भदौ २३ र २४ गतेको घटनापछि नेपाली सेनाले पहिलो पटक पत्रकार सम्मेलनको आयोजना गरेको छ।
शुक्रबार दिउँसो २ बजेदेखि सुरू भएको पत्रकार सम्मेलनको सुरूआतमै जेनजी आन्दोलनको विषय उठेको थियो।
सेनाले पत्रकार सम्मेलन आयोजना गर्दा सुरूमा प्रस्तुति पेस गर्छ, त्यसपछि प्रश्नोत्तरमार्फत जिज्ञासाहरूका उत्तर दिने गरेको छ।
युद्धकार्य विभागका विभागीय प्रमुख तथा उपरथी अनुपजंग थापाले सुरूआती मन्तव्यमै जेनजी आन्दोलनको प्रसंग झिके, सँगसँगै घुमाउरो तरिकाले सिंहदरबार नजोगाएको आरोपबारे जबाफ दिए।
उनले परिस्थितिअनुसार सेनाले वास्तविकता मूल्यांकन गरेर निर्णय लिइएको भए पनि अहिले छिटपुट आलोचना भइरहेको बताएका हुन्।
‘त्यसबेलाको वास्तविकता तथा समग्र नेपालीको मनमा उब्जेको भावनाहरू बिर्सी केही ठाउँमा नेपाली सेनाले घातक शक्ति प्रयोग नगरेको भन्ने लगायतका केही छिटफुट आलोचनाहरू आजभोलि सुन्नमा आएका छन्। आजको मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको वातावरणमा यो आफैमा विरोधाभास पूर्ण देखिन्छ किनभने सेनाको स्पष्ट प्राथमिकता जनधनको सुरक्षा र राष्ट्र एकता नै हो,’ उपरथी थापाले सेनाले सुरक्षा दिने निकायमा भएका आगजनीबारे भने।
जेनजी आन्दोलन नेपालमा मात्रै विश्वभरि नै फैलिरहेको अवस्थामा नेपालमा भने अचानक भएको उनको भनाइ थियो। अन्यत्र क्रमबद्ध रूपमा फैलिएको भए पनि नेपालमा ‘इरप्सन’ भएको उनले प्रस्टीकरण दिए।
‘हालको जेनजी आन्दोलनका विश्वव्यापी तरंगहरू केही अघिबाटै देखिँदै आए पनि नेपालमा घटना एउटा इभोलुसनको रूपमा क्रमबद्ध रूपमा नभई अचानक इरप्सनको रूपमा प्रस्तुत हुन आइपुग्यो। नेपाली सेनाले तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्नको लागि सुरक्षा अवस्थाको वस्तुपरक ढंगले मूल्यांकन गरी आवश्यकताको सिद्धान्तलाई मनन गरी आवश्यक पहलता लिएको थियो,’ उनले भने।
स्वागत मन्तव्यपछि युद्धकार्य निर्देशनालयका प्रमुख तथा सहायक रथी मनोज थापाले प्रस्तुति दिए।
सेनाले पत्रकार सम्मेलन गर्दा समग्र कामकारबाहीबारे गर्छ। यसबीच शुक्रबारको सम्मेलनमा गरिएको जेनजी आन्दोलनसँगै बाढी पहिरो, शान्ति सुरक्षा, फास्ट ट्र्याक लगायत पनि समेटिए।
तर यसबीच प्राथमिकता भने जेनजी आन्दोलनले पायो।
यो पत्रकार सम्मेलनमार्फत सेनाले कतिपय उठेका प्रश्नको प्रस्टीकरण समेत दियो।
सहायक रथी थापाले नेपाली सेनाले भदौ २३ र २४ गतेको घटनापछि २८ गतेसम्म खटिएको बताए।
‘भदौ २५ गते र त्यसपश्चात २८ गते बिहानसम्म देशभरि नेपाली सेना शान्ति सुरक्षाका लागि तैनाथ भएको थियो। यसै अवधिभर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा विभिन्न किसिमका सुरक्षाका लागि परिचालन भएको थियो,’ उनले भने।
उनले प्रदर्शनकारीहरू २२ जनाको मृत्यु भएको, तीन जना प्रहरी, १० जना कैदीबन्दी र ४१ जनाको अन्य कारणले मृत्यु भएको बताए।
सेनाले प्रदर्शनमा सुरक्षाकर्मीका ९७८ वटा हतियार लुटिएको र त्यसबारे ५८६ वटा बरामद भएको पनि बताएको छ।
त्यसबाहेक प्रदर्शनको क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दल पार्टी कार्यालय र ३०७ वटा प्रहरीका कार्यालयमा तोडफोड तथा आगजनी भएको सेनाले जानकारी दिएको छ।
त्यसैगरी भदौ २४ गते सुरक्षा चुनौती बढेपछि भिभिआइपी, भिआइपी र उनीहरूका परिवारसहित ६१ जनाको हेलिकप्टरबाट उद्धार गरेको पनि बताएको छ। त्यस्तै महाराजगन्ज प्रहरी वृत्तबाट २३ जना प्रहरीको हवाई उद्धार गरेको थियो।
जमिनको माध्यमबाट १२९ जनाको उद्धार भएको थियो।
सेनाले गतिविधिबारे जानकारी दिएपछि पत्रकारको पहिलो प्रश्न थियो- सिंहदरबार किन जोगाइएन?
यो प्रश्न सेनालाई अपेक्षित नै थियो।
त्यसबारे युद्ध कार्य विभाग प्रमुख उपरथी थापाले भने, ‘सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु निकै दुःखद् हो, यो प्रश्नको जबाफ अहिलेको कम्फर्टेबल वर्तमान अवस्थामा भन्दा पनि तत्कालीन अवस्थामा रहेर मनन गर्दा अझ दुरूस्त अवस्थाले बुझ्न सक्छौं।’
उनका अनुसार त्यतिबेला अवस्था अत्यन्तै तनावपूर्ण थियो र आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएका थिए।
'सिंहदरबारकै कुरा गर्दा अत्यन्त संयमता अपनाई घातक शक्तिभन्दा कमका उपायहरू ‘लेस देन लिथल’ (कम घातक) उपाय अपनाएकै हो। ४६ राउन्ड हवाई फायर र दुई दुई पटक मेन गेटबाट छिरेको उत्तेजित भीडलाई धकेलेर, सम्झाएर फर्काइएको थियो। पछि ठूलो संख्यामा चारै दिशाबाट अत्यन्तै आक्रोशित भएर छिरेपछि ठूलो मानवीय क्षतिबाट बाहेक नरोकिने कुरा प्रस्ट देखिन्थ्यो। त्यसकारण समग्र घटनामा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्वपूर्ण रहेको बुझाइ यहाँहरूलाई अनुरोध गर्दछु,' थापाले भने।
सिंहदरबारभित्र भीड छिरिसकेपछि भने आगजनीबाट जोगाउनका लागि राष्ट्रिय सुरक्षा परिषद, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा रहेको डेटा सेन्टरलाई जोगाएको पनि उनले बताए।
‘यदि डेटा सेन्टर जलेको भए, केही दिनभित्रै सम्पूर्ण सरकारी प्रणाली ठप्प हुने अवस्था आउँथ्यो। अहिले राज्यको तलब, भुक्तानी, लेखा–जोखा सबै त्यहीँबाट सञ्चालन भइरहेको छ,’ उनले भने।
‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जोगायौं’
सहायक रथी मनोज थापाले प्रदर्शनकारीहरूले प्रज्वलनशील वस्तु लिएर आगजनी गर्न आएको पनि उनले बताए।
भेला भएका दुई हजार बढी प्रदर्शनकारी आएको र १५ जना पेट्रोल जेरीक्यान लिएर विमानस्थलमा आएको पनि उनले बताए।
‘धेरैलाई थाहा नभएको विषयमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आक्रमण गर्ने उद्देश्यका साथ करिब दुई हजार जना प्रदर्शनकारीहरू र त्यसमध्ये १५ जना पेट्रोल जेरिक्यान सहित आएका थिए। विभिन्न स्थानहरूबाट विमानस्थलभित्र प्रवेश गर्न खोज्ने प्रदर्शनकारीहरूबाट सुरक्षित बनाइयो तथा भदौ २५ गतेबाट नै विमानस्थल पूर्ण रूपमा सञ्चालन गरिएको थियो,’ उनले भने।
विमानस्थलमा तोडफोड र बन्द हुने अवस्था आएको भएमा अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने उनले बताए।
माओवादीबाट समायोजन भएकाहरूबारे पनि सेनालाई प्रश्न
माओवादीबाट समायोजन भएकाबारे पनि पत्रकारले प्रश्न गरेका थिए।
त्यसविषयमा उपरथी अनुपजंग थापाले भने, ‘पूर्वलडाकूहरूको त्यसबखत समायोजन भयो। अहिले संसारभर यसलाई असल उदाहरणको रूपमा पठनपाठन पढाइ भइरहेको छ। यो ह्वाट राइट लुक्स लाइकको उदाहरण भइरहेको छ। र निर्धक्क रहनुस् तपाईंले उठाएका र विभिन्न ठाउँमा छिटफुट उठेका त्यो विषयमा कुनै पनि सत्यता छैन। नेपाली सेना एक ढिक्का छ।’
त्यस्तै नेपाली सेनामा चार प्रमुख राजनीतिक दलमा विभाजन भएको पनि प्रश्न उठेको थियो।
त्यसमा पनि नेपाली सेना कुनै पनि पक्षमा नभएको बताएको छ।
‘नेपाली सेना चार धारमा उभिएको भन्ने कुरा। नेपाली सेना कुनै पनि पक्षमा होइन। नेपाली सेना राष्ट्रको पक्षमा हो,’ उनले भने।
‘सेनाले राजनीति गर्दैन’
उपरथी थापाले नेपाली सेनाले राजनीति नगर्ने पनि बताएका थिए। कतिपय विवादित पात्रहरूसँग पनि सेनाले वार्ता गरेको भन्ने विषयमा उक्त कुरा बताएको हो।
‘यो कुरा स्पष्ट छ सेनाले राजनीति गर्दैन। तत्कालीन परिस्थितिमा शान्ति सुरक्षा र अमनचयन गर्नका लागि नेपाली सेनाले सुरक्षाको अवस्थाको वस्तुगत ढंगले मूल्यांकन गरी आवश्यक पहलता लिएको मात्र हो। परिणामबाटै कस्तो खालको नियत थियो भन्ने आकलन गर्न सकिन्छ,’ उनले भने।
उनले शान्तिपूर्ण निकास तथा अराजक वातावरण न्यूनीकरण गर्नकै लागि विभिन्न पक्षसँग छलफल तथा वार्ता गरिएको पनि बताए।
‘शान्तिपूर्ण निकास र अराजक वातावरण न्यूनीकरण गर्नकै लागि सबै पक्षसँग छलफल गर्न अपरिहार्य सम्झेको हो। कुनैकुनै समूह त तीन वर्षदेखि आन्दोलनरत रहेको, तत्कालीन परिवेशमा राजनीतिक दलहरूसँग छलफलमा उत्रिने अवस्था पनि थिएन, ’ उनले भने।
'आगजनी नियन्त्रणमा लिन दमकल पठाएन भन्नु गलत'
युद्ध कार्यविभागका सहायक रथी मनोज थापाले काठमाडौं महानगरको दमकल सिंहदरबारको आगो निभाउन आउन खोज्दा पनि नसकेको बताएका छन्।
थापाले आगजनी भएको सुरूदेखि नै महानगरसँग समन्वयन भएको बताए।
'काठमाडौं महानगरको दमकल विभिन्न ठाउँमा अवरोध भएको हो। बाहिर विभिन्न किसिमका हल्ला र भ्रामक समाचारहरू आइरहेका छन्,' उनले भने, 'म स्पष्टसँग भन्न चाहन्छु महानगरसँग म सुरूदेखि नै सम्पर्कमा छु।'
अवरोध हटेपछि महानगरको दमकल ८ बजेतिर आएको उनले स्पष्ट पारे।
यस्तै, दमकलहरू भएको ठाउँ बताएको र केहीमा दमकल चालक नहुँदा आफैंले चालक व्यवस्थापन गरेर दमकल लैजान महानगरले अनुमति दिएको थापाको भनाइ छ।
'आन्दोलनको व्यवस्था गरेर दमकल लानुस् भन्दाखेरी आन्दोलनकारीहरूले हामीलाई समयमा दमकल लान नदिएकै हुन्', थापाले भने।