नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले विशेष महाधिवेशनका नाममा पार्टीभित्र षड्यन्त्र र प्रपञ्च रचिएको भन्दै चनाखो रहन आग्रह गरेका छन्।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विधानको धारा १७ को २ अनुसार हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेको अवस्था छ।
त्यसतर्फ लक्ष्य गर्दै काफ्लेले भनेका छन्, ‘विशेष अधिवेशनका नाममा आम पार्टी सदस्यहरू माथि रचिएको षडयन्त्र र प्रपञ्चबाट सबै चनाखो बनौं। पार्टीको घोषित सिद्धान्तप्रति प्रतिबद्ध पार्टीका आधारशिला तल्लो तहका साथीहरूको बेवास्ताले भुइँफुट्टा जन्माउँछ, यो त जननायक बीपी कोइरालाले नै भन्नुभएको छ। जनताको आक्रोशले यो त संकेत गर्दैन? त्यसैले लोकतन्त्रमा लोकमर्यादाकाे ख्याल गरौं। विधि, प्रक्रियासँगै जनभावनाको कदर गर्दै जबाफदेहीताबाट नपन्छिएर पार्टीको नियमित महाधिवेशनमा जुटौं।’
उनले पार्टी नियमित महाधिवेशनको सम्मुखमा रहेको बताए।
‘अहिले देशको राजनीति जटिल परिस्थितिबाट गुज्रेको छ। पार्टीका सभापति नै आक्रमणको निशानामा परेको स्थिति छ। यो राजनीतिक मोडलाई गम्भीरतापूर्वक विचरेर महाधिवेशनसँगै पार्टीभित्र सैद्धान्तिक र व्यावहारिक सिंहावलोकन र समीक्षा गर्नै पर्ने अवस्था सृजना भएको छ,’ सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले उल्लेख गरेका छन्।
पार्टी विधान बमोजिम र राष्ट्रिय राजनीतिक परिस्थितिको मूल्यांकन गरेर अघि बढ्नुपर्ने उनले बताए।
‘नेपालको जिम्मेवार, पुरानो र ऐतिहासिक लोकतान्त्रिक पार्टी हुनुका नाताले जनताका लोकतान्त्रिक मूल्य र आधारभूत हकको रक्षार्थ आफूलाई सदैव उभ्याउनु पर्दछ। यो दायित्वबाट विचलित भएमा पार्टी अस्तित्व नै समाप्त हुन्छ। हामी यस विषयमा गम्भीर छौं, यसकै निम्ति हजारौं मानिसहरुबाट भएको त्याग र समर्पणले यो पार्टी जीवन्त छ,’ उनले भने।
पार्टीलाई निर्धारित विधि र पद्धतिबाट चलाउने परम्परा रहेको र हालका दिनमा आन्तरिक लोकतान्त्रिक अभ्यासद्वारा आन्तरिक प्रतिस्पर्धालाई संस्थागत गर्ने परिपाटी पनि बसाएको उनले बताए।
‘यस्तो अभ्यासको वकालत पनि गर्दै आएका छौं। तर लोकप्रिय भनिएका र आन्तरिक लोकतान्त्रिक अभ्यासको पक्षधर भनिएकाहरू पार्टी पदाधिकारी बनेर आएपछि भने पार्टीका महत्त्वपूर्ण भ्रातृ संस्थाहरू वर्षौंदेखि अधिवेशन विहीन बन्नमात्रै पुगेनन् पदाधिकारी बीचकै भागवण्डाको अखडा बन्न पुगेका छन् र त्यहाँ आन्तरिक लोकतान्त्रिक अभ्यास अवरुद्ध पारिएका छन्,’ उनले भने, ‘पार्टीमा भने सदस्यता वितरणदेखि तल्लो तहको अधिवेशन तयारी गराउने वैधानिक जिम्मेवारीमा रहेका महामन्त्रीहरु स्वयंले नियमित र वैधानिक प्रक्रिया अबरुद्ध गरी विशेष महाधिवेशनको उर्दी जारी गरेको पाइएको छ।’
उनले पार्टीका वडा, गाउँ, नगर, जिल्ला, प्रदेश तहका अधिवेशन सम्पन्न गरी प्रक्रियासम्मत महाधिवेशन हुनुपर्नेमा जोड दिए।
जेनजी पुस्ता जस्ता नयाँ पुस्ताका जागरुक युवाहरूलाई समेत सहभागी गराउनुपर्ने उनको भनाइ छ।