नेपाली कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले फागुन २१ गतेका लागि घोषित आमनिर्वाचनमा भाग लिने निर्णय गरे पनि महाधिवेशनबारे कुनै निर्णय लिन सकेन।
केही दिन बैठक स्थगित गरेर महाधिवेशनबारे सर्वसम्मत निर्णय लिने पक्षमा कांग्रेस नेताहरू छन्। अर्को बैठक मंसिर ११ गतेलाई डाकिएको छ।
शनिबारको बैठकबारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय पार्टीले गरेको बताएका छन्। दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय कांग्रेसले गरेको छ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबारसम्म दल दर्ता गरिसक्नुपर्नेछ भने प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता निवेदन दिइसक्नुपर्नेछ।
प्रवक्ता महतका अनुसार कांग्रेसले प्रतिनिधिसभा विघटनलाई 'असंवैधानिक' भनेको छ, तर यो विषय सर्वोच्च अदालतले नै टुंगो लगाउने भन्दै केन्द्रीय समितिले आमनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।
अहिलेको अवस्थामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सर्वपक्षीय छलफल आवश्यक रहेको निष्कर्ष पनि केन्द्रीय समितिले निकालेको छ।
नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा भने अब अर्को बैठकमा छलफल हुने प्रवक्ता महतले बताए।
महामन्त्री गगन थापाले शनिबारको केन्द्रीय समिति बैठकपछि नियमित महाधिवेशन गर्न नसकिने हो भने निर्विकल्प बाटो विशेष महाधिवेशन भएको प्रतिक्रिया दिएका छन्।
'कांग्रेसको महाधिवेशन निर्वाचनभन्दा अगाडि अनिवार्य रूपमा गर्नैपर्छ, यसका लागि दुइटा बाटा छन्। एउटा नियमित र अर्को विशेष महाधिवेशन,' महामन्त्री थापाले भने, 'हाम्रो कार्यकाल मंसिरभित्रै सकिन्छ। मैले यो समितिको म्याद थप्न हुँदैन र यही अवधिभित्र नियमित वा विशेष महाधिवेशन गर्नुपर्छ भनेर लामो समयदेखि भन्दै आएको छु।'
'मैले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेको छु। पार्टीका कतिपय नेताले यो मितिमा महाधिवेशन गर्न सकिँदैन भनिरहनुभएको छ। त्यसो हो भने मंसिरभित्रै विशेष महाधिवेशन निर्विकल्प हो,' केन्द्रीय समिति बैठकपछि सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले भने।
महामन्त्री थापाले मंसिर २७ र २८ गते विशेष महाधिवेशन गर्न सकिने पनि बताएका छन्।
'आज हामीले आमनिर्वाचनमा जाने निर्णय गरेका छौं, त्यसका लागि उत्तम बाटो भनेको मंसिर २७ र २८ गते विशेष महाधिवेशन हो,' उनले अगाडि भने, 'अहिलेको अवस्थामा शान्तिपूर्ण राजनीतिको नेतृत्व गर्न कांग्रेसमा नयाँ नेतृत्व चाहिन्छ।'
पुस मसान्तभन्दा अगाडि नै नियमित महाधिवेशन गर्न सिंगो पार्टी एकठाउँ आउँछ भने त्यो पनि उपयुक्त हुने महामन्त्री थापाको भनाइ छ।
'तर पुस मसान्तभित्र नियमित वा विशेष महाधिवेशन दुवै गर्दिनँ भन्न पाइँदैन,' उनले भने।
असोज २८ गते सुरू भएको केन्द्रीय समिति बैठक बीचमा स्थगित गरेर सहमति खोज्ने प्रयास हुँदै आएको थियो। यसबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अनौपचारिक छलफलहरू गरेका थिए।
उपचार गरेर सिंगापुरबाट फर्किएपछि सभापति शेरबहादुर देउवाले पनि नेताहरूसँग अनौपचारिक छलफल गर्दै महाधिवेशन तिथिमितिबारे सहमति जुटाउन पहल गरेका थिए। तर आजसम्म पनि महाधिवेशनबारे कांग्रेसमा सहमति जुटेको छैन।
सभापति देउवा, कार्यवाहक सभापति खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा नेता शेखर कोइरालाले नियमित महाधिवेशनमै जोड दिइरहेका छन्।
महामन्त्री थापाले केन्द्रीय समितिमा पेस गरेको पुस १६ देखि १९ गतेसम्मकै कार्यतालिका वरपर रहेर नियमित महाधिवेशन गर्न सकिनेमा सभापति, कार्यवाहक सभापति र दुवै जना महामन्त्रीहरू पुगेका छन्। पार्टीका केही पदाधिकारी र केही पूर्वपदाधिकारी भने चुनाव गरेर वैशाखमा मात्र महाधिवेशन गर्नुपर्नेमा छन्।
सभापति देउवा नै चुनावअघि नियमित महाधिवेशनको पक्षमा उभिएपछि उनीनिकट पदाधिकारी र पूर्वपदाधिकारीहरू यसमा सहमत हुने बताइएको छ।
सभापति देउवा पक्षका २८ जना केन्द्रीय सदस्यले चुनावअघि महाधिवेशन हुनुपर्ने भन्दै देउवालाई नै भेटेर कुराकानी गरेका थिए।
कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएका थिए। विधानअनुसार हस्ताक्षर बुझाएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ। तर कांग्रेसको नेतृत्व विशेष महाधिवेशन चाहिरहेको छैन।
सभापति देउवाले २८ असोजको केन्द्रीय समिति बैठकमा उपस्थित भएर महाधिवेशनमार्फत नै नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए। दुई कार्यकाल सभापति भएका देउवालाई अब तेस्रो कार्यकाल सभापति हुन विधानले पनि रोक्छ।
नियमित महाधिवेशन भए वडादेखि केन्द्रसम्म सात तहमा पार्टीको नयाँ नेतृत्व आउनेछ। विशेष महाधिवेशन भएमा केन्द्रीय समिति मात्र परिवर्तन हुन्छ र एक वर्षभित्र नियमित महाधिवेशन गराउनुपर्ने हुन्छ।
देउवा नेतृत्वको केन्द्रीय समितिको चार वर्षे कार्यकाल मंसिर मसान्तमा सकिने भएकाले पनि नेताहरूले नियमित महाधिवेशनमै जोड दिइरहेका छन्।
'पुसभित्र नियमित महाधिवेशन गर्न सभापति, कार्यवाहक सभापति र दुवै जना महामन्त्री तथा शेखर कोइराला पनि सहमत हुनुहुन्छ,' एक पदाधिकारीले सेतोपाटीसँग भने, 'तर विशेष महाधिवेशन माग गरेकाहरूसँग के-कस्ता प्रतिबद्धतासहित कुरा गर्ने भन्ने विषय बाँकी नै छ। मंसिरभित्रै नियमित महाधिवेशन गरे आफूहरूको भावना समेटिने विशेष महाधिवेशन पक्षधरहरूको पनि कुरा थियो। पुस पुर्याउँदा उहाँहरू मान्नुहुन्छ कि हुँदैन, पुस मसान्तसम्म त विशेष महाधिवेशन पनि बाध्यकारी छ।'
नियमित महाधिवेशन पुसको ल्याउने र त्यो समयमा नभ्याउने भन्दै महाधिवेशन सार्न सक्ने आशंका नियमित महाधिवेशन पक्षधरलाई छ। त्यसैले उनीहरूले हस्ताक्षर सहितको विशेष महाधिवेशनको माग फिर्ता लिन्छन् कि लिँदैनन् यकिन भइसकेको छैन।
'विशेष महाधिवेशन हस्ताक्षर गरेकाहरूसँग पनि संवाद गर्नुभएकोले आजको केन्द्रीय समिति बैठकले महाधिवेशनबारे निर्णय लिँदैन, दुई तीन दिन बैठक सारेर यस विषयमा सर्वसम्मत सहमति जुटाउँछौं,' कांग्रेसका अर्का एक पदाधिकारीले सेतोपाटीसँग भने।