बाराको पथलैयामा जेनजी अगुवा र स्थानीय प्रशासनबीच वार्ता जारी छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रसँग जेनजी अगुवाको वार्ता चलिरहेको हो।
सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालय पथलैया बारामा वार्ता भइरहेको छ।
जेनजीहरूले अरविन्द साहलाई पक्राउ गर्नुपर्ने र वार्ताका लागि प्रमुख जिल्ला अधिकारी सिमरा आउनुपर्ने अडान राखेपछि बिहीबार वार्ता हुन सकेको थिएन। प्रहरीले अरविन्दलाई राति नै पक्राउ गरेको थियो।
जेनजीतर्फ सम्राट उपाध्याय नेतृत्वको १५ जना सहभागी छन्। सम्राटले जेनजीको तर्फबाट ६ बुँदे माग राखेका छन्।
जाहेरी अनुसार कुनै पनि आग्रह पूर्वाग्रह नराखी कारबाही गर्नुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति राज्यले बेहोर्नुपर्ने, जेनजी तथा जेनजीलाई सहयोग गर्ने सम्पूर्णको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने जिम्मेवार अधिकारी एसपी, डिएसपी लगायत सुरक्षा अधिकारीलाई कारबाही गर्नुपर्ने, अरविन्द साहको तीन दिन अगाडिदेखिको कल डिटेल झिकाएर मुख्य व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कारबाही गर्ने, घटनामा संलग्न भएका नाम छुटेका व्यक्तिहरूलाई पुनः अभियुक्त बनाउनुपर्ने माग राखेका छन्।
वार्तामा सहभागी अन्य जेनजीहरूले अरविन्दले घटना घटाउनुअघि टेलिफोनमा कुरा गरेको भिडिओमा देखिएको, पक्राउ परेका अभियुक्तहरू हिरासतभित्र मोबाइल चलाएर बसिरहेको, फरार अभियुक्त पनि अनलाइन देखिएको तर प्रहरीले पक्राउ नगरेको, अबका दिनमा यस्तो घटना दोहोरिन नदिन प्रशासनले सुरक्षाको ग्यारेन्टी गनुपर्ने लगायतका धारणा राखिरहेका छन्।
‘निशान श्रेष्ठको नाकको हड्डी फुटेको रहेछ, अझै उपचारको क्रममा छ, शौरभ कार्कीलाई धारिलो वस्तुले प्रहार गरेको पाइएको छ, फोटो भिडिओ सबै छ,’ वार्तामा सहभागी युवाले भने, ‘नि:शुल्क उपचार, उचित क्षतिपूर्ति दिनुपर्छ, घरमा पनि डर छ, घरको मान्छेहरू पनि त्रसित छन्, मनोवैज्ञानिक हिसाबले उपचार गरिनुपर्छ।’
सुरक्षा निकाय के गरिरहेको छ, सोच के छ? भन्ने विषयमा जेनजीहरूलाई स्पष्ट पार्नका लागि वार्तामा बसिरहेको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए।
वार्तामा जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल पनि सहभागी छन्।
बुधबार जेनजीले आह्वान गरेको शान्तिपूर्ण प्रदर्शनमा नेकपा एमालेको युवासंघका कार्यकर्ताहरू गएर कुटपिट गरेपछि तनाव उत्पन्न भएको थियो।
आक्रोशमा आएका जेनजीले विमानस्थलको गेटमा तोडफोड गरेका थिए। सुरक्षाकर्मीले युवासंघका नेता कार्यकर्ताहरूलाई विमानस्थल परिसरभित्र लुकाएर राखेको आरोप उनीहरूको छ।
विमानस्थल गेट अघि सुरक्षाकर्मी र जेनजी प्रदर्शनकारीहरूबीच झडप भएको थियो। त्यसको विरोधमा जेनजी युवाहरूले बिहीबार दिनभर सिमरामा प्रदर्शन गरे। बिहीबार प्रहरीसँग झडप भयो। प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो। झडपका क्रममा प्रहरीतर्फ ६ र जेनजी युवाहरूतर्फ ४ जना घाइते भएका थिए। स्थानीय प्रशासनले विमानस्थल र जीतपुरसिमराको राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।