नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्।
केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनः गठनको माग गरेको बताएका हुन्।
'अब हामी अर्को पार्टी बनाउँछौं। यसको स्वरूप कस्तो हुन्छ, त्यो अहिले नै तय भएको छैन। तर पार्टी पुनः गठन गर्छौं नै,' उनले भने।
क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने पनि उनले बताए।
अध्यक्ष माधवकुमार नेपालले एकता प्रस्ताव अनुमोदनका लागि आग्रह गरेलगत्तै आफूले बोल्न खोज्दा समय उपलब्ध नगराइएको उनले बताए।
'यस्तो तानाशाही तरिकाले पार्टी चल्दैन। क्रान्तिकारी पार्टी निर्माण गर्ने अवसर आएको छ। हामी त्यो कार्यभार पूरा गर्छौं,' उनले भने।
शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय यादव नेतृत्वका नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।
'एकता गर्ने सर्वसम्मत निर्णय गरिएको छ,' उनले भने।
पार्टी एकताबारे थप गृहकार्य गर्ने, मिल्न बाँकी रहेका विषय टुंग्याउने जिम्मा केन्द्रीय कमिटीले सचिवालयलाई दिएको छ।
नेताहरूले दिएका जानकारी अनुसार माओवादी केन्द्रसँग नीति र नेतृत्वबारे टुंगो लागिसकेको छ। बहुपदीय संरचना नराख्ने, पुष्पकमल दाहाल 'प्रचण्ड' संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने छन्।
नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको छ। यद्यपि नामबारे अझै छलफल जारी छ। चुनाव चिह्नबारे पनि छलफल जारी रहेको नेताहरूले बताएका छन्।
पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद रहने, नेपाली विशेषताको समाजवाद अँगाल्ने र दीर्घकालीन वैज्ञानिक समाजवादको बाटामा अघि बढ्ने बाटो तय गरिएको नेताहरूले बताएका छन्।
सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री, विजय पौडेल, जीवनराम श्रेष्ठसहित कम्तीमा १४ जना नेता एकीकरण प्रक्रियामा सामेल नहुने बताइसकेका छन्।