चीनको तियानजिनमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसनको (एससिओ) शिखर सम्मेलनमा चीन, रूस र भारतका नेताहरूबीच एकताको शक्तिशाली प्रदर्शन देखियो।
यस कार्यक्रमको उद्देश्य स्पष्ट थियो।
अमेरिका लगायत पश्चिमा राष्ट्रहरूलाई चुनौती दिन यी तीन प्रमुख शक्तिहरू एकजुट भइरहेका छन् भन्ने सन्देश दिनु।
अमेरिकी मिडियाले यसलाई महत्वपूर्ण रूपले प्रसारण गर्नु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबारे फेरि सामाजिक सञ्जालमा पोस्ट गरेकाले कार्यक्रमको उद्देश्य पूरा भएको देखिन्छ।
शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बीचको सौहार्दपूर्ण सम्बन्धले महत्वपूर्ण छाप छोड्यो।
सो सम्मेलनको एउटा भिडिओको सुरूआतमा, मोदी र पुटिन हात समातेर अन्य विश्व नेताहरूले भरिएको बैठक हलभित्र प्रवेश गर्छन्।
उनीहरू सिधै सीकहाँ गएर हात मिलाउँछन् र नजिकै घेरा बनाउँछन्। दोभासेहरू समूहमा सामेल हुनुअघि उनीहरूबीच केही शब्दहरू आदानप्रदान हुन्छन्। पुटिन खुलेर मुस्कुराउँछन् र मोदी ठूलो स्वरमा हाँस्छन्। एक समयमा, मोदीले दुवै नेतासँग हात जोड्छन्।
तीन नेताहरू हाँसिरहेका र हात मिलाइरहेका भिडिओ र तस्बिरहरू व्यापक रूपमा फैलियो। विश्लेषकहरूका अनुसार, यो ध्यानपूर्वक गरिएको प्रदर्शनले दोहोरो उद्देश्य पूरा गरेको थियो।
चीन र रूसका लागि, यसले वैकल्पिक भूराजनीतिक गुटको नेताको रूपमा उनीहरूको बढ्दो गठबन्धनलाई जोड दियो। भारतका लागि, यो अमेरिकालाई एक संकेत थियो। यदि ट्रम्पको व्यापार नीतिले भारतलाई निरन्तर प्रहार गर्छ भने, भारतसँग अन्य विकल्प पनि छन्।
शिखर सम्मेलनको संयुक्त विज्ञप्तिले साझा स्वार्थहरूको स्पष्ट पङ्क्तिबद्धता प्रकट गर्यो। इरान समेत सदस्य रहेको समूहले इसराइल र अमेरिकाले इरानविरूद्ध गरेको सैन्य आक्रमणको कडा निन्दा गर्यो, तर रूसले युक्रेनसँग छेडेको युद्धको बारेमा केही उल्लेख गरेन।
आफ्नो उद्घाटन भाषणमा, सीले अमेरिकालाई प्रत्यक्ष रूपमा कटाक्ष गर्दै एससिओ सदस्यहरूलाई 'शीतयुद्धको मानसिकता, गुटबन्दी र धम्की' लाई अस्वीकार गर्न आग्रह गरे।
उनले अमेरिकाको बढ्दो अस्थिर नीतिका कारण खाली भएको ठाउँ भर्न चीनलाई एक स्थिर विश्व नेताको रूपमा प्रस्तुत गरे।
पुटिनले आफ्नो सम्बोधनमा युक्रेन द्वन्द्वको सन्दर्भमा ट्रम्पसँग भर्खरै भएको शिखर सम्मेलनको प्रशंसा गरे।
उनले रूसको कूटनीतिक हिसाबकिताबमा चीनको केन्द्रीय भूमिकालाई जोड दिएको देखिन्थ्यो। मोदीले भारतजस्ता देशहरूको विश्व मामिलामा ठूलो भूमिका हुने बहुपक्षीय र समावेशी विश्व व्यवस्थालाई बढावा दिने कुरा गरे।
भारतका लागि, यो शिखर सम्मेलन उसको विदेश नीतिमा अचानक आएको परिवर्तनको प्रतीक बन्यो। परम्परागत रूपमा, भारतले अमेरिकाको सम्बन्धलाई खतरामा नपार्नका लागि चीन र रूससँग यस्तो खुला रूपमा न्यानोपन देखाउनबाट जोगिने प्रयास गर्थ्यो। यद्यपि, रूसी तेल खरिद गरिरहेकोमा भारतलाई दण्डित गर्दै ट्रम्प प्रशासनले हालै भारतीय सामानहरूमा २५ प्रतिशत थप भन्सार लगाएपछि भारतलाई त्यो सन्तुलन कायम राख्ने जरूरी नभएको देखिन्छ।
गत महिना अलास्कामा पुटिनसँग भेट्दा ट्रम्पले आफ्नो निजी कारमा पुटिनसँग कुरा गरेजस्तै मोदीले पनि पुटिनको निजी गाडीमा यात्रा गरे। आधिकारिक वार्ता अघि सो गाडीमा करीब ५० मिनेट पुटिनसँग कुराकानी गरे।
अनि सो कार यात्राका तस्वीर सामाजिक सञ्जालमा पोस्ट पनि गरे। उनले भारत-रूस साझेदारीको प्रशंसा गर्दै पुटिनलाई भने, 'एक अर्ब ४० करोड भारतीयहरू तपाईंलाई नयाँ दिल्लीमा स्वागत गर्न उत्साहका साथ पर्खिरहेका छन्।'
भारत-रूस शिखर सम्मेलनका लागि पुटिनले आगामी डिसेम्बरमा भारत भ्रमण गर्न लागेका छन्।
तर सार्वजनिक रूपमा देखाइएको एकताका बाबजुद तीन देशबीच गहिरो शंका र स्वार्थहरूको टकराव भने अझै कायम छ। चीन र भारतबीचको सीमा विवाद अझै पनि समाधान भएको छैन। यसबाहेक, भारतले पश्चिमी आर्थिक सहकार्यको बदलामा पश्चिमाले लगाएको नाकाबन्दीले ग्रस्त रूसमा भर पर्न सक्दैन। तर जे-जे देखाउन खोजे पनि भारत, चीन र रूसको तिकडीमा रहेका समस्याहरूलाई कम गर्न भने मुश्किल पर्नेछ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)