नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवाको समूहमा तीन धार देखिएको बताएका छन्।
२०७८ मंसिरमा देउवा समूहबाट उम्मेदवार बनेकाहरू अहिले तीन धारमा देखिएको उनले बताए।
‘फागुन २१ को चुनावअघि महाधिवेशन गर्नुपर्छ, फागुन २१ को चुनावपछि महाधिवेशन गर्नुपर्छ र बीचको बाटो निकालौं भन्ने गरी तीन धार देखिएको छ,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शिवाकोटीले भने।
केन्द्रीय समितिमा धारणा राखेका केन्द्रीय सदस्यहरूका कुराले पनि हिजो देउवा समूहमा रहेकाहरू तीन धारमा रहेको देखाउने शिवाकोटीले बताए।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्न हस्ताक्षर संकलन गरेकोले चुनावअघि वा पछि महाधिवेशन भन्ने बहस ल्याएको उनले बताए।
‘होइन भने नियमित महाधिवेशन गर्न हस्ताक्षर अभियान हुँदैनथ्यो,’ उनले भने, ‘विशेष महाधिवेशन माग गर्ने हस्ताक्षरकै दबाबले सभापतिले कार्यवाहक सभापति तोक्नुभयो, महाधिवेशन छलफलको विषय बनेको छ र यसलाई छिटो टुंग्याउनुपर्छ।’
केन्द्रीय सदस्य शिवाकोटीले चुनावअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन्। असोज २८ देखि सुरू भएको केन्द्रीय समिति बैठक धारणा राखेका अधिकांशले पनि चुनावअघि महाधिवेशन गर्नुपर्छ भनेको शिवाकोटीको भनाइ छ।
भिडिओ: