२०४८ सालको संसदीय निर्वाचनमा त्यो बेलाका अन्तरिम प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचनमा उठेका थिए।
उनलाई टक्कर दिँदै एमालेका महासचिव मदन भण्डारीले पनि काठमाडौं क्षेत्र नम्बर १ बाट उमेदवारी दिए। त्यो बेला एकभन्दा बढी ठाउँबाट उम्मेदवारी दिन पाइन्थ्यो। उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट पनि उठेका थिए।
त्यतिबेला पार्टीको कार्यकारी महासचिव नै हुने व्यवस्था थियो। पार्टी अध्यक्ष भने मनमोहन अधिकारी थिए। त्यस हिसाबले एमालेको सबैभन्दा शक्तिशाली नेता थिए- मदन भण्डारी।
यसरी बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि पहिलो निर्वाचनमा देशका सबैभन्दा दुई ठूला पार्टीका शीर्ष नेता एउटै निर्वाचन क्षेत्रको प्रतिस्पर्धामा आमनेसामने भएका थिए। त्यो बेला धेरैको आकलन भट्टराईले सोझै चुनाव जित्छन् भन्ने थियो।
भट्टराई रसिक स्वभावका थिए र ठट्टा गर्न रूचाउँथे। उनले एउटा चुनाव सभामा ठट्टा गर्दै भनिदिए, ‘मदन भण्डारी त यस्तो ह्यान्डसम, राम्रो हुनुहुन्छ। उहाँ त महिलाहरूको आकर्षणमा परिहाल्नुहुन्छ। उहाँको त तीन–चारवटा गर्लफ्रेन्ड नै होलान्।’
आफूमाथि तीन–चारवटी गर्लफ्रेन्ड भएको प्रसंग भट्टराईले ठट्यौली शैलीमा उठाएपछि मदन भण्डारीले पनि एउटा कार्यक्रममा त्यस्तै शैलीमा जबाफ फर्काएका थिए- मेरा त्यत्तिका धेरै गर्लफ्रेन्ड होलान् भन्ने लाग्छ भने तपाईंको त विवाह नै भएको छैन, यतैबाट लैजानुस् न एक-दुई जना।
चुनाव सकियो। परिणाम आयो। भट्टराई हारे, भण्डारीले काठमाडौंका दुवै क्षेत्रबाट चुनाव जिते।
३४ वर्षअघि चुनावी प्रतिस्पर्धाका क्रममा भएको यो छेडखानी र हाँसो–ठट्टा त्यसै हरायो। धेरैलाई त्यसको सम्झना पनि रहेन।
तर मदनकी पत्नी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एउटा प्रसंगले पुरानो घटना सम्झाइदियो। उनले ३४ वर्षअघिको दुई नेताबीचको यो हाँसोठट्टा रास्वपाका प्रवक्ता मनीष झालाई केही दिनअघि सुनाइन्।
तीन दशकअघिको यो हाँसोठट्टाको विषय उनका लागि तीतो बनेको भर्खरैको एउटा घटनाको प्रसंगमा सुनाएकी हुन्।
असार १४ गते मदन भण्डारी फाउन्डेसनले धुमधामले ७४ औं मदनजयन्ती मनाएको थियो। त्यही मञ्चमा प्रमुख अतिथि निम्त्याइएका एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मदनमाथि लाग्ने गरेको आरोप भन्दै एमालेजनले कहिल्यै नसुनेका कुरा उप्काए।
‘मदन भण्डारीका सन्दर्भमा धेरै लाञ्छना लगाइए, चरित्र हत्या गरिए। चारवटी कि कति वटा श्रीमती छन् भनेर आरोप लगाइयो। यस्ता कुराहरू पनि बोलियो। यसको प्रमाण कसले खोज्न जाने होला? बोलियो! बोलियो अनेक दुर्वाच्य! अनेक बोलियो! सहकारीमा ठगेर हिँडेको आदि इत्यादि भनेर आरोप लगाइयो! सहकारीको ठग भनेर! कुनै आधार, साइनो, सम्पर्क केही पनि थिएन। कुनै सम्पर्क सम्बन्ध नभएका विषयमा शतप्रतिशत झूट, लाञ्छनाहरू लगाइए,’ एमालेका तत्कालीन महासचिव मदनबारे ओलीले भनेका थिए।
एमालेका तत्कालीन महासचिव दिवंगत भएकै ३२ वर्ष व्यतीत भइसकेको छ। उनीसँग पार्टी संगठन विभाग प्रमुख जीवराज आश्रित चितवनको दासढुंगामा सवारी दुर्घटनामा बितेका थिए।
‘भण्डारीको निधनको तीन दशकपछि सार्वजनिक मञ्चमा ओलीले मदनबारे पनि लाञ्छना लाग्ने गरेको थियो भन्दै पुराना कुरा उप्काएपछि पूर्वराष्ट्रपति भण्डारीको मन कुँडिएको रहेछ,’ भण्डारीसँग भेटवार्ता गरेका झाले सेतोपाटीसँग भने।
प्रधानमन्त्री ओलीले बोलेको कुराबारे आफूले जिज्ञासा राखेको र त्यही सन्दर्भमा ३४ वर्षअघिको कृष्णप्रसाद भट्टराई र मदन भण्डारीबीचको ठट्टाको प्रसंग पूर्वराष्ट्रपतिले सुनाएको झाले बताए।
हालै मात्र उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन विराटनगर पुगेकी भण्डारीले त्यहाँ रहेका सञ्चारकर्मीसँग पनि प्रधानमन्त्री ओलीलाई उनले मदन भण्डारीबारेको आरोपको त्यो प्रसंग तीन दशकपछि किन निकालेको भनेर निर्भयपूर्वक सोधिदिन आग्रह गरेकी थिइन्।
भण्डारीमाथि त्यतिखेर चार श्रीमती राखेको र सहकारीको पैसा अपचलन गरेको भनेर आरोप लागेकोबारे तत्कालीन मालेका (एमालेको माउ पार्टी) पुराना नेताहरूले कसैले पनि कहिल्यै नसुनेको बताए।
झापा आन्दोलनका एक हस्ती पूर्वमन्त्री राधाकृष्ण मैनालीले मदनमाथि लागेको भनिएको आरोपबारे आफूले कहिल्यै नसुनेको बताए। ओलीको मुखबाट मात्रै सुनेको भन्दै आश्चर्य व्यक्त गरे।
‘एमाले आन्दोलन र यसको सुरुको पृष्ठभूमिदेखि नै म जोडिएको छु तर मदनले चारवटी विवाह गरेको भनेर कहिल्यै सुनिनँ। कुनै बैठक, औपचारिक, अनौपचारिक संवादमा चर्चा भएको विषय होइन,’ मैनालीले भने, ‘बरु झलनाथ खनाललाई केही कांग्रेसी नेताले इलाममा बिहे गरेर राखेको छ भन्ने आरोप लगाएका थिए। पछि पुष्टि नभएपछि उनीहरूले पनि भन्न छाडे।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा सक्रिय हुने र मदनकै विचारको जगमा खडा हुन खोजेपछि त्यसको प्रतिक्रियास्वरूप बोलेको हुनसक्ने बताए।
‘आफूलाई अग्लो देखाउन मदनको चरित्र धमिल्याउन खोजेको हुनसक्छ, त्यसको केही अर्थ छैन। मदनमाथि चारवटा बिहे गरेको भन्ने आरोप निराधार हो,’ उनले भने।
मालेका पूर्वमहासचिव सीपी मैनालीले पनि मदन जीवित हुँदा वा उनी दिवंगत भएपछि पनि यसबारे नसुनेको बताए। जीवित छँदा मदन र सीपीबीच वैचारिक बेमेल थियो। उनीहरूको सम्बन्ध एक हिसाबले तिक्ततापूर्ण नै थियो।
‘हामी सँगै थियौं। मैले कहिल्यै यस्तो कुरा सुनिनँ। मैले त असार १४ गते केपी ओलीकै मुखबाट सुनेको हुँ, हामीले नसुनेको कुरा उहाँले कसरी सुन्नुभयो? अतः यो निराधार हो,’ उनले भने।
सहकारी ठगीको प्रसंग पनि ओलीले भनेजस्तो नरहेको मैनालीले बताए।
२०३६–०३७ सालतिर, मैनालीले समय यकिनचाहिँ गर्न सकेनन्, त्यतिबेला मोरङको इटहरामा साझा संस्था थियो। पञ्चायतले त्यो संस्थामार्फत मलखाद, बीउबिजन, नुन, तेल आदि उपभोग्य सामग्री बिक्री–वितरण गर्थ्यो।
‘त्यसको वितरण प्रणाली पञ्चायतलाई बलियो बनाउने, पञ्चायतका समर्थकले मात्रै लाभ पाउनेजस्तो भएपछि गरिब, निमुखा उपभोक्ताले विद्रोह गरेको र पार्टीले त्यसमा साथ दिएको जस्तो विषय हो। त्यतिबेला साझा भकारी हुन्थे, सहकारी नै हुँदैनथ्यो, कहाँबाट ठग्नु!,’ उनले भने।