राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुमना श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिँदै गर्दा निकै पुलकित देखिइन्। प्रथम महिला प्रधानन्यायाधीश बनेर इतिहास लेखाइसकेकी कार्की पहिलो महिला प्रधानमन्त्री बनिन्।
त्यो खुसीको आभा सुमनाको अनुहारमाल प्रष्टै देखियो। आँखामा पनि छचल्कियो। शपथ सकिएर सामूहिक फोटो खिचाउने उपक्रममा सुमनाले नवनियुक्त कार्कीलाई अंकमाल गरिरहेको दृश्यले धेरैको ध्यान खिच्यो।
त्यसो त, शपथ ग्रहण समारोहमा सामेल हुने उनी एक्लो सांसदसमेत थिइन्।
यसपछि धेरैले अड्कल काटे– सुमना सुशीला कार्कीको क्याबिनेटमा मन्त्री पो बन्दैछिन् कि!
सुमनानिकट नेताहरूका अनुसार जेन–जीको आन्दोलनमा उनको सुरूदेखि नै समर्थनभाव थियो। भदौ २३ गते कल्पनातीत हताहती हुँदै शान्तिपूर्ण प्रदर्शन राज्य सिर्जित दमनले रक्तपातपूर्ण बनेपछि सुमना शोकमग्न पनि थिइन्। भोलिपल्ट उनी बानेश्वर क्षेत्रमा पुगेकी पनि थिइन्।
भ्रष्टाचार र सामाजिक सञ्जालविरूद्ध उत्रिएको आन्दोलनको उभारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता छाडेर हिँड्न विवश बनाएर विद्रोह निष्कर्षमा पुगेपछि जेन–जीले सुमनालाई सम्झिएका थिए। किनभने आन्दोलनको आरम्भमा व्यवस्था परिवर्तन उनीहरूको लक्ष्य थिएन। २३ गतेको दमनले विद्रोहको डढेलोलाई भयानक र कल्पनातीन बनाइदियो।
आफू रास्वपासँग जोडिएको भन्दै नयाँ सरकार गठन र यसको प्रक्रियामा आफू सामेल नहुने उनले त्यतिबेलै बताइसकेकी थिइन्।
तर शुक्रबार राति शीतल निवासमै उपस्थित भएर जेन–जीसँग हातेमालो गर्दै खुसीयाली साटासाट गरेपछि धेरैले उनी मन्त्री बन्ने र रास्वपामा समेत नरहने सम्भावना बढेको अनुमान गरे।
यसबारे हामीले सुमनालाई सोध्यौं।
सेतोपाटीसँग कुरा गर्दै रास्वपा नेता सुमनाले शुक्रबार आफूलाई अभूतपूर्व दिन लागेको र नेपाली राजनीतिको महत्त्वपूर्ण डिपार्चरका रूपमा यसलाई लिएको बताइन्।
‘हिजो त मेरो ठूलो सपनाको दिन थियो। म जहिले पनि सोचिरहन्थेँ– यो देशले महिला प्रधानमन्त्री पाउँछ कि पाउँदैन होला? समाजले स्वीकार्छ कि स्वीकार्दैन होला? हिजो देशले महिला प्रधानमन्त्री पायो। यसर्थ सबैभन्दा बढी खुसी म नै भएँ,’ उनले भनिन्।
त्यही उत्सवको साझेदारीका लागि पनि आफू त्यहाँ पुगेको बताइन्।
जेन–जी विद्रोह सामान्य राजनीतिक परिघटना नभएको उनको बुझाइ छ। हुन पनि यो विद्रोहले पुस्तान्तरण त परै जाओस् नेतृत्व हस्तान्तरणसमेत गर्न नमान्ने नेपालको परम्परागत राजनीतिक दल, सोच र चिन्तनधारालाई यसले जरैदेखि हल्लाइदिएको छ।
त्यसैले यसो विद्रोहले नयाँ पुराना सबै दललाई रूपान्तरणको दर्बिलो सन्देश दिएको उनले बताइन्।
‘अब सबै पार्टीर्ले अनुभूत गर्नुपर्छ, महसुस गर्नुपर्छ र सोच्नुपर्छ। पुराना पार्टीहरूले जसरी सार्वजनिक सेवा अपहरण गरेका थिए। सार्वजनिक सेवालाई सार्वजनिक सेवा नै हुन दिएका थिएनन्,’ उनले उदाहरण दिँदै भनिन्, ‘त्यसमा केही हस्तक्षेप गर्न खोज्यो, भ्रातृ संगठनहरू (म त झोले संगठन भन्छु) ती आएर सब गर्दिन्छ। बिगार्दिन्छ। राज्य शक्तिशाली भएर जनतालाई सेवा गर्नुपर्ने, यसमा राजनीतिककर्मीहरू शक्तिशाली भएर राज्यलाई पंगु बनाए।’
यसैको विद्रोहले सत्ता पलट गरेको उनको ठम्याइ छ।
उनले शिक्षा विधेयकको पनि उदाहरण थिइन्। उपसमितिले महिनौं मिहिनेत गरेर तयार पारेका कुराहरू फुल हाउसबाट उल्ट्याउन खोजेको बताइन्।
‘शिक्षा विधेयकमा नै फुल हाउसबाट उल्ट्याउन खोजेका थिए। विचार त्यही थियो। आफैले बनाएको शिक्षा विधेयक पनि अपनत्व लिएर त्यसलाई प्रतिरक्षा गर्न नसक्ने, त्यसलाई कार्यान्वयनको तहमा लैजान नसक्ने अवस्थामा हाम्रा सांसदहरू पुगेकै हुन् नि!,’ उनले भने।
उनले राजनीतिक नेतृत्वका सामु सांसदहरू पनि डराउनुपर्ने अवस्था रहेको बताइन्। सार्वभौम सांसद भने पनि त्यसमा नेतृत्वको छाया पर्ने अवस्था रहेको र यो सबै घटनाले विद्रोह जन्माएको उनको भनाइ छ।
‘सांसदहरू डराउँछन्? सांसदहरूले नै बनाउने हो नि त कानुन। युवाहरूले विद्रोह गर्नुका धेरै कारण, उदाहरण छन्। धेरै कुरालाई लिन सकिन्छ, आधारभूत रूपमै भएन, तिमीहरूबाट भनेर,’ उनले भनिन्।
कुराकानीका क्रममा रास्वपा नेता सुमना श्रेष्ठले सबै पार्टी पुनर्गठन गर्नुपर्ने र त्यसप्रति आफूलाई विश्वास रहेको बताइन्। पार्टी छाड्ने मनस्थितिमा आफू नरहेको पनि प्रष्टीकरण दिइन्।
‘सबै पार्टी पुनर्गठन गर्नुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि सुधारका लागि आवाज उठाउँदै आएको हो। अब प्रयास गर्ने नै हो। राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिँदै गर्दाखेरी यो धेरै महत्त्वपूर्ण थियो कि, पार्टीहरूको कार्यशैली, सञ्चालनको तौरतरिका भएन, तत्काल परिवर्तन गर्नुपर्छ नै भन्ने थियो। हामी सबै नेपाली हो, यो पार्टी, त्यो पार्टी भने पनि। राजनीति सेवा हो। राजनीतिकर्मीहरूले त केवल सहजीकरण गर्ने हो। प्रयास जारी नै छ। यसमा कति सफल भइन्छ,’ उनले भनिन्।
रास्वपाको कार्यशैलीप्रति आफू बेखुस रहेको पनि उनले बताइन्। रास्वपाले सुधारका कामहरू गरेको भए ५१ जनाको हताहती हुने गरी भएको विद्रोहलाई एक हिसाबले रोक्न सकिने समेत आफूलाई लागिरहेको उनको धारणा थियो।
‘जुन क्रान्ति भयो। युवाले अदम्य आँट र साहस देखाए। कहिलेकाहीँ म दुःखी पनि हुन्छु, ५१ जना मानिसको मृत्यु भएको छ। त्यो कतै न कतै हामीले रोक्न सक्थ्यौं कि! यदि हामीले जति पनि मलाई यो चित्त बुझेन, बुझेको छैन भन्ने आवाजहरू समेट्दै गएको भए त्यो विद्रोह रोक्न सकिन्थ्यो कि भनेर दुःख पनि लाग्छ,’ उनले भनिन्।
यसर्थ विद्रोह, त्यस क्रममा भएका हताहती, जलेका भौतिक संरचना, जताततै त्रास र भयको वातावरणको केही न केही जिम्मेवारी रास्वपाले पनि लिनुपर्ने उनको धारणा छ।
‘म सांसद थिएँ। राष्ट्रिय स्वतन्त्र पार्टी पनि यो भएन भन्ने असन्तुष्टिकै परिणाम त हो। म पनि पार्टीमा लागेको पनि यो भएन भनेर नै हो,’ उनले भनिन्, ‘म आफ्नै अनुभूतिले भन्न सक्छु– यो भएन। बनाउने के? त्यसमा छलफल गर्दै जानुपर्ने बेलामा यो विद्रोह भयो। त्यसमा सबै दल, साथसाथै नयाँ दलले पनि जिम्मेवारी लिनुपर्छ।’
उनले सबैले रूपान्तरणको प्रयास गर्नुपर्ने धारणा राखिन्। यसमा सबै पार्टीले पुनर्विचार गर्नुपर्ने पनि बताइन्।
‘त्रुटि कहाँ भयो? हाम्रो संस्कृति कस्तो छ? हामीले अवलम्बन गरेको संस्कृतिले समाजको मर्म, भावना, मूल्य बहन गरेको छ कि छैन? यो पार्टीले समताको भावना बोकेको छ कि छैन? पुनर्विचार गर्नपर्छ,’ उनले भनिन्।
यो विशुद्ध नवयुवाको विद्रोह भएकाले पटकपटक अवसर पाएको, संसदमा बोलेकाहरूले नेतृत्वमा दाबी गर्न नहुने उनको तर्क छ। राणाकालदेखि जोविरूद्ध विद्रोह गर्यो, आन्दोलनको निष्कर्षपछि उनीहरूसँगै सत्ता–सरकार चलाउने परिपाटीले केही समयमै नयाँ पुरानोबीच भेद नहुने र त्यसले अर्को असन्तुष्टि जन्माउने गरेको पनि उनले उदाहरण दिइन्।
‘मैले देखेको, राणाकालदेखिको परिवर्तनमा परिवर्तनकारीहरूले सम्झौता गर्नुपरेको छ। सम्झौतामा टुंगिएको छ। यस्तो परिवर्तन भइसकेपछि नयाँलाई काम गर्न दिनुपर्छ। उनीहरूलाई नै अवसर दिनुपर्छ। यस्तो परिवर्तन भइसकेपछि शक्ति केन्द्रहरूले हामीले गर्न सकेनौं, एकचोटि नयाँ आवाजहरूलाई हामीले सरसहयोग गर्नुपर्छ भनेर पछाडि गइदिनुपर्छ,’ उनले भनिन्, ‘हाम्रो हरेक पटकको परिवर्तनमा पुरानो, जसको विरूद्ध विद्रोह क्रान्ति हुन्छ, त्यहीँ उनीहरूसँग बसेर, पुरानो र नयाँबीच कुनै भिन्नता नै नदेखिने भएको हो नि त!’
राष्ट्रिय स्वतन्त्र पार्टीको गल्ती पनि त्यही भएको उनको बुझाइ छ।
‘अहिले पनि त्यही चाहिँ नहोस् भन्ने मेरो कामना हो। यो युवाले गरेको परिवर्तनमा उहाँहरूले छानेको नै अगाडि आउनुपर्छ भन्ने मेरो विचार हो,’ उनले भनिन्।
रास्वपा नेता सुमनाले युवाहरूको विद्रोहपछि बनेको सरकारमा युवाले छानेको मन्त्रीका रूपमा नभई युवाले नेतृत्व गरेको मन्त्रालयको सचिवालयमा बसेर काम गर्न आफू इच्छुक रहेको पनि बताइन्।
‘उहाँहरूको सचिवालयमा बसेर काम गर्न म सबै कुराले तयार छु। तर यो परिवर्तनपछि आन्दोलनको अगुवा युवा नै आउनुपर्छ। पटकपटक अवसर आएर, प्रतिनिधि सभामा बोलेर हामीबाट पनि भएन भनेको हो नि, युवाहरूले। त्यसपछि उनीहरू सडकमा आउनुपरेको हो। अहिले पनि हामी नै जाने हो भने त्यो गलत हुन्छ,’ उनले भनिन्।
आफूसँग भएको ज्ञान, सञ्जालको सुझबुझ मागेको र आवश्यक परेको खण्डमा दिने बताउँदै उनले यो विद्रोहलाई कुनै पनि हालतमा खेर जान दिन नहुने बताइन्।
‘यो विद्रोह कुनै पार्टीले गरेको विद्रोह होइन, यो त पुस्ताले नै गरेको विद्रोह हो, भविष्यले नै गरेको विद्रोह पनि हो। अतः यो सफलीभूत हुनैपर्छ। यसलाई सफल बनाउनै पर्छ। त्यसर्थ म अहिले मन्त्री बन्दिनँ,’ उनले अन्तिममा जोड दिँदै भनिन्।