राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्लाका अधिवेशन रद्द गरेको छ। गत जेठ २३ गते जिल्लाको अधिवेशन भएको थियो।
एउटा पक्षको बहिष्कारकाबीच कविन्द्र ठकुल्ला ३३५ मतसहित विजयी भएको घोषणा गरिएको थियो। तर निर्वाचन प्रक्रिया र त्यसको वैधतालाई लिएर जिल्लाका उम्मेदवारहरू तथा पार्टी सदस्यहरूद्वारा सप्रमाण उजुरी दर्ता गराएको निर्वाचन आयोग प्रमुख भुवन केसीले बताएका छन्।
‘उक्त निर्वाचन प्रक्रियाप्रति कैलाली जिल्लाका सांसदहरूको असहमति र सल्लाहको बाबजुद अवैधानिक ढंगले विधान तथा कार्यविधि विपरीत निर्वाचन गराइएको पाइएको छ। प्राप्त प्रारम्भिक उजुरी तथा सँगै संलग्न प्रमाणहरूको आधारमा आयोगले अध्ययन गर्दा, उक्त अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि, प्रक्रिया र मापदण्डहरू पालना नभएको प्राथमिक रूपमै पुष्टि हुन आएको छ,’ केसीले भनेका छन्।
निर्वाचन आयोगले देखाएका रद्दका आधारहरू
१. प्रक्रियागत त्रुटि– प्राप्त तथ्याङ्क र सप्रमाण उजुरीका आधारमा निर्वाचनको न्यूनतम आधारभूत प्रक्रिया पालना नभएको देखिएको ।
२. कार्यविधिको उल्लंघन– मतदान र मतगणनाको स्थापित नियम तथा निर्वाचन कार्यविधिको उल्लंघन भएको पाइएको ।
३. सर्वस्वीकार्यताको अभाव– विभिन्न पदका अधिकांश मुख्य उम्मेदवारहरूले उक्त प्रक्रियाप्रति लिखित असहमति जनाउँदै प्रक्रिया बहिस्कार गरेको पाइएको ।
४. समावेशी प्रतिनिधित्वमा अवरोध– स्थापित नामावली बमोजिमका कतिपय योग्य सदस्य तथा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको देखिएको ।
यसकारण पार्टीको विधान, निर्वाचन कार्यविधि र आन्तरिक लोकतन्त्रको रक्षार्थ, केन्द्रीय निर्वाचन आयोगको आइतबार बसेको बैठकले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित भएका सम्पूर्ण परिणामहरूलाई पूर्ण रूपमा बदर ÷ रद्द गर्ने निर्णय गरेको उनले बताएका छन्।