हुम्लाको लिमी उपत्यका आकर्षक र रमाइलो छ। हिमाली भेग भएकाले विशेष सौन्दर्य हुने नै भयो। साथै भौगोलिक रूपमा विकट पनि छ। त्यही उपत्यकाअन्तर्गत तिलगाउँमा गत जेठ १ गते ठूलो भेलबाढी (गेग्रान बहाव) आएको थाहा पायौं।
यसको कारण पत्ता लगाउन हामी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा हामी तीन जना काठमाडौंबाट प्रस्थान गर्यौं।
टोलीमा सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुशीलकुमार श्रेष्ठ र जल तथा मौसम विज्ञान विभागमा हाइड्रोलिस्ट सौहाद्र जोशी हुनुहुन्थ्यो।
तिलगाउँ ३ हजार ९५० मिटरको उचाइमा छ। अग्लै ठाउँमा छ मानव बस्ती। त्यहाँ २१ घरधुरीजति रहेछन्। बाढीको दिन ३२ जनामात्रै त्यहाँ थिए। उनीहरू अहिले विस्थापित छन्।
त्यो गाउँको छेउबाट ठाडो खोल्सी बग्छ। स्थानीयहरू त्यस खोल्सीलाई तिल्चुङ खोला पनि भन्छन्।
तिलगाउँ भन्दामाथि खोला बग्ने क्षेत्र निकै भिरालो र झर्ना जस्तो प्रकृतिले बग्ने गर्छ।
गाउँभन्दा निकै माथिबाट खोल्सी बग्ने गर्छ। खोलाको पनि शिर क्षेत्रबाटै भेलबाढी उत्पत्ति भएकाले हामी माथिल्लो जलाधार क्षेत्रतिरै लाग्यौं।
५ हजार ३५० र पाँच हजार ४०० मिटर उचाइको बीचमा तीनवटा स–साना ताल देखिए। यी तालहरू चट्टानीय हिमनदी (रक ग्लेसियर) को मोरेनभन्दा माथितिर बनेका स साना पोखरी वा हिमखाडल (टार्न) हुनसक्छन्।
सामान्यतया तिनीहरू हिमपोखरी नै थिए भन्न सकिन्छ। तीनवटामध्ये एउटा पोखरी मात्रै सद्दे थियो। दुइटा पोखरीको ड्रेन भएर (चुहिएर) पानी बाहिर निकास भएको देखियो। पोखरी पिँध वा बीच भागबाट तालको पानीको निकास भएकोले पोखरीको सतहमा रहेका बरफहरूमा गोलाकार चिराहरू परेको देखियो।
त्यहाँ के देखियो भने ती दुई ताल एकैपटक चुहिएका हुन् र एकैपटक मात्रै चुहिएका हुन्। त्यहाँ ‘सिंगल इभेन्ट’ नै देखिन्छ। तालको पानी दोहोरिएर चुहिएका छैनन्।
त्यसकारण त्यस भेगमा एक पटक मात्रै बाढी आएको छ। उक्त बाढी पानी परेको बेलामा पनि आएको छैन।
ती दुई ताल एकैपटक चुहिए, यसको अर्थ दुवै ताल एक आपसमा जोडिएका रहेछन्, त्यसैले एकै ठाउँबाट चुहिए। र, नालाजस्तो बनेर पानी निकास भयो।
सामान्यतया हिमताल विस्फोटन हुने भनेको त्यस तालको प्राकृतिक बाँध, जसलाई हामी मोरेन पनि भन्छौं, त्यो बाँध पहिरो गएर भत्कने हुन्छ। पोखरीमाथिको हिमोढ वा हिमढिस्को खसेर छचल्किएर बाहिर आउने हुन्छ। जुन हामीले सोलुखुम्बुको थामेमा पनि देख्यौं।
तर त्यहाँ यो अवस्था होइन।
यहाँ 'मोरेन' भत्किएको छैन। माथिल्लो सतहबाट ठूलो परिमाणमा हिउँ झरेको पनि छैन।
तर पनि ताल चुहिएको छ। त्यो पनि बीचको भागबाट।
दुवै ताल ठूला छैनन्, दुवै तालको परिधि ५० मिटर पनि छैन।
यहाँनेर सम्झनुपर्ने कुरा के छ भने त्यो तालबाट पानी पहिले पनि निकास हुन्थ्यो। अहिले पनि भइरहेको छ। तर जेठ १ गते ठूलो परिमाणमा निकास भयो, त्यसले तल्लो तटीय क्षेत्रमा भेलबाढीको रूप लियो।
जेठ एक गते कुनै विचलनको कारण तालको पिँधको पानी एक्कासि बाहिर निस्किएकै देखिन्छ। फरक किसिमको हिमताल विचलनको घटना देखिएकाले हिमतालसम्बन्धी अध्ययन गर्ने साथीहरू केही दिनमा त्यहाँ जानुहुन्छ। यसबारे विस्तृतमा अध्ययन गर्नुहुनेछ।
हाम्रो आँखाले हेर्दा के देखिन्छ भने उक्त हिम पोखरीभित्र पुराना बरफका ढिक्काहरू थिएहोलान्। बरफ पग्लँदै जाँदा भित्र भ्वाङ (क्याभिटी) बन्यो। जसरी केही दिनअघि हेटौंडा उपमहानगरपाकिलाको गैह्रीगाउँ क्षेत्रमा सिंकहोल देखिएको थियो र गाडी नै पस्ने अवस्था बनेको थियो। हिमताल वरपरको हिमोढ (पर्माफ्रस्ट) मुनि भ्वाङ पर्ने र माथितिर खोतलिने प्रक्रियालाई हेडवार्ड इरोजन पनि भन्न सकिन्छ। ती क्याभिटीहरूको माथिल्लोभागतर्फ निरन्तर क्षयीकरण हुँदै गई पोखरीको नजिकसम्म क्याभिटी फैलदै गई एक्कासि त्यहीँबाट पानी चुहिने अवस्था बनेजस्तो देखिन्छ।
जहाँबाट तालको पानी बाहिर निस्कियो, अहिले पनि निस्किएर बगिरहेकै छ, त्यहाँ सफा पानी बगेको छ। भेलबाढीको अघिपछि पनि त्यहाँ लेदो निस्किएको देखिँदैन।
तर एक्कासि पानीको बहाव बढ्दा भेलबाढीको रूप लिएको हो। त्यहाँको जमिनको झुकाव नै ६० डिग्रीभन्दा बढी छ। खोला छाँगोजसरी झरिरहेको छ।
ठूलो परिमाणमा तालको पानी बाहिर आउँदा खोल्साको छेउछाउको जमिन कटान भयो। कमलो र बुट्यानरहित ठाउँको माटो कटान हुँदा गेग्रान बहावको रूप लिएको हो।
१५ सय मिटरमाथिबाट सुरू भएको भेलबाढी बस्ती नजिक आइपुग्दा विध्वंशक बन्यो। त्यो भेलबाढीले गाउँको खेतीयोग्य जमिन कटान गरेको छ। केही घरमा क्षति पुगेको छ। गाउँको खानेपानीको इनटेक (बाँध) बगाएर लग्यो। दुइटा सिञ्चाइ कुलो र १५ किलोवाटको स्थानीय जलविद्युत आयोजना पनि बगाएर लग्यो।
यहाँनेर प्रश्न उठ्छ, तिलगाउँ क्षेत्र फेरि पनि हिमबाढीको जोखिममा छ त!
तत्काल हेर्दा ती दुईवटै तालहरूको पानी निकास भयो। उल्लेख्य मात्रामा। तालभित्र कति पानी छ भनेर अहिले हेर्न सकिने अवस्था छैन। माथिबाट त्यसलाई बरफले छपक्कै ढाकेको छ। त्यो बरफमा गोलाकार चिराहरूसमेत परेको छ। जसरी दूधको भाँडो चुहिँदा तर तल थिग्रिन्छ। ठीक त्यही प्रक्रियाले तालमा चिरा परेर फुटेको छ। त्यसैले तालको पानी घटेको स्पष्टै छ।
हामीले हेर्दा तालको सतह पाँच–छ मिटरसम्म घटेको पायौं। कथम्कदाचित त्यहाँबाट ठूलो पानीको निकास भइहाल्यो भने तिल्चुङ खोलाले ठूलो बाटो बनाएको छ। वरिपरि खोतलेको छ। पिँधको भाग गहिर्याएको छ।
त्यही 'च्यानल' पछ्याउँदा तत्कालै ठूलो क्षतिको सम्भावना छैन।
तर जसरी खोलाले वरिपरिको भाग कटान गर्दै बहाव क्षेत्र गहिरिएको छ, बस्तीकै छेउमा २० मिटर अग्लो ढिस्को बनेको छ। ठाडो भीरजस्तो बनेको भाग त्यसरी सधैंभरि रहनसक्दैन। बर्खामा झर्न सक्छ। सुख्खा पहिरो त अहिले पनि झरिरहेकै छ।
यसको रोकथाम सोच्नुपर्छ। तत्कालै तालको पानी पुनः आउने अवस्था भने छैन।
हिमाली भेगमा वर्षा र तापक्रम मापन केन्द्र छैन। जसका कारण तापक्रम बढेघटेको भन्न कठिन छ। जलवायु परिवर्तनको असर भन्न सकिन्छ। प्रमाणित गर्न गाह्रो छ।
अध्येताहरूले यसप्रकारको घटनालाई तिल्चुङको भेलबाढीको स्रोत ‘थर्मोकार्स्ट’ त भनेका छन्। सबै यही कारण नै हो भन्न नसकिए पनि ‘रिलेटिभ्ली’ मान्न सकिन्छ। तालको पानी चुहिएको प्रष्टै हो। तर तालको भित्री सतहका ठुल्ठूला बरफका ढिक्का नै पग्लिएको भनेर भन्न सकिने स्पष्ट आधार छैन। मोरेन, वरपरका हिमोढमा विचलन आएको नदेखिएकाले तालको पानी पाइपिङ भएर चुहिएकै निश्चित जस्तै छ। त्यसैले क्षति निम्तियो।
हामीले स्थलगतरूपमा अध्ययन गरेका विषय केही दिनमा प्रतिवेदन तयार पारेर बुझाउनेछौं।
(खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद शिव बाँस्कोटासँग सेतोपाटीका अक्षर काकाले गरेको कुराकानीमा आधारित)






