नेकपा (एमाले) ले नेशनल भोलेन्टियर फोर्सको नाममा आज नयाँ संगठन घोषणा गर्दैछ।
अध्यक्ष केपी शर्मा ओलीले बबरमहल हाइटमा रहेको कार्की बैंक्वेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेका हुन्।
एमालेकै कार्यक्रमलाई लिएर बारामा तनाब बढिरहेका बेला काठमाडौंमा स्वयम्सेवी भेलासहित मार्च पास गराउँदा सुरक्षा चुनौती थपिने हो कि भनेर स्थानीय प्रशासन चिन्तित छ।
एमालेको युवा संगठन राष्ट्रिय युवा संगठन छँदैछ। फेरि अर्को स्वयम्सेवी संस्था घोषणा गर्न लागेको छ। २०६५ सालमा युवा संघले गठन गरेको युथ फोर्सकै शैली अपनाउँदै नयाँ दस्ता सडकमा उतार्न लागे पनि सुरक्षा जोखिमबारे चासो हुनु स्वाभाविकै हो।
यसले आज सुरक्षा चुनौती थप्छ कि थप्दैन भनेर हामीले एमाले र जिल्ला प्रशासन काठमाडौंलाई पनि सोधेका छौं।
एमालेले कार्यदल नै बनाएर नेशनल भोलेन्टियर्स फोर्स गठनको तयारी थालेको थियो। एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल नेतृत्वको जनसंगठन समन्वय संयन्त्रले पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा कार्यदल बनाएको थियो।
उक्त कार्यदलमा अखिल पूर्वअध्यक्ष समिक बडाल, मीनबहादुर शाही, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डे, वचन देउजा, पुष्प श्रेष्ठ, महेश चौलागाईं, अमित पौडेल, निशा लिम्बू, अञ्जना सिवाकोटी, विनिता काफ्ले लगायत सदस्य थिए।
कार्यदलका संयोजक महेश बस्नेतले आज बिहान ११ बजे बबरमहल बस बिसौनीमा भेला भएर कार्की बैंक्वेटमा जाने कार्यक्रम रहेको बताएका छन्। बैंक्वेटमा अध्यक्ष ओलीले नेशनल भोलिन्टयर फोर्सको विधिवत् घोषणा गर्नेछन्।
कार्यक्रमअन्तर्गत मार्च पाससमेत सञ्चालन गरिने बस्नेतले बताएका छन्। उक्त मार्च पास कहाँ हुनेछ बस्नेतले खुलाएका छैनन्। कार्यदलका सदस्य समिक बडालले बबरमहलबाट भेला भएर कार्की बैंक्वेटमा जाने बताए। तर सडकमा भेला, प्रदर्शनको तयारी नरहेको पनि बताए।
‘मोटरसाइकल र्याली आउन सक्छ। तर पैदलै सडकमा निस्किएर जाने हाम्रो कार्यक्रम छैन। बबरमहलमा भेला भएर बैंक्वेट पुग्नेछौं,’ उनले भने।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीले पनि पार्टी प्यालेसमा सीमित हुने (इनडोर कार्यक्रम) हुने भएकाले अनुमति लिइराख्नु नपर्ने बताए। यद्यपि जिल्ला प्रशासन र एमालेबीच संवाद भइरहेको छ। कार्यक्रमको प्रकृति, सुरक्षा चुनौतीबारे प्रशासनले चासो राखेको बताएको छ। एमालेले सडकमा प्रदर्शन नगर्ने भनेर प्रशासनलाई आस्वस्त पनि पारेको छ।
नेशनल भोलेन्टियर फोर्सको प्रमुख पुष्प श्रेष्ठ बनाउने तयारी एमालेको छ। तदनुरूप नै विधान बनाइएको छ। युवा संघका नेता रहेका उनी अहिले अध्यक्ष ओलीको सुरक्षामा तैनाथ छन्।
फोर्सको हाइ कमाण्ड सानो आकारको हुनेछ। अहिले कमाण्ड एक जना र सहकमाण्ड एक महिला, एक पुरूष गरी दुई जना रहने प्रबन्ध गरिएको छ।
सचिवालयमै उठ्यो प्रश्न
नेकपा (एमाले) का सचिवालय सदस्यहरूले शुक्रबार गठन हुन लागेको नेसनल भोलेन्टियर्स फोर्सबारे प्रश्न उठाएका छन्।
एमालेको जनसंगठन समन्वय संयन्त्रले मार्च पाससहित उक्त नयाँ संगठन आज गठन गर्दैछ।
अध्यक्ष केपी शर्मा ओलीले औपचारिकरूपमा नेसनल भोलेन्टियर्स फोर्स घोषणा गर्नेछन्। उक्त संगठनलाई पार्टीको उच्च नेतृत्वले सीधै परिचालन गर्न सक्ने गरी बनाउन लागिएको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताएका छन्। उनका अनुसार यो आवधिक अधिवेशनबाट छानिने संरचना होइन। कामको मूल्यांकनका आधारमा नेतृत्व चयन हुनेछ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सात घन्टा बढी बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईले नेसनल भोलेन्टियर्स फोर्स घोषणाप्रति प्रश्न उठाएका थिए।
‘हामी कुन विधि, पद्धति र नीतिमा टेकेर यो संरचना बनाउँदैछौं। हाम्रो कार्यदिशासँग मेल नखाने संरचना किन चाहियो हामीलाई? यसको तात्पर्य के हो?’ सचिवालयमा सदस्यहरूले प्रश्न उठाएका थिए।
यस्ता संरचनाले लोकतन्त्र, लोकतन्त्रप्रति पार्टीको प्रतिबद्धता र इमानदारीलाई कमजोर बनाउने भन्दै यस्ता गतिविधि रोक्न उनीहरूले माग गरेका थिए।
‘यस्तो संरचना र गतिविधिले लोकतन्त्र र पार्टीलाई फाइदा पुग्दैन,’ सचिवालय सदस्यहरूले भनेका थिए, ‘अनावश्यक द्वन्द्व र झैझगडालाई प्रश्रय दिन्छ।’
उपाध्यक्ष विष्णु पौडेलले प्राकृतिक एवं मानवीय विपत्तिका बेला स्वयम्सेवी संगठन, संरचना बनाउने गरेको भए पनि अहिले आवश्यक नरहेको आसय व्यक्त गरेका थिए।
महासचिव शंकर पोखरेलले देशलाई सही दिशामा फर्काउन स्वयम्सेवी फोर्सको गठन गर्न लागिएको बताएका छन्।
‘अब समय आएको छ—देशलाई सही दिशामा फर्काउने। आज मंसिर ५ गते राष्ट्रिय स्वयम्सेवक फोर्सको गठन र भोलि मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन—हाम्रो कर्तव्य, हाम्रो अधिकार। शान्ति, स्थिरता र लोकतन्त्रका लागि एकताबद्ध बनौं,’ उनले भनेका छन्।