नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा १५ औं महाधिवेशन कार्यतालिका पेस गर्ने भएका छन्।
सोमबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ललितपुरको धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राखेको औपचारिक तथा अनौपचारिक छलफलमा आजको केन्द्रीय समितिमा महामन्त्री थापा उपस्थित हुने र आफ्ना कुरा राख्ने समझदारी बनेको थियो।
त्यसअनुसार आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सुरूमा कार्यवाहक सभापति खड्काले कुरा राख्नेछन्। त्यसपछि उनले बोल्न महामन्त्री थापालाई समय दिनेछन्। 
महामन्त्री थापाले आफ्ना कुरा राखेर १५ औं महाधिवेशन प्रस्ताव पेस गर्नेछन्। उनले यसअघि केन्द्रीय कार्यसम्पादन समितिमा विभिन्न विकल्पसहित महाधिवेशन प्रस्ताव पेस गरे पनि सभापति शेरबहादुर देउवा पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारी सहमत नहुँदा केन्द्रीय समितिमा महाधिवेशन प्रस्ताव पेस हुन सकेको छैन।
कात्तिक १३ गतेको केन्द्रीय समिति बैठकमै महामन्त्री थापाले महाधिवेशन प्रस्ताव पेस गर्न समय माग गरेका थिए। तर कार्यवाहक सभापति खड्काले केही दिन समय दिन भनेका थिए भने थापा उक्त दिन केन्द्रीय समितिमै अनुपस्थित रहे। त्यसपछि केन्द्रीय समिति बैठक रोकेर कार्यवाहक सभापति खड्काले नेताहरूसँग संवाद गर्दै आएका थिए तर १५ औं महाधिवेशन कार्यतालिकामा अझै सहमति जुट्न सकेको छैन।
महामन्त्री थापानिकट एक केन्द्रीय सदस्यले सेतोपाटीलाई दिएको जानकारीअनुसार आज महामन्त्री थापाले केन्द्रीय समितिमा आफ्ना कुरा राखेपछि महाधिवेशन कार्यतालिका प्रस्ताव गर्नेछन्। महामन्त्री थापाले सकेसम्म मंसिरमै केही कारणले ढिला हुने भए पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्न सकिने बताइरहेका छन्। यसकै सेरोफेरोमा उनले महाधिवेशन प्रस्ताव ल्याउने ती केन्द्रीय सदस्यले बताए।
‘महामन्त्री थापाले आज १५ औं महाधिवेशन प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुहुन्छ, सभापति देउवा पक्षका साथीहरू अझै पनि चुनावअघि महाधिवेशनमा सहमत जनाइसक्नु भएको छैन, त्यसैले उहाँहरूले पनि आफूलाई लागेको कार्यतालिका प्रस्ताव गर्नुहोला,’ ती केन्द्रीय सदस्यले भने।
सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय (डिना), फरमुल्लाह मन्सुर, भिष्मराज आङ्देम्बे, केन्द्रीय कार्यसम्पादन समिति सदस्य रमेश रिजाल, जिपछिरिङ लामाले चुनावअघि १५ औं महाधिवेशन गर्नुपर्ने कुरा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्दै आएका छन्।
सभापति देउवानिकट अरू पदाधिकारी र पूर्वपदाधिकारी विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, शशांक कोइरालालगायतले चुनावपछि महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
तर महामन्त्री गगन थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।
यसैबीच सभापति शेरबहादुर देउवानिकट केही केन्द्रीय सदस्यहरूले सोमबार बानेश्वरमा भेला गरी चुनावपछि वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ। त्यसअनुसार केन्द्रीय समितिमा महाधिवेशन कार्यतालिका प्रस्ताव लैजाने पक्षमा केन्द्रीय सदस्यहरू छन्।
साथै आजै मध्याह्न नयाँ बानेश्वरमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरूले पनि भेला राखेका छन्।
सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिमा प्रस्ताव गर्न कार्यतालिका बनाएको केन्द्रीय सदस्य गुरू बरालको भनाइ छ।
पुस १५ गतेभित्र क्रियाशील सदस्य नवीकरण गरी नयाँ वितरण गरिसक्नु पर्ने, सम्पूर्ण तहमा घरदैलो अभियान सञ्चालन गर्दै निर्वाचनको लागि जागरण अभियान चलाउने र फागुन २१ को चुनावलाई समानुपातिक र प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्ने, राष्ट्रिय सभा को उमेदवार पनि सिफारिस गर्ने कुरा प्रस्तावित कार्यतालिकामा उल्लेख छ।
प्रतिनिधि सभाको निर्वाचनपछि पार्टीको १५ औ केन्द्रीय महाधिवेशन वैशाख २५, २६, २७ र २८ मा गर्न उनीहरूले प्रस्ताव गरेका छन्।