कसैलाई सेयर बजार सुधार भनेको के हो भन्ने प्रश्न गर्नुहोस्, सहज उत्तर आउनेछ— नेप्सेको बढोत्तरी।
यही प्रश्न तपाईंलाई सोधियो भने पनि सम्भवतः तपाईंले पनि त्यसै भन्नुहुन्छ होला!
'नेप्से बढ्यो भने सेयर बजार सुधार भइहाल्छ नि! नेप्से उकालो लाग्यो भने लगानीकर्ताले कमाउँछन्। ब्रोकर, स्टक एक्सचेन्ज, सेबोन, सरकार सबैको आम्दानी बढ्छ।'
पत्रपत्रिका, अनलाइन, रेडियो, टेलिभिजनमा पनि यस्तै आसयका सामग्री आउँछन्। नेप्से बढेको दिनमा 'सेयर बजारमा सुधार' भन्ने समाचार यत्रतत्र छाएको हुन्छ।
समाचार पढ्दा यस्तो लाग्छ, नेप्से बढ्दा लगानीकर्ताभन्दा संवाददाता बढी खुसी छन्।
यस किसिमको बुझाइ कुनै व्यक्तिगत लगानीकर्ताको हकमा ठिकै होला। तर बजारसँग जोडिएका अरू पक्ष (सरकार, नियामक, सञ्चालक, मिडिया, बौद्धिक समुदाय) को दृष्टिकोण पनि यस्तै हुनुपर्ने हो? नीतिनिर्माण र निर्णायक तहमा बसेकाले पनि यस्तै सरल सोच राख्नु उचित होला?
हाम्रा शासकले ठ्याक्कै यसरी नै सोच्छन् भनेर म भन्न सक्दिनँ। तर उनीहरूका अभिव्यक्ति र सार्वजनिक भएका कार्यक्रमहरू '८० लाख' सेयर लगानीकर्तालाई किन चिढ्याउने भन्ने आसयबाट प्रेरित हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।
मेरो अनुमानजस्तै सेयर बजारका लगानीकर्तालाई 'खुसी बनाउने' सोचबाट नेतृत्व परिचालित भयो भने त्यसले कस्तो परिणाम ल्याऊला? बजार सरोकारवालाको सोच तथ्यपरक भएन भने के होला? सेयर लगानीकर्ताको हितलाई भनेर बेलाबेला चर्चामा आउने कार्यक्रम र चालिएका कदमहरूले दुर्घटना पो निम्त्याउने हुन् कि?
तीन कर्जा उछाल
केही महिनाअघि नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वीरेन्द्रबहादुर बुढाको 'एन एनाटोमी अफ नेपाल्स क्रेडिट बुम १९९०/२०२५' शीर्षकको कार्यपत्रमा बहुदल पुनर्स्थापनापछिका तीन वटा (२०५०/५२, २०६५/६७ र २०७७/७९) कर्जा उछाल (क्रेडिट बुम) को चर्चा गरिएको छ।
कार्यपत्र अनुसार प्रत्येक बुमपछिका तीन वर्षमा जीडीपी वृद्धिदर औसतभन्दा कम भएको छ। नेप्से परिसूचकमा गिरावट देखिएको छ भने व्यापार घाटा फराकिलो भएको छ।
अध्ययनमा उल्लेख भएको समयमा के-कस्ता नीतिगत र संस्थागत परिवर्तन गरिएका थिए र त्यसले बैंकिङ, सेयर बजार र वास्तविक आर्थिक क्रियाकलापमा कस्तो असर गर्यो भन्ने चर्चा छ।
ती नीतिगत तथा संस्थागत परिवर्तनले वित्तीय स्रोतहरूलाई उपयुक्त क्षेत्रमा प्रसार गर्यो, त्यसले कस्ता आर्थिक गतिविधिलाई प्रोत्साहन गर्यो, सम्पत्तिहरूको मूल्य टिकाउ भयो कि भएन भन्ने चर्चा उक्त अध्ययनमा छ।
कार्यपत्रमा उल्लिखित प्रश्नहरूको जबाफ नकारात्मक भेटिन्छ।
हाल ब्याज घटेको छ। बैंकहरू कर्जा प्रदान गर्न तत्पर छन्। तर कर्जाको माग छैन।
त्यस कारण कर्जा सहज बनाएर सेयरको माग बढाउँछु भनेर मात्रै नहुने रहेछ। सहज कर्जा र नेप्सेको बढोत्तरीबाहेक अरू पनि धेरै कुरा छन्। केवल नेप्सेको बढोत्तरी मात्रै सेयर बजार सुधारको सूचक हुन सक्दैन भन्ने कुरा बुझ्नु आवश्यक छ।
सेयर बजारको चरित्र
सेयर बजारको चरित्र र दिगो विकासका सम्बन्धमा थुप्रै अध्ययन भएका छन्, तर हाम्रो समाज त्यसमा बेखबरजस्तो छ। अथवा हामीले थाहा पाएर पनि थाहा नपाएजस्तो गरेका छ। पहिला नेप्से बढाऔं, बाँकी कुरा सोच्दै गरौंला भन्ने मानसिकताबाट हामी चलिरहेका छौं।
हाम्रो ध्याउन्न सम्पत्ति (सेयर, घरजग्गा) को अल्पकालीन बजार मूल्य वृद्धिमा केन्द्रित छ। सम्पत्तिको गुणात्मक मूल्य वृद्धिमा हाम्रो चासो कम छ। कुनै सम्पत्तिले थप सम्पत्ति तथा आय प्रवाह सिर्जना गर्न सक्ने गरी क्षमता विकास गर्ने, पुँजीको उत्पादकत्व बढाउनेतर्फ हाम्रो ध्यान गएको छैन।
सेयर बजार राष्ट्रिय अर्थतन्त्रभन्दा अलग्गै टापू होइन। सेयर बजारले वास्तविक अर्थतन्त्रलाई प्रभाव पार्छ र आफै पनि त्यसबाट प्रभावित हुन्छ। त्यस कारण जिम्मेवार सरकारहरूले उत्पादन, खर्च, बचत, लगानी तथा सेयर बजारको उतारचढावबीचको सम्बन्ध पहिल्याउने र तदनुरूप नीति निर्माण गर्ने अभ्यास गर्दै आएका छन्।
स्टक एक्सचेन्जहरूको विश्व संस्था वर्ल्ड फेडरेसन अफ एक्सचेन्जेजका अर्थशास्त्री इसाक डेमिरको कार्यपत्र 'स्टक मार्केट ट्रान्समिसन टू द रियल इकोनोमीः ए म्याक्रो-फाइनान्स डिएसजिई एप्रोच' अघिल्लो महिना सार्वजनिक भएको थियो।
त्यसमा उनले सेयर बजार र वास्तविक अर्थतन्त्रबीचको प्रसारण प्रक्रिया विश्लेषण गरेका छन्।
अर्थतन्त्र कसरी चल्छ, विभिन्न आर्थिक पक्षहरूबीच कस्तो सम्बन्ध हुन्छ र अप्रत्याशित घटनाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्ने कुरा बुझ्न प्रयोग गरिने एउटा आर्थिक मोडल डिएसजिई हो।
उदाहरणका लागि, सामान्यतया केन्द्रीय बैंकले ब्याजदर घटायो भने व्यवसायीका लागि ऋण सस्तो हुन्छ र लगानी बढ्न सक्छ भन्ने अनुमान गरिन्छ। यसैगरी घरपरिवारका लागि पनि ऋण सस्तो हुन्छ र उपभोग बढ्न सक्छ भन्ने मान्यता हुन्छ। यस आधारमा समग्र अर्थतन्त्रमा उत्पादन, रोजगारी, मुद्रास्फीति, आयात र विनिमय दरमा सकारात्मक परिवर्तन हुनुपर्छ।
तर डिएसजिईले यति मात्र हेर्दैन। ब्याजदर घट्दा मुद्रास्फीति बढ्न सक्छ, त्यसले वास्तविक ब्याजदरमा प्रभाव पार्न सक्छ र केन्द्रीय बैंकले संकुचनकारी मौद्रिक नीति लिनुपर्ने हुन सक्छ। यसरी अर्थतन्त्रका विभिन्न पक्षबीचको अन्तरक्रिया र समय क्रमलाई मोडलमा समेटिन्छ।
डिएसजिईले केही मान्यता राखेर अर्थतन्त्रलाई गणितीय रूपमा प्रस्तुत गर्छ। व्यक्ति वा कम्पनीले कसरी निर्णय गर्छन्, भविष्यबारे कस्तो अपेक्षा राख्छन् र बजारले कसरी प्रतिक्रिया दिन्छ भन्ने विषयमा निश्चित मान्यताहरू राखिन्छन्।
मोडलमा प्रयोग गरिएका मान्यता गलत भए त्यसबाट प्राप्त नतिजा पनि वास्तविकतासँग मेल खाँदैन।
डेमिरको अध्ययनमा पहिलो विषय सेयर बजारको जोखिम सम्बन्धमा आम लगानीकर्ताको धारणा, सेयरहरूको उपलब्धता (तरलता) र बजार सहभागीको भावनामा आउने उतारचढावले सिर्जना गर्ने सेयरको अल्पकालीन मूल्य परिवर्तन हो।
दोस्रो, सेयर बजारको फैलावट, गहिराइ र संस्थागत सुधारले दीर्घकालमा ल्याउने संरचनात्मक परिवर्तन हो।
यस किसिमको प्रभाव उन्नत (उच्च आय वर्गका मुलुक) र उदीयमान (मध्यम आय वर्गका मुलुक) अर्थतन्त्रहरूमा कस्तो हुन्छ भन्ने विश्लेषण पनि अध्ययनले गरेको छ। यसमा १३ वटा उन्नत र ११ वटा उदीयमान अर्थतन्त्र गरी २४ वटा देशका सन् २००३ देखि २०१९ सम्मको त्रैमासिक विवरण प्रयोग गरी निष्कर्ष निकालिएको छ।
सेयर बजार प्रसारणका चार च्यानल
डेमिरको मोडलले सेयर बजारलाई वास्तविक अर्थतन्त्रसँग जोड्ने चारवटा च्यानलहरूको विश्लेषण गरेको छ। पहिले पनि अनुसन्धाताहरूले यी चारै प्रसारण च्यानलका बारेमा छुट्टाछुट्टै अध्ययन गरेका थिए।
अघिल्ला अध्ययनहरूबाट स्थापित भएका सैद्धान्तिक आधारमा डेमिरले प्रयोगात्मक शोधविधि प्रयोग गरी निष्कर्ष निकालेका हुन्।
अध्ययनले समेटेको पहिलो प्रसारण च्यानल सेयरको बजार मूल्य हो। सेयरको बजार मूल्य वृद्धिले कम्पनीलाई थप लगानी गर्ने प्रत्यक्ष प्रोत्साहन प्रदान गर्छ। सेयर मूल्यमा आउने वृद्धिले कम्पनीहरूलाई विस्तारका लागि आवश्यक वित्तीय पुँजी संकलन गर्न र भौतिक पुँजी निर्माण गर्न सजिलो बनाउँछ।
बोलिचालीको भाषामा भन्दा, यसले कम्पनीहरूलाई नयाँ सेयर जारी गरेर पुँजी बढाउन र नयाँ कारखाना तथा प्रविधिमा लगानी गर्न सजिलो बनाउँछ।
अर्थतन्त्र जति उन्नत हुन्छ, लगानी र सेयर बजारको मूल्य घटबढबीचको सम्बन्ध त्यति नै बलियो हुन्छ भन्ने मान्यता राखिन्छ। डेमिरको अध्ययनले पनि सेयर बजारको उतारचढावका कारण कम्पनीहरूले गर्ने लगानी सम्बन्धी निर्णयमा परेको प्रभाव उन्नत अर्थतन्त्रमा उच्च देखाएको छ।
यसैगरी दोस्रो च्यानल भनेको सेयर मूल्य बढ्दा घरायसी सम्पत्तिमा विस्तार हुने अवस्था हो। यसले जनसाधारणको उपभोग प्रवृत्ति तथा समग्र मागमा बढोत्तरी हुन्छ। सेयरको मूल्यमा हुने वृद्धिले 'सम्पत्ति प्रभाव' मार्फत खर्च बढाउँछ।
सेयर बजार बढ्दा मान्छेहरूलाई आफू धनी भएको जस्तो लाग्छ र उपभोग खर्च बढाउँछन्। यसले वस्तु तथा सेवाको माग बढाउँछ। उद्यमी व्यवसायीलाई उत्पादनका लागि थप लगानी गर्ने प्रोत्साहन मिल्छ।
यो प्रचलित अर्थशास्त्रीय सिद्धान्तलाई डेमिरले उन्नत अर्थतन्त्र र उदीयमान अर्थतन्त्रहरूमा विभाजन गरेर विश्लेषण गरेका छन्। अध्ययनले उपभोग प्रभाव उदीयमान अर्थतन्त्रहरूमा उच्च देखाएको छ।
तेस्रो च्यानल भनेको कम्पनीको वित्तीय लागत न्यूनीकरण हो। कम्पनीको खुद सम्पत्ति बढ्दा उसले थप पुँजी जुटाउन बढी प्रिमियम तिर्नु पर्दैन। साँवा फिर्ता, ब्याज वा लाभांशका रूपमा कम प्रिमियम तिरे पुग्ने अवस्थामा कम्पनीको वित्तीय लागत घट्छ।
जब कम्पनीको खुद सम्पत्ति कमजोर हुन्छ, बाह्य वित्त प्रिमियम बढ्छ, जसले लगानीको वास्तविक लागत बढाउँछ।
यसको विपरीत सेयर बजारको गहिराइ, तरलता र संस्थागत पारदर्शिता बढ्दा गलत क्षेत्रमा पुँजीको प्रवाह रोकिन्छ। पुँजी कम उत्पादक क्षेत्रबाट उच्च उत्पादकत्व र नवप्रवर्तनकारी कम्पनीहरूतर्फ प्रवाह हुन्छ।
वित्तीय बाधा-अड्चन हटाउने गरी नीतिगत तथा संस्थागत सुधारका लागि उदीयमान अर्थतन्त्रमा पर्याप्त स्थान हुने भएकाले पुँजीगत लागत घटाउन गरिएका प्रयासले उच्च प्रतिफल दिने अध्ययनले देखाएको छ।
पुँजीको उत्पादकत्व वृद्धि चौथो च्यानल हो। उही परिमाणमा पुँजीको प्रयोग गरी पहिलेभन्दा बढी परिमाणमा उत्पादन हासिल हुने अवस्थालाई उत्पादकत्व वृद्धि भएको मानिन्छ। सेयर बजारको विकासले पुँजीलाई उच्च उत्पादकत्व भएका क्षेत्रतर्फ डोहोर्याउँछ भन्ने मान्यता छ।
डेमिरले सेयर बजारको विकासलाई बजारको गहिराइ र फैलावटमा आएको सुधार भनी परिभाषित गरेका छन्। गहिरो सेयर बजारमा सहभागीले चाहिएजति सेयर किनबेच गर्न सक्छन्। कृषि, सेवा, व्यापार, उत्पादन, वित्तलगायतका सबैजसो आर्थिक क्रियाकलापलाई सेयर बजारले समेट्छ भने त्यसलाई फैलिएको मान्नुपर्छ।
सबैजसो पेसा व्यवसायका मान्छेलाई सेयर बजारको लाभहानिका बारेमा आधारभूत जानकारी हुन्छ। यस किसिमको सेयर बजार विकासले पुँजीको दक्षतालाई बढाउँछ। यसबाट अर्थतन्त्रको समग्र उत्पादकत्व बढ्छ।
यस सन्दर्भमा पनि उदीयमान अर्थतन्त्रहरूमा आधारभूत तहका बाधा हुने र त्यस्ता बाधा हटाउँदा उत्पादकत्व ह्वात्तै बढ्ने अध्ययनले देखाएको छ।
कुन च्यानल प्रभावकारी?
डेमिरको अध्ययनले सेयर मूल्यको अल्पकालीन उतारचढावले वास्तविक अर्थतन्त्रमा पर्ने असर न्यून हुन्छ भन्ने देखाएको छ। अर्थात्, सेयर बजारको अल्पकालीन उतारचढाव केही बजार सहभागीका लागि लाभहानिको विषय हुन सक्छ, तर समग्र अर्थतन्त्रमा यसको बलियो प्रभाव हुँदैन।
अल्पअवधिको सेयर बजार विचलनले राष्ट्रिय उत्पादन, रोजगारी सिर्जना लगायतका समष्टिगत आर्थिक सूचकमा परिवर्तन ल्याउँदैन। सेयर बजारले सिर्जना गर्ने 'सम्पत्ति प्रभाव' ले कुल गार्हस्थ्य उत्पादनलाई छुँदैन।
बरू पुँजीको उत्पादकत्व न्यून हुँदा दीर्घकालीन उत्पादन र लगानी लगभग शून्य हुन्छ। अनुकूल नीतिगत तथा संस्थागत संरचनाको उपलब्धताले वित्तीय प्रसारकको गतिलाई तीव्र बनाउँछ।
अध्ययनले उन्नत र विकासोन्मुख अर्थतन्त्रहरूबीच दुई ठूला संरचनात्मक भिन्नताहरू उजागर गरेको छ। पहिलो, उन्नत अर्थतन्त्रहरूमा सेयर बजार गहिरो र फराकिलो हुने भएकाले सेयर मूल्यको अल्पकालीन उतारचढावले लगानी र उपभोगमा बढी प्रभाव पार्छ।
दोस्रो, विकासोन्मुख अर्थतन्त्रहरूमा भने सुरुवाती वित्तीय अड्चनहरू धेरै हुने भएकाले सेयर बजारको संरचनात्मक सुधारले उत्पादकत्व र लगानी बढाउँछ। यसले पुँजी निर्माणका बाधाहरूलाई हटाएर दोहोरो लाभ दिन्छ।
हाम्रा लागि पाठ
उल्लिखित अध्ययनहरूबाट नयाँ कुरा त केही पनि आएन भन्ने पाठकहरूलाई लाग्न सक्छ। यसमा सबै सामान्य ज्ञानकै कुरा छन्, सबैलाई थाहा भएकै कुरा आएका छन्।
हो, अध्ययनले एकदमै नयाँ निष्कर्ष दिएका छैनन्। तर सेयर बजार र अर्थतन्त्रको सम्बन्धबारे हामीले बिर्सिएका कुरा सम्झाइदिएको छ।
वित्तीय संकटहरूले आर्थिक गतिविधिमा गम्भीर नकारात्मक प्रभाव पार्छन्। त्यस कारण यस्ता विषयमा अनुसन्धान हुनुपर्छ। त्यस्ता अध्ययनहरूमा संकटलाई कसरी मापन गर्ने, पूर्वानुमान गर्ने र आर्थिक विस्तार र संकुचनको सम्बन्ध केलाउने कुरामा स्पष्टता चाहिन्छ।
संकट मापनका लागि ऐतिहासिक विवरणलाई मुख्य आधारका रूपमा लिनुपर्छ। तब मात्र विगतमा ऋण विस्तार र सम्पत्तिको उच्च मूल्यले संकट निम्त्याएको कुरा हेक्का रहन्छ। तब मात्र हाम्रो जोड सेयरको बजार मूल्य बढाउने होइन, त्यसको अन्तर्निहित मूल्य बढाउनेमा हुन्छ।
संकटहरू संयोगवश आउँदैनन्। संकट आउनुअघि देखिने आर्थिक उछाल बुझ्नुपर्छ। सेयर बजारको अल्पकालीन उतारचढावले यान्त्रिक रूपमा तत्कालै र स्वतः लगानीमा ठूलो असर गर्दैन।
हाम्रो जस्तो अनौपचारिक आर्थिक गतिविधि बढी हुने देशमा झन् एउटा बजार (वित्त, वस्तु, श्रम आदि) ले अर्कोमा पार्ने प्रभावलाई तुरुन्तै र स्पष्ट रूपमा खुट्याउन कठिन हुन्छ।
डेमिरको अध्ययनले उन्नत र उदीयमान अर्थतन्त्रका लागि छुट्टाछुट्टै सुझाव दिएको छ।
विकसित देशहरूका लागि सेयर बजारको स्थिरता महत्त्वपूर्ण विषय हुन्छ। विकासोन्मुख देशहरूले सेयर बजारको पहुँच र संस्थागत सुधारमार्फत उत्पादकत्व बढाउनुपर्छ।
हाम्रो जस्तो अल्पविकसित देशका लागि उन्नत र उदीयमान मुलुकले सामना गरिरहेका बाहेक थप चुनौती छन्। सेयर बजारको गहिराइ, फैलावट, संस्थागत पारदर्शिताका क्षेत्रमा हामीले धेरै काम गर्न बाँकी छ।
सेयर बजार केवल सट्टेबाजी वा वित्तीय कारोबार गर्ने थलो होइन, यो वास्तविक आर्थिक वृद्धिको महत्त्वपूर्ण इन्जिन हो भन्ने हेक्का गर्नुपर्छ। सेयर बजारको स्थिरता, पहुँच र संस्थागत सुशासन हाम्रा लागि आवश्यक छ नै, लगानीकर्ताको संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण छ।
व्यापक संरचनात्मक सुधारबाट मात्र पुँजीको गलत बाँडफाँट रोकिन्छ। पुँजी न्यून उत्पादक क्षेत्रबाट उच्च उत्पादकत्व र नवप्रवर्तनकारी क्षेत्रमा प्रवाह हुन्छ।
यसलाई साँचो अर्थमा सेयर बजारको सुधार भन्न सकिन्छ। तब मात्र हामी दीर्घकालीन आर्थिक वृद्धिको मार्गमा अघि बढिरहेका हुन्छौं।
एक्सः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)