नेकपा एमाले पुनर्गठन कार्यदल सक्रिय भएसँगै अध्यक्ष केपी शर्मा ओलीले पनि छलफल थालेका छन्।
शनिबार पुनर्गठन कार्यदलले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्दैछ।
कार्यदलले झण्डै २० दिन बिलम्ब गरेर छलफल सुरू गरेको हो। जबकि जेठ १० गते बनेको समितिले असार १० भित्र प्रतिवेदन नै बुझाउनुपर्नेछ।
कार्यदलको पहिलो बैठकमा अध्यक्ष अोली आफै सहभागी भएर एकताको सन्देश दिनुपर्ने बताएका थिए। नेतृत्व परिवर्तनको माग उठिरहेका बेला कार्यदलको पहिलो बैठकमा आफै सहभागी भएर उनले त्यो बहसलाई मत्थर पार्न खोजेको आरोप लागिरहेका बेला ओलीले भोलि आफै केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षसँग छलफल गर्न लागेका हुन्।
एमाले सचिव महेश बस्नेतका अनुसार एमाले बागमती प्रदेश कमिटीको बैठक जारी छ। बैठक भोलि बिहान ११ बजे पुनः बस्नेछ।
भोलिको बैठकमा पार्टीका महासचिव कमरेड शंकर पोखरेलले सम्बोधन गर्नेछन्।
लगत्तै निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले छलफल थाल्ने छ। प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला पदाधिकारीबीच अन्तरक्रियात्मक बैठक बस्नेछ। संयोजक पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल सहित नेताहरू सहभागिता रहने सचिव बस्नेतले बताए।
दिउँसो ४ बजे अध्यक्षले गुण्डु बोलाएका छन्। उक्त छलफलमा पनि प्रदेशभित्र भूगोलसँग जोडिएका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरूसँग भेटघाट कार्यक्रम तय गरिएको बस्नेतको भनाइ छ।
पछिल्लो समय ओली सक्रिय छन्। यसबीचमा उनले प्रदेशप्रदेशका केन्द्रीय सदस्यहरूलाई बोलाएर छलफल गरिरहेका छन्।