हुम्ला हिमताल विस्फोटबारे अध्ययन गर्न गएको टोलीले शुक्रबार प्रतिवेदन बुझाएको छ।
गत जेठ १ गते उत्तरी हुम्लाको तिल्जुङ खोलामा भेलबाढी आएको थियो।
त्यसबारे अध्ययन गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुशीलकुमार श्रेष्ठसहितको टोली गएको थियो।
उक्त टोलीमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् शिव बाँस्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी थिए।
उनीहरूले शुक्रबार प्रतिवेदन बुझाएको टोलीका सदस्य बाँस्कोटाले बताए। यसअघि नै प्रतिवेदन तयार भए पनि आजमात्रै प्राधिकरणलाई बुझाइएको उनले बताए।
तीन सदस्यीय स्थलगत अध्ययन टोलीले घटनाको प्रमुख कारणको रूपमा भूमिगत बरफ पग्लिन गई बनेको सानो ओढारजस्तो संरचनाले तालतर्फ निरन्तर रूपमा क्षयीकरण गरेको निष्कर्ष निकालेको छ।
यसरी क्षयीकरण गर्दा एक्कासि तालको पानी हिमोढको भित्री भाग हुँदै बाहिरिनु (सबसर्फेस सिपेज)लाई पहिचान गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, खानी तथा भूगर्भ विभागर जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि रहेको यस टोलीद्वारा सम्पन्न संयुक्त अध्ययनले घटनाको प्रमुख कारणको रूपमा भूमिगत बरफ पग्लिन गई बनेको सानो ओडारजस्तो संरचनाले तालतर्फ निरन्तर रूपमा क्षयीकरण गरी एक्कासि तालको पानी हिमोढको भित्री भाग हुँदै बाहिरिनु (सबसर्फेस सिपेज) लाई पहिचान गरेको छ,’ प्रतिवेदनको सारांशमा भनिएको छ।
अध्ययन टोलीले तत्कालै पहिलेजस्तै भेलपहिरो आई क्षति पुर्याउने सम्भावना कम रहेको औंल्याएको छ।
तथापि हिउँद महिनामा हुने हिमपात र तापक्रम घट्ने क्रममा तालहरू पुनर्भरण हुनसक्ने जोखिम अध्ययन टोलीले औंल्याएको छ। र, गर्मी महिनामा पुनः हालको जस्तै घटना दोहोरिने सम्भावना रहेको पनि उल्लेख गरिएको छ।
‘अध्ययनले जलवायु परिवर्तनजन्य प्रभाव विशेष गरी हिमनदी खुम्चिनु, पर्माफ्रस्ट पग्लिनु र तालहरूको अस्थिरताका कारण यस्ता घटनाहरूको पुनरावृत्तिको जोखिम उच्च रहेकोसमेत अध्ययनको निष्कर्ष रहेको छ। वैज्ञानिक रूपमा जोखिम मूल्यांकन, हिमतालहरूको निरन्तर निगरानी, प्रारम्भिक चेतावनी प्रणाली, र भौगोलिक रूपमा संवेदनशील क्षेत्रहरूको व्यवस्थापन अपरिहार्य रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ,’ प्रतिवेदनमा उल्लेख छ।
गत जेठ १ गते रातको करिब १०ः३० बजे नाम्खा गाउँपालिका–६, हुम्ला जिल्लास्थित लिमी उपत्यकाको तिल्जुङ खोलामा आकस्मिक भेलपहिरो (डेब्रिस फ्लो) आएको थियो।
उक्त बाढीले तिलगाउँ वरपरका महत्त्वपूर्ण संरचनामा उल्लेखनीय क्षति पुर्याएको थियो।
प्रारम्भिक आकलन अनुसार करिब ५ हजार ३५० मिटर उचाइमा रहेका दुई ग्लेसियल (हिम) तालहरूबाट पानी निस्किएको थियो।
हिमोढ (मोरेन) को भित्री भागबाट अचानक तालको पानी निष्काशित हुन गई उच्च ऊर्जायुक्त प्रवाह उत्पन्न भएको र तलतिरको खोलाको किनारमा कटान गरेको अध्ययन टोलीले बताएको छ।
यस हिमबाढीले सिर्जित गेग्रान (ग्लेसियल टिल), ट्यालस, र माटो बगाउँदै भेलबाढी (डेब्रिस फ्लो) उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ।
भेलबाढीले निर्माणाधीन १५ किलोवाटको साना जलविद्युत आयोजना, गाउँको खानेपानी प्रणाली, परम्परागत पानी घट्ट, खेतीयोग्य क्षेत्र, सिञ्चाई कुलोहरू र लिमीखोलाको मोटरेबल काठको पुलमा प्रत्यक्ष क्षति पुगेको थियो।
उक्त बाढीका कारण ३२ स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा स्थानान्तरित भएका छन्।
नदी किनारको कटानका कारण एउटा खानेपानीको धारा, तीन वटा घरहरू, एउटा गोठमा सामान्य क्षति पुगेको थियो। किनाराको बस्ती अझै पनि जोखिममा छन्।
हुम्ला हिमताल विस्फोटबारे सरकारी अध्ययन टोलीले छोटो समयमा यो प्रतिवेदन तयार पारेको हो।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले हुम्ला हिमतालको पानी चुहावटबारे अध्ययन गरिरहेको छ।
भेलबाढीलगत्तै स्थानीयवासीले खिचेर ल्याएको तालको फोटो र त्यस वरपरको अवस्थितिलाई हेरेर इसिमोडले थर्मोकार्स्ट हुनसक्ने बताएको थियो।
अहिले इसिमोडको टोली ताल भएकै स्थल पुगेर थप अध्ययन गरेको छ।
यो पनि:
इसिमोडले भन्यो– तिलगाउँमा आएको बाढीको कारण 'थर्मोकार्स्ट'
हुम्लाको हिमताल 'विस्फोट' मा मैले जे देखेँ
हुम्ला तिलगाउँका स्थानीय फुटेको हिमतालको फोटो खिचेर फर्के, सरकार बल्ल गर्दैछ अध्ययन