर्ण स्रोतका रूपमा परिचालित गर्दै, तीनखम्बे अर्थतन्त्रलाई बलियो बनाउँदै र औद्योगिक रोजगारीको सिर्जना गर्दै १० वर्षमा औद्योगीकरणको पहिलो चरण पूरा गर्न गर्न सकिने छ,’ एकीकृत समाजवादीले भनेको छ।
आगामी १० वर्षमा कृषियोग्य सबै भूमिमा सिँचाइका लागि पूर्व-पश्चिम नहर, उद्योग, यातायात र सबै चुलोलाई विद्युतीकरण गर्न सकिने गरी ऊर्जाको विकास गर्नुपर्ने समाजवादीले बताएको छ।
पूर्व-पश्चिम रेल तथा सडक, दुबै छिमेकीबाट पाउनुपर्ने पारवहन सुविधाका लागि आवश्यक सडक तथा रेल यातायात निर्माण गर्नुपर्ने समाजवादीको दृष्टिकोण छ।
‘कृषि, उद्योग तथा पर्यटनका उत्तर-दक्षिण सडक सञ्जाल, सबै नागरिकलाई स्वच्छ खानेपानी, सबैका लागि टेलिफोन तथा इन्टरनेट सेवा हाम्रो प्राथमिकता हुनुपर्छ। पूर्वाधारको विकास गर्दा वातावरण तथा पर्यावरणको रक्षा तथा विकासलाई विशेष ध्यान दिइने छ,’ समाजवादीले आफ्नो योजना सुनाउँदै भनेको छ, ‘योजनाबद्ध पूर्वाधार विकासले लामो समयसम्म रोजगारी सिर्जना गरिरहने छ।’
सार्वजनिक शिक्षाको अवस्था निराशाजनक रहेको एकीकृत समाजवादीले बताएको छ।
अहिले राज्यको क्षमतालाई हेर्दा सबै नागरिकलाई निःशुल्क र गुणस्तरीय शिक्षाको प्रबन्ध हुन नसके पनि सार्वजनिक शिक्षाको जिम्मा राज्यले लिनै पर्ने उसको दृष्टिकोण छ।
‘त्यसका लागि आगामी १० वर्षमा आधारभूत तहदेखि उच्च तहसम्मको सार्वजनिक शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाएर गुणस्तरका हिसाबले निजी र सार्वजनिक शिक्षाको भिन्नता अन्त्य गर्नुपर्छ। सबै सार्वजनिक शिक्षण संस्थामा आधुनिक सूचना-प्रविधि पुर्याउनुपर्छ,’ एकीकृत समाजवादीले भनेको छ।
एकीकृत समाजवादीले सार्वजनिक स्वास्थ्य सेवासुविधाको जिम्मा राज्यले लिनुपर्ने बताएको छ।
‘आधारभूत स्वास्थ्य सेवामा समेत अत्यधिक बजारीकरणले गर्दा गरिब तथा विपन्न जनताको ठूलो हिस्सा अत्यावश्यक स्वास्थ्य सेवाबाट समेत बञ्चित छ। स्वास्थ्य सेवाका संरचनाको विस्तार भएर पनि जनशक्ति र औषधि तथा स्वास्थ्य सेवाका अन्य उपकरणको अभाव छ। राज्यले ध्यान दिँदा ५ वर्षभित्रै आपतकालीन शल्यक्रिया, विषपान, सडक दुर्घटनाको व्यवस्थापन गर्न सकिने जनशक्ति र आपूर्ति भएको आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमा नै व्यवस्था गर्न सकिन्छ,’ एकीकृत समाजवादीले भनेको छ।
एकीकृत समाजवादीले अहिले राज्यका सबैजसो निकाय, सरकारी प्रशासन र न्यायिक क्षेत्रमा भ्रष्टाचार र ढिलासुस्ती व्याप्त रहेको बताएको छ। राज्यका कैयन् निकायहरू अनावश्यक रहेको उसको निष्कर्षसमेत छ।
‘निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारलाई प्रोत्साहित गर्ने खालको छ, संघीय, प्रादेशिक र स्थानीय सरकारले आवश्यक सेवा प्रवाह गरेका छैनन्, सार्वजनिक तथा सामाजिक संघ/संस्थाहरूमा समेत दलालतन्त्र हाबी हुँदैछ,’ एकीकृत समाजवादीले निष्कर्ष प्रस्तुत गर्दै भनेको छ।
राजनीतिक पार्टीहरूको संरचना र कार्यप्रणालीले नै भ्रष्टाचारलाई निरूत्साहित र दण्डित गर्ने खालको हुनुपर्ने एकीकृत समाजवादीले बताएको छ।
‘भ्रष्टाचार पार्टीका नेताबाट गुटमा, गुटबाट पार्टीमा, पार्टीबाट संसद्मा र संसद्बाट सरकार र न्यायलयमा सर्दै जान्छ। यसरी राज्यले पार्टीलाई र पार्टीले राज्यलाई भ्रष्ट बनाउने दलाल पुँजीवादी दुश्चक्र बन्न जान्छ। नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तहदेखि नै भ्रष्टाचारविरूद्ध अभियान चलाउँदै आजको राजनीतिलाई सुशासनयुक्त बनाउन आवश्यक कानूनी प्रबन्धका लागि पहलकदमी लिनेछ,’ महासचिव भूसालले भने।
एकीकृत समाजवादीले अहिलेको विश्व राजनीतिमा अन्तरविरोध देखा परेको बताउँदै विदेश नीतिमा हामीले विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याएको छ। सन् १९५० लगायत असमान सन्धि–सम्झौताहरू खारेजी, कालापानी–लिपुलेकसमेत मिचिएको भूमि फिर्ता गरेर देशको सिमानाको रक्षा गर्न पनि अभियानको जरूरत परेको उसले बताएको छ।
बेला–बेलामा सरकारका निर्णयले असंलग्नताका सिद्धान्तको उल्लङ्घन गर्ने गरेको हुँदा असंलग्न सिद्धान्तका आधारमा कानून बनाएर राज्यलाई निर्देशित गर्नुपर्ने पनि एकीकृत समाजवादीले बताएको छ।
यसका लागि बलियो पार्टीको निर्माण गर्दै, समाजवादी कार्यदिशा भएका अन्य राजनीतिक शक्तिसँग संयुक्त मोर्चा बनाएर मुलुकलाई नयाँ वाम विकल्प दिनुपर्ने एकीकृत समाजवादीको निष्कर्ष छ।