मधेस प्रदेशको मुख्यमन्त्री लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले प्रेस विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी सहित पाँच राजनीतिक दलका ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा प्रदेश सभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) लाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेको जानकारी गराएका छन्।
उक्त धारामा प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ।
सोनल मधेस आन्दोलन समयमा अग्रपंक्तिमा रहेर काम गरेका नेता हुन्। ०७९ को निर्वाचनमा उनी बारा क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। सोनलले १२ हजार १८१ मत प्राप्त गरेका थिए। पहिलो प्रदेश सभामा पनि सोही क्षेत्रबाट निर्वाचित उनी पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दीको पालामा भौतिक पूर्वाधार मन्त्री बनेका थिए।
मुख्यमन्त्री पदका लागि दुई वटा दाबी पेस भएको थियो। सोनललाई मुख्यमन्त्री बनाउने गरी ५ दल र नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने गरी ३ दलको समर्थन रहेको दाबी सहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता भएको थियो।
यादवलाई एमाले २३, कांग्रेस २२ र जनमत १३ गरी ५८ जना सदस्यको समर्थन रहेको दाबी गरिएको थियो। तर जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले सोनललाई मुख्यमन्त्री पदमा दिएको समर्थन आधिकारिक रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए।
जनमत पार्टीका प्रदेश सभा सदस्य रहेको निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनस्वराज पार्टीका सनाखत गरिसकेका छन्।
निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्।
