रामकुमारी झाक्रीले नेकपा (एमाले) मा अवसर खोज्दै नफर्किएको बताएकी छन्।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियान मार्फत् एमाले प्रवेश गरेकी झाक्रीले पार्टीमा अवसर सिर्जना गर्न लामबद्ध भएको बताएकी हुन्।
‘कति वटा पार्टी एकता भए होइन, कस्ता मान्छेको बीचमा एकता भयो भन्ने कुरा हो। ती पार्टीका कस्ता सपना थिए भन्ने कुरा हो। त्यही कारणले सुस्केरा काढ्ने एउटै फलैँचामा बसेकै राम्रो हुन्छ,’ उनले भनिन्, ‘बाँकी त्यहाँका नौ जवान साथीहरू आउनुहोस् गोलबन्द गरौं। रामकुमारी झाक्री म कुनै अवसर खोजेर, अवसरका लागि न हिजो हिँडेको न आज हिँडेको, म भन्दै छु, यी सयौं आँखा र नेतृत्वको अगाडि कुनै अवसर होइन, अवसरहरू निर्माण गर्न, हजारौं पार्टीका सदस्यहरूले अवसर प्राप्त गर्ने संघर्षमा लामबद्ध हुन आएको हुँ।’
दुई महिनाको बीचमा नेकपा (एमाले) भर्सेस बाँकी परिस्थिति बन्न लागेको बताउँदै उनले अब त्यस्तो अवस्था नरहेको बताइन्।
एमालेका प्रत्येक सदस्य मात्र होइन प्रत्येक नागरिकका धेरै ठूलो अवसर पनि सिर्जना भइरहेको बताइन्।
‘तर हामीले जिम्मेवारीपूर्ण हिसाबले काम गर्नुपर्छ। मलाई यस्तो लाग्छ, मैले इतिहासका कालखण्डका केही कुरा गरिनँ, सबै कुरा मैले समयलाई छाडेँ। म जो नेतृत्वसँग विश्वास गरेर, विश्वासका साथ यात्रा गरेँ, उहाँप्रति मलाई कुनै आलोचना गर्नु छैन। कुनै गुनासो गर्नुछैन। उहाँहरूप्रति सद्भाव छ। शुभकामना पनि छ। तर त्यहाँबाट केही हुँदैन। त्यहाँ अलमलमा नपर्न, मूल प्रवाहमा आउनका लागि म अनुरोध गर्न चाहन्छु। गफ मिल्नेहरू एउटै यात्रामा हिँडेको राम्रो। गति समान हुनेहरूसँगै यात्रा गरेको राम्रो,’ उनले भनिन्।
गतिमा असमान भएकाहरू सँगै नहिँड्नु राम्रो भएको बताउँदै त्यही कारण आफूहरू एमाले फर्किएको पनि बताइन्।
‘गतिको डिरेक्सन र गति समान नदेखेर आफ्नो गति समान, दृष्टिकोण समान र गन्तव्य समान भएको यात्रामा हामी जोडिएका हौं। साथीहरू तपाईंहरू अन्योलनमा नबस्नुस्। यो राष्ट्रिय अभियान, किसान श्रेष्ठ, रामकुमारी झाक्रीहरूको प्रेमले आयोजना गरिएको होइन। यो राष्ट्रिय संकल्प पूरा गर्ने उदार छाती हो। उदार दिल हो। म देख्छु, नेकपा एमाले हिजो जे थियो, आज त्यो छैन र धेरै फरक छ। हर मान्छेका लागि हाम्रो आदरणीय अध्यक्ष, हाम्रो अभिभावक, उदारतापूर्कक घर फर्क भनेर छाती ओपन गरेको यो दृष्य..! त्यसकारण यो दृश्यमा सबै परिवर्तनगामी, सबै प्रगतिशील, मौसम हेरेर चंगा उडाउने होइन, गन्तव्यकृत हिसाबले बोइङ उडाउने दृढ संकल्प भएका क्याप्टेनहरू यो पार्टीमा फर्किऊँ,’ उनले भनिन्।
उनले एमाले र नेतृत्वविरूद्ध ढुंगा हानिँदै गरेको बताउँदै त्यसलाई प्रतिवाद गर्न पनि फर्किएको बताइन्।
‘आज जसरी ढुंगा हानिँदैछ। नोटिस गरेर। हो परिरहेका गलत सूचना, गलत भ्रमहरूमा कम्तीमा पिँठ्यु थाप्न आएको हुँ। चलेको गलत हावाका झोकाहरूमा अलिकति हाम्रा पनि गाला थापौं भनेर,’ उनले भनिन्।