मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तीको विषयमा असन्तुष्ट दलका प्रदेश सभा सदस्य लगायत नेता कार्यकर्ताहरूले कानुन विपरितका हर्कतहरू गरेका छन्।
उनीहरूले प्रहरी, सशस्त्र प्रहरीलाई दुर्व्यवहार गरी हातपात गरेको, राष्ट्रिय झण्डा फ्याँकेको र कर्मचारीलाई हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
नयाँ मुख्यमन्त्री नियुक्तीको विरोधमा उत्रिएका विभिन्न दलका प्रदेश सांसद लगायतका नेता कार्यकर्ताहरूले मुख्यमन्त्रीको कार्यालयमा तोडफोड समेत गरेका छन्।
मुख्यमन्त्री कार्यालयभित्र गाडी लैजान रोक लगाएको भन्दै प्रवेशद्वारमै प्रदेश सांसदहरू र प्रहरीबीच घम्साघम्सी भएको भिडियो सार्वजनिक भएको छ। एक महिलाले प्रहरी कर्मचारीको वाकीटकी खोस्न खोजेको, हातपात गरेको, सशस्त्र प्रहरी अधिकृतमाथि जाइलागेको दृश्यहरू सो भिडिओमा देखिन्छ।
सुरक्षाकर्मीलाई दुर्व्यवहार गर्नेहरूमा प्रदेश सभा सदस्य रूपा यादव, लोसपा नेता पप्पु चौधरी लगायत रहेका छन्।
कांग्रेसका प्रदेश सभा सदस्य विरेन्द्र सिंहले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिवको कार्यकक्षमा रहेको झण्डा फालेका थिए।
मुख्यमन्त्री कार्यालयमै कार्यरत नायब सुब्बा पंकजकुमार यादवमाथि पनि हातपात भएको छ। पूर्व प्रदेश सभा सदस्य परमेश्वर साह र लोकतान्त्रिक समाजवादीका नेता जितेन्द्र झाले उनलाई कुटपिट गरेका छन्।
कार्यालयमा रहेका कम्प्युटर जोगाउन खोज्दा यादवमाथि उनीहरूले हातपात गर्दै कम्प्युटर फुटाइदिएका थिए।
सेतोपाटीले नायब सुब्बा यादवसँग सम्पर्क गर्दा उनले यस घटनाका विषयमा कुनै प्रतिक्रिया नदिने बताए।
तर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी उपसचिव वाशुदेव मल्लले भने नासु यादव र कार्यालय सहयोगी शिवलाल महतरा माथि पनि हातपात भएको जानकारी दिए।
कार्यालयमा रहेको कम्प्युटरलाई जोगाउन खोजेको बेला उनीहरूमाथि हातपात भएको उनले बताए।
‘तोडफोडबाट कार्यालयमा सामान्य क्षति पुगेको छ,' उनले भने।
यसैबीच मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि हातपात र कुटपिट भएको विरोधमा कर्मचारीहरूले विज्ञप्ति निकालेका छन्। ११८ जना कर्मचारीले हस्ताक्षर गर्दै यस घटनामा संलग्नमाथि तत्काल छानबिन गरी कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी गणेशबहादुर बलले मुख्यमन्त्री कार्यालयको सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग दुर्व्यवहार भएको बताए।
‘प्रवेशद्वारमा मुख्यमन्त्री, प्रदेश सभासद, कर्मचारी र पत्रकारहरूलाई मात्रै प्रवेश गराएका थियौं, उहाँहरूसँग अन्य मानिसहरू पनि हुनुहुँदो रहेछ, प्रवेश गर्ने क्रममा परिचय पत्र हेर्ने, सोधपुछ गर्ने क्रममा हातपात गरेको, धकल्नु भएको हो,’ उनले भने, ‘माननीय, भूतपूर्व माननीय कोको हुनुहुन्थ्यो, अन्य मान्छेलाई प्रवेशमा रोक लगाएका थियौं। त्यहाँ प्रहरी कर्मचारीसँग वादविवाद र हातपात भएको देखिन्छ।’
माननीयहरूले नै गएर मुख्यमन्त्री कार्याभित्र कर्मचारीलाई हातपात गर्नुको साथै तोडफोड गरेको उनी बताउँछन्।
‘माननीहरूलाई मात्रै प्रवेश गराएका थियौं, माननीयहरूले नै तोडफोड र हातपात गर्लान् भन्ने विश्वास भएन, मुख्यमन्त्री कार्यालयको टेबलमा राखेको फुल तोडिएको छ, कम्प्युटर फोडिएको छ,’ उनले भने।