मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन्।
सदन 'फेस' गर्ने बताउँदै आएका सिंहले मंगलबार विश्वासको मत नमागी राजीनामा दिए। उनको राजीनामा प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेश, जनकपुरले पनि स्वीकृत गरिसकेको छ।
सिंह २०८१ साल जेठ २५ गते मुख्यमन्त्री बनेका थिए। राजीनामा दिनुअघि प्रदेश सभामा मुख्यमन्त्री सिंहले वक्तव्य राखेका थिए।
उनले प्रदेश सुख्खाको चपेटामा पर्दा स्थितिको मूल्यांकन गर्दै उपलब्ध साधनस्रोतको अधिकतम परिचालन गरि सुख्खाको पीडामा परेका नागरिकसम्म खानेपानी पुऱ्याउने कार्य गरेको जानकरी दिए।
'तत्कालिन संघीय सरकारसँग आवश्यक राहत र सहयोगका लागि आग्रह गर्यौं,' उनले भने, 'फलस्वरूप संघीय सरकारले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको बिदितै छ।'
सुख्खाको विषयमा आवश्यक राहत प्याकेजका लागि मन्त्रालय स्तरीय कार्यक्रमहरू तयार गरि जनताकाबीचमा जाने र संघीय सरकार तथा संघसंस्थाको सहयोगमा पीडितमाथी मह्लम लगाउने अभियान प्रारम्भ गरेको उनको भनाइ छ।
आर्थिक राजधानी वीरगञ्जमा हैजाको संक्रमण फैलिँदा पनि आफूले काम गरेको उनले बताए।
आफू देश बाहिर भएपनि प्रदेश सरकारको स्वास्थ्य संरचनालाई पूर्ण रूपमा सक्रिय बनाउँदै हैजाको संक्रमणबाट नागरिकलाई जोगाउने हरेक प्रयास गरेको उनले जानकारी गराए।
जेन-जी आन्दोलनपछि बदलिएको परिस्थिति
वक्तव्यमा उनले जेनजी आन्दोलनपछि बदलिएको परिस्थिति बारे चर्चा गरे।
जेन-जी आन्दोलनपछि भने उनी नेतृत्वको सरकार धर्मराएको थियो। सामाजिक सञ्जालबाट राजीनामा दिएका सिंहले औपचारिक राजीनामा दिन भने ढिलाई गरेका थिए। उनी आबद्ध जनमत पार्टीले नै सबैभन्दा पहिला सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई सुरूमा फिर्ता बोलाएको थियो।
जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते अकल्पनीय घटना घट्यो। भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर जेन-जी पुस्ताले गरेको आन्दोलनमा अकल्पनीय अवस्था सृजना भयो।
भदौ २३ गते १९ जनाले ज्यान गुमाए भने भदौ २४ मा देशभर सरकारी तथा निजी सम्पत्तीमा आगजनी र तोडफोड भयो। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारी, कैदीबन्दी, आम नागरिक र सुरक्षाकर्मी समेत गरी मृतकको संख्या ७२ पुगिसकेको छ।
भदौ २४ गते राजधानी लगायत देशका विभिन्न स्थानमा आन्दोलनले झन् उग्र रूप लिएको थियो। ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवनदेखि सार्वजनिक सम्पत्ती र ऐतिहासिक संरचनाहरू तोडफोड र आगजनी गरि क्षतिग्रस्त बनाए। राजनीतिक दलको कार्यालय र नेता र तिनका घरहरू निशानामा परे। मधेस प्रदेश पनि त्यस्ता घटनाहरूबाट अछुतो रहेन।
मधेस प्रदेशको मुख्यमन्त्रीको हैसियतमा आफूले २४ गते बिहान सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेको बताए। आफ्नो लागि जनताको ज्यानभन्दा प्यारो केही पनि नभएको भन्दै संयममताको लागि निर्देशन दिएको उनको दाबी छ।
‘जेनजी पुस्ताको मागप्रति समर्थन जनाउँदै तोडफोड र आगजनी नगर्न तथा संयममता अपनाउन सबैमा सार्वजनिक अपील गरिरहे,’ उनले भने।
राजीनामाको नाममा षडयन्त्र र ‘मिडिया ट्रयाल’को आरोप
पार्टीको निर्देशन विपरित राजीनामा नदिएपछि एक्लिएका उनले सामाजिक सञ्जालमा अध्यक्षको आग्रहमा राजीनामा दिएको बताएका छन्।
'देशभर तोडफोड र विध्वंस भइरहेका बेला चीनमा रहेका पार्टीका अध्यक्ष सिके राउतले स्थिती बिग्रदै गएकोले मुख्यमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिनुभयो,' उनले भने, 'मैले प्रदेश प्रमुखज्यू समक्ष नै राजीनामा दिने कुरा राख्दा तत्काल त्यो नगर्न अध्यक्ष ज्यूको निर्देशन थियो।'
उनले थपे, 'आन्दोलनकारीले राजीनामा नमागेको, गठबन्धन दलसँग पनि कुनै सल्लाह नभएको अवस्थामा राजीनामा किन? भन्ने प्रश्न मन भित्र थियो। तर पार्टी अध्यक्षको निर्देशन मान्दै सचिवालयमार्फत् अपडेट हुने सामाजिक सञ्जालमा राजीनामाको विषय उल्लेख गरियो।'
देशको राजधानी काठमाडौंमा भएको विध्वंसबाट मधेस प्रदेश पनि अछुतो रहेन।
मधेस प्रदेश सभा भवन, मुख्यमन्त्री कार्यालय, विभिन्न मन्त्रालय, मन्त्री निवास, सरकारी सवारी साधन लगायतमा आगजनी र तोडफोड गरियो। मुख्यमन्त्री सिंहले आफू सरकारी निवासमा रहेर तोडफोड र विध्वंस नमच्चाउन, संयममता अपनाउन सार्वजनिक रूपमा अपिल गरेको उनले बताए।
संघीय व्यवस्थामाथि नै खतरा हुने अवस्थामा आफूले प्रदेश स्तरमा स्थिति सम्हाल्न हरेक प्रयत्न गरेको उनी बताउँछन्।
यस्तै, परिस्थिति अनुकुल भएपछि भदौ २८ गते राजीनामा दिन आवश्यक तयारी गरिरहँदा आफूविरूद्ध पार्टी भित्रैबाट षडयन्त्र भएको उनको दाबी छ।
संसदीय दलको बैठक नै नबसी समर्थन फिर्ता लिएर तानाशाही प्रवृत्ति देखाएको टिप्पणी छ।
‘मलाई एकबचन समेत नसोधी जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीलाई फिर्ता बोलाएको एउटा पत्र सामाजिक सञ्जालमा प्राप्त भयो। त्यो पत्र म विरूद्धमा भाष्य निर्माण गर्ने प्रपञ्चको अध्याय थियो,’ उनले भने, ‘म संसदीय दलको सदस्य रहेको भएपनि दलका नेताले बैठक नै नबोलाई, मलाई आफ्नो जवाफ समेत दिन नदिई एक्कासी पत्र काटेर समर्थन फिर्ताको कार्य गर्नुभन्दा तानाशाही र अलोकतान्त्रिक कदम के होला?’
आफूलाई जानकारी समेत नदिई संसदीय दलको बैठकबिना दम्भ र तानाशाही देखाउँदै जनमत पार्टीले समर्थन फिर्ताको पत्र सार्वजनिक गरेको भन्दै उनले असन्तुष्टी जनाए।
जेनजी आन्दोलनमा सहादत दिएका सहिदहरूलाई वास्ता नगर्दै मनपरी, तानाशाही र असंवैधानिक हिसाबले सत्ताको लुछाचुँडीको अध्याय प्रारम्भ गरेको उनको तर्क छ।
मुख्यमन्त्री सिंहले भदौ २९ गते प्रदेश प्रमुख समक्ष राजीनामा दिन खोज्दा कर्मचारी नभेटिएको उनले बताए।
‘भदौ २९ गते बिहान राजीनामा पत्र तयार भएपछि प्रेस सल्लाहकार अवधेशकुमार झा मार्फत् प्रदेश प्रमुख ज्यूको सचिवालय वा कार्यालयमा दर्ता गराउने गरी पठाएँ। तर विध्वंसको परिस्थितिमा माननीय प्रदेश प्रमुखको कार्यालयमा कोही थिएनन्। सचिवालयमा पनि सुरक्षाकर्मी बाहेक कोही थिएनन्,’ उनले भने, ‘सचिवालयमै भए पनि राजीनामा दर्ता गराउने हाम्रो प्रयास सफल हुन सकेन।’
मुख्यमन्त्रीको राजीनामा पत्र कुनै राजनीतिक दलको चुनावी पर्चा जस्तो नभएको उनको भनाइ छ। मुख्यमन्त्रीको औपचारिक राजीनामा औपचारिक रूपमै दर्ता गर्न केही विधि र प्रक्रिया रहेको उनले बताए।
‘मुख्यमन्त्रीको राजीनामा पत्र कुनै चुनावी पर्चा होइन, कि ५ हजार छापेर बजारमा वितरण गर्दै प्रचार गरियोस्,’ मुख्यमन्त्री सिंहले भने।
मुख्यमन्त्री सिंहले राजीनामाको विषयमा पार्टीले ‘मिडिया ट्रायल’ गरेको आरोप लगाए।
‘पत्रकार सम्मेलनमार्फत् राजीनामा सार्वजनिक गर्ने तयारी गर्दै गर्दा दौडाहा टोलीले जस्तै २४ घण्टे अर्को पुर्जी सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अर्को मिडिया ट्रायल गरियो। मुख्यमन्त्रीले राजीनामा गरिरहेको छैन भन्ने गलत भाष्यलाई मलजल गर्ने गरी यो अर्को प्रपञ्च थियो।’
परामर्शको क्रममा गठबन्धनमै रहेका नेकपा एमाले र कांग्रेसका माननीयले राजीनामा दिए संघीयतामाथी खतरा हुनसक्ने भनेको उनको जिकिर छ। र राजीनामा दिँदा संघीयतामाथि प्रहार भए त्यसको जिम्मा आफूले लिनुपर्ने हुँदा तत्काल राजीनामा नदिन आग्रह गरेको उनको दाबी छ।
‘मेरो लागि एकातर्फ कुवा अर्कातर्फ गहिरो खाल्डोको स्थिति थियो। एकातर्फ समर्थन फिर्ताको विषय र अकोतर्फ संघीयता माथि केही भय दोष लाग्ने अवस्थामा म थिएँ,’ उनले भने।
बहालवाला मुख्यमन्त्रीले राजीनामा नदिँदै सरकार गठनका लागि दाबी पेश गरिनु दुःखद भएको उनी बताउँछन्।
जनमत पार्टीका अध्यक्ष र संसदीय दलका नेताले फरक-फरक अभिव्यक्ती आफूमाथि हतारिएर दिएको षडयन्त्रको संकेत भएको उनको टिप्पणी छ।
पार्टी अध्यक्ष राउतविरूद्ध आक्षेप
आफ्नो वक्तव्यका क्रममा मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतप्रति पनि कटाक्ष गरेका छन्।
उनले रामराजाप्रसाद सिंह र गजेन्द्रनारायण सिंहले गणतन्त्र, संघीयता र मधेसको अधिकारका लागि गरेको संघर्ष, बलिदान स्मरण गर्दै गणतन्त्र र संघीयता तथा मधेस आन्दोलनको अग्र स्थानमा रही आफूले पनि संघर्ष गरेको बताए।
‘जसको रगतमा संघीयता, गणतन्त्र र मधेसको अधिकारको रक्षाको बलिदान होस्, त्यसबाट संघीयता गणतन्त्रमाथि खतरा छ भनेर केहीबेर सामाजिक सञ्जालमा आत्मरती प्राप्त होला, कसैलाई केहीबेरका लागि खुशी बनाएर स्याबासी पाइएला तर वास्तविकता सार्वभौम जनताले बुझिसकेका छन्,’ उनले भने।
जनमत पार्टीका अध्यक्ष र संसदीय दलका नेताको फरक फरक अभिव्यक्तीले पनि आफूमाथि हतार हतार गरिएको षडयन्त्र बाहिरिएको उनको भनाइ छ ।
बहालवाला मुख्यमन्त्री कायम रहेको अवस्थामा असंवैधानिक रूपमा माननीय प्रदेश प्रमुखज्यू समक्ष बुझाइएको फरक फरक समर्थन पत्रमा हस्ताक्षर गर्नुको पछाडि संघीयता जोगाउनु रहेको पार्टी अध्यक्षले बताएको उनले जानकारी गराए।
निर्देशन बमोजिम योजनाहरू छनोट गर्दा पनि आरोप लगाउने काम पार्टीबाट भएको र पर्यटन मन्त्रालयमा बजेटलाई टुक्रे-टुक्रे योजना बनाई ५–६ लाख बजेट राख्ने कार्य गर्नेको विषयमा पार्टी अध्यक्षलाई जानकारी गराउँदा पार्टीले उल्टै प्रोत्साहन गरेको उनको आरोप छ।
‘कसको मिलेमतोमा बजेटमा टुक्रै योजना राखियो यस विषयले पनि प्रष्ट हुन्छ। पार्टीका लागि मैले गरेको समर्पण नै मेरो लागि समस्या भयो,’ मुख्यमन्त्री सिंहले भने।
पार्टीकै निर्देशनमा राज्यमन्त्री नियुक्त गरेर पार्टीकै निर्देशनमा हटाउँदा समेत आफ्नो गल्ती ढाकछोप गर्न पार्टी र नेतृत्वले आफूलाई स्पष्टीकरण सोधेर सामाजिक संजालमा चरित्र हत्या गरेको उनले बताए।
कार्यकालमा उदाहरणीय कार्य भएको दाबी
आफ्नो नेतृत्वको प्रदेश सरकारले राम्रो काम गरको दाबी गरेका छन्।
प्रदेश सरकार चलायमान रहँदा धेरै सूचकाङ्कहरूमा फड्को मारेको उनको भनाइ छ।
संघीयताको उत्तम अभ्यासको एक दशक नजिक पुगिरहँदा आफू नेतृत्वको सरकारले अघिल्लो आर्थिक वर्षमा ७९ दशमलव ४८ प्रतिशत खर्च गरेर अहिले सम्मकै सबैभन्दा बढी खर्चको रेकर्ड कायम राखेको उनले बताए।
पछिल्ला वर्षहरूभन्दा दोब्बर राजश्व संकलन गर्दै प्रदेशलाई आन्तरिक आयतर्फ सक्षम बनाउने कार्य भएको, हरेक क्षेत्रमा सरकारको अनुभूति हुने गरी काम गरेको, प्रभावकारी अनुगमनका कारण स्वास्थ्य र शिक्षा क्षेत्रका माफियाहरूको भागाभाग भएको उनले बताए।
‘दिनभरी कार्यालयको काम सकेर एक मिनेट पनि आराम नगरि रातभर जाग्राम रहँदै अस्पताल अनुगमन गरे,’ उनले भने, ‘जसका कारण मापदण्ड विपरित सञ्चालनमा रहेका करिब २ सय अस्पतालहरू बन्द भए। स्वास्थ्य सेवालाई नाफाको व्यापार बनाएर नागरिकको रगतमा आफ्नो कमाई खोजिरहेकाहरू भागाभाग भए।’
प्रदेशमा दिनप्रतिदिन खस्किँदै गएको एसइई परिक्षालाई मर्यादित बनाएर परीक्षाका चोरी हुने गरेको भाष्यलाई चिर्ने प्रयास गर्दा केहि शिक्षा अधिकारी र शिक्षा माफियाहरु आफूविरूद्ध लागेको उनको भनाइ छ।
यस्तै, आफू चोरीको अड्डा बनाएर कमाई खाने भाडो बनाएकाहरूको तारोमा परेको, व्यवस्थित र मर्यादित परीक्षा नभए प्रदेश सरकारले यसको जिम्मेवारी नलिने भन्दै प्रदेश सरकारले परीक्षाबाट आफूलाई अलग गरेपछि अघिल्लो वर्षदेखि एसइई परीक्षा प्रदेश सरकारको मातहतमा आएको उनले बताए।
मुख्यमन्त्री सिंहले आफूले अवैध उत्खनन, पेट्रोल पम्पहरूमा भइरहेको ठगी तथा कालोबजारी, राजमार्गका लाइन होटेलमा गुणस्तरहिन खाना दिएर यात्रुहरुसँग पैसा निमोठिने गरि भइरहेका गलत क्रियाकलापविरूद्ध पनि एक्सन लिएको बताए।
त्यसैगरी सुधार केन्द्रहरूको अवस्थाबारे प्रभावकारी रूपमा अनुगमन गर्दै मापदण्डअनुसार सञ्चालनको बाटोमा ल्याएको जानकारी गराए।
विगतमा मुख्यमन्त्री कार्यालयमा मात्र १ अर्ब ३३ करोड बेरूजु भएकोमा आफ्नो कार्यकालमा बेरुजु शून्य बनाएको उनले सदनलाई जानकारी गराए।
प्रदेश लोकसेवा आयोगलाई सक्षम बनाउँदै 'आफ्नो प्रदेश आफ्नो कर्मचारी' भन्ने नारालाई सार्थक बनाउने दिशामा ठूलो सफलता प्राप्त हुन थालेको मुख्यमन्त्री सिंहको भनाइ छ।