नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक असोज २८ गतेदेखि सुरू भएकोमा बीचमा स्थगित हुँदै बस्दै आएको छ।
आजका लागि बोलाइएको बैठक स्थगित गरिएको छ। अब दुई दिनपछि केन्द्रीय समिति बैठक बस्नेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर कात्तिक २३ गतेका लागि बोलाइएको बैठक कात्तिक २५ गते बिहान ११:३० बजे बस्ने गरी स्थगित गरिएको उल्लेख गरेका छन्।
केन्द्रीय समिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमै बस्दै आएको छ।
शनिबार कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक राखेको थियो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफ्ताव आलमको निधनप्रति दु:ख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको थियो।
कांग्रेसले आलमको निधनमा आज देशैभरका पार्टी कार्यालयहरू बन्दसमेत गरेको छ।
असोझ २८ गते केन्द्रीय समितिमा उपस्थित भएर सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन्।
असोझ २८ गतेदेखि बस्दै स्थगित हुँदै पुन: बस्दै आएको केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याउन सकेको छैन। महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने भन्दै प्रस्ताव लगे पनि त्यसमा सर्वसम्मत हुन सकेको छैन।
सहमहामन्त्री महेन्द्र यादवले वैशाख मसान्तमा महाधिवेशन उपयुक्त हुने बताएका छन् भने केन्द्रीय सदस्य मधु आचार्यले मंसिर २४ गतेदेखि विशेष महाधिवेशन गर्न केन्द्रीय समितिलाई आग्रह गरेका छन्। विशेष महाधिवेशन माग गर्दै असोज २९ मा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका थिए।
नियमित कि विशेष कुन महाधिवेशन गर्ने र फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्नेमा कांग्रेसभित्र मतभेद छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेता शेखर कोइराला र केही सभापति देउवानिकट केन्द्रीय सदस्यहरू पनि चुनावअघि महाधिवेशनका पक्षमा छन् भने सभापति देउवानिकट केही पदाधिकारी तथा केही पूर्वपदाधिकारी चुनावपछि वैशाखमा नियमित महाधिवेशन हुनुपर्नेमा छन्।