एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११ औं महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार विज्ञप्तिमार्फत् अध्यक्षका प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताएका हुन्। उनले सचिवालयको ६० औं बैठकमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताएका थिए।
‘म अध्यक्षका लागि योग्य छु,’ पोखरेलले बैठकमा भनेका थिए, ‘तपाईंले मलाई सहयोग गर्नुहोस्। अभिभावकीय भूमिकामा बस्नुहोस्।’
त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले नवौं र दसौं महाधिवेशन सम्झाउँदै मिलेर जान भनेका थिए। नवौं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका माधवकुमार नेपालले पार्टी छाडेका थिए। दसौंमा प्रतिस्पर्धा गरेका भीम रावल पार्टीबाट निकालिएका थिए।
आज लामो विज्ञप्तिमार्फत् उम्मेदवारी घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएका छन्।
‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ उनले भनेका छन्।
भदौ २३ र २४ को दुवै दिनको घटनाको निष्पक्ष छानबिन
अध्यक्ष घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी (नव पुस्ता) को आन्दोलनका क्रममा जीवन गुमाएका नवयुवाहरू तथा नेपाल प्रहरीका नौजवानहरूप्रति दुःख व्यक्त गरेका छन्।
‘भ्रष्टाचारको अन्त्य र सुशासनको पवित्र माग सहित भदौ २३ गते नवयुवाहरूको आह्वानमा भएको आन्दोलनप्रति सम्मान व्यक्त गर्दछु। तर भदौ २३ गतेकै दिउँसोबाट जेनजीहरूको आन्दोलनमा भएको घुसपैठ तथा भदौ २४ गते भएको विध्वंशको घोर निन्दा गर्दछु। दुवै दिनका घटनाका बारेमा निष्पक्ष र तथ्यपरक छानबिन गरी दोषी उपर कारबाही गर्न माग गर्छु,’ उनले भनेका छन्।
जेनजी आन्दोलनपछि विकसित घटनाक्रमले संविधानलाई लिकमा ल्याउनुपर्ने र लोकतान्त्रिक प्रक्रिया पुनर्बहाली गर्नुपर्ने अभिभारा आइलागेको उनको ठहर छ। विघटित प्रतिनिधि सभाको मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उचित फैसला हुने अपेक्षा गरेको बताएका छन्।
उनले पार्टी चुनावमा जानुपर्ने बताएका छन्। यद्यपि अध्यक्ष ओली पनि यही विचारमा आइपुगिसकेका छन्। एमालेले आजै दल दर्तासमेत गरिसकेको छ।
‘सँगै, सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित चुनावको वातावरण निर्माण गरोस् भन्ने मेरो आग्रह छ,’ उनले भनेका छन्।
भदौ २३ पछिको अवस्था र भदौ २२ अघिको परिस्थितिमा ठूलो भिन्नता आएको पार्टी पंक्तिले बुझ्नुपर्ने बताएका छन्।
हिजोका पार्टीका कतिपय निष्कर्षलाई नयाँ सन्दर्भमा अद्यावधिक गर्न आवश्यक रहेको बताएका छन्।
‘मार्क्सवादीहरू वस्तुवादी हुने गर्दछन्। मनोगत आग्रहले क्षणिक सन्तुष्टि त दिन सक्ला, तर वस्तुगत यथार्थबिनाको निष्कर्षले झन् ठूलो संकट तथा अन्योलमा पुर्याउँछ। तसर्थ सबैलाई वस्तुवादी भएर परिस्थितिलाई बुझ्न र सही निष्कर्षका साथ नेपाली समाजलाई दिशानिर्देश गर्न आग्रह गर्दछु,’ उनले भनेका छन्।
माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रूपमा अंगीकार गरेको एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टी पुनर्गठनको आधार बन्नुपर्ने उनले बताइका छन्।
‘विधान महाधिवेशनपश्चात् उत्पन्न असाधारण परिस्थितिको वस्तुगत विश्लेषण गरी सही नीति निर्धारण गर्न, नयाँ चुनौतीको सामाना गर्न सक्षम हुने गरी पार्टी संगठनको पुनर्गठन गर्नु बलियो राष्ट्रिय शक्ति निर्माणमा सही तरिकाले अगुवाइ गर्ने नेतृत्व निर्माण गर्न उच्च विवेक, अटल आत्मविश्वास र क्रान्तिकारी आशावादका साथ सक्रिय सहभागिताका लागि सिंगो पार्टीपंक्तिलाई आह्वान गर्दछु,’ उनले भनेका छन्।
‘जबज कार्यान्वयनको समीक्षा गरौं’
शान्तिपूर्ण र वैधानिक बाटोबाट नेपाली समाजको प्रगतिशील रूपान्तरण गर्दै समानता र सामाजिक न्याय सहितको समाजवादको आधार निर्माण गर्नु जनताको बहुदलीय जनवादको मुख्य कार्यदिशा रहेको उनले बताएका छन्।
मदन भण्डारीको अगुवाइमा स्थापित नेपाली विशेषता र मौलिकतामा आधारित जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हाम्रो पार्टीले विगतमा प्राप्त गरेको अनुभवको वस्तुनिष्ठ समीक्षा हुन आवश्यक रहेको उनको भनाइ छ।
जनताको बहुदलीय जनवादले भने जस्तैगरी कति अघि बढ्न सक्यौ? स्वयं समीक्षा गर्न आवश्यक रहेको उनको भनाइ छ।
‘म जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरूका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम कमरेडहरूमा अपिल गर्दछु,’ उनले भनेका छन्।
यसका लागि महाधिवेशन पश्चात पार्टी स्कुल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरूसँग समेत छलफल र अन्तक्रिया गर्न आफूहरू प्रतिबद्ध रहेको उनले बताएका छन्।
पार्टी पंक्ति, शुभेच्छुक एवं आमसाधारणहरू बीच विचारको बहस चलाउने, सुझाव संकलन गर्ने र संकलित सुझावको सुनुवाइ गर्ने व्यवस्था मिलाइने उनले बताएका छन्।
त्यस्तै राज्य, नेपाली समाज र पार्टीको लोकतान्त्रीकरण जबजको आधारभूत पक्ष रहेको बताउँदै २१ औं शताब्दीको खुला समाजमा प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति पार्टीले अंगीकार गरेको स्मरण गरेका छन्।
विश्व कम्युनिस्ट आन्दोलनका अनुभवहरूबाट सिक्दै सक्रियता, पहलकदमी र प्रतिस्पर्धाको माध्यमबाट पार्टीमा नेतृत्व विकास गर्ने बाटो हामीले स्वीकार गरेको पनि बताएका छन्।
‘पार्टीको सार्वभौमिकता पार्टी सदस्यहरूमा निहित हुनुपर्दछ। नीति र नेतृत्व छनोटमा पार्टी सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्दछ।व्यक्तिको योग्यता अनुसार जिम्मेवारी, जिम्मेवारी अनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार मूल्यांकन गरिने परिपाटी हुनुपर्छ। संसदीय फाँटका उम्मेदवारको छनोटमा पार्टी सदस्य र आम नागरिकको अभिमतलाई आधार मान्नु पर्दछ। समानुपातिक उम्मेदवार तथा लाभका अवसरहरूमा श्रमिक वर्गीय पक्षधरता, विषय विज्ञता, पार्टीप्रतिको प्रतिबद्धता, स्वच्छ छवि र आचरणलाई आधार मानेर स्पष्ट र पारदर्शी मापदण्डलाई कार्यान्वयनमा ल्याउनु पर्दछ। पार्टीका तहगत अधिवेशन र जनसंगठनका अधिवेशनमा उच्चतम् सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्दछ,’ उनले भनका छन्।
त्यस्तै राज्यमा शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनको सिद्धान्त जस्तै पार्टीमा जबजको मान्यता अनुरूप नियन्त्रण र सन्तुलनको सिद्धान्त कार्यान्वयन गरिनुपर्ने त्यसका लागि विधानमा स्पस्ट व्यवस्था गरिनुपर्ने खाँचो औंल्याएका छन्।
पार्टीका केन्द्रीय निकायहरू अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगलाई महाधिवेशनप्रति जबाफदेही हुने गरी स्वायत्तता प्रदान गरिनुपर्ने उनको प्रस्ताव छ।
ती निकायहरूले गरेका सिफारिसहरू पार्टीका सम्बन्धित निकायहरूले अनिवार्य कार्यान्वयन गरिनुपर्ने बताएका छन्।
तिनै निकायहरूको संरचना प्रादेशिक तहमा समेत प्रदेश अधिवेशन मार्फत निर्वाचित गरिनुपर्ने र आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनु पर्ने उनको प्रस्ताव छ।
प्रतिस्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनु पर्ने बताउँदै कमरेडली भावनाका साथ सहभागिता र सहकार्यको व्यवहार विकास गरिनु पर्ने पनि बताएका छन्।
‘निर्वाचनपछि पनि प्रतिस्पर्धीबीच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्दछ। पार्टीका आन्तरिक कार्यविभाजन र संसदीय तथा राजकीय जिम्मेवारीमा न्यायोचित र पारदर्शी मापदण्ड लागु गरिनु पर्दछ। ‘नीतिमा आबद्धता: संगठनमा स्वायत्तता’ को नीति अनुरूप जनसंगठनलाई परिचालित गरिनु पर्दछ। जनसंगठनलाई वर्गीय, सामुदायिक तथा पेशागत क्षेत्रको नेतृत्वदायी संगठनको रूपमा स्थापित गर्नुपर्छ। स्वच्छ र पारदर्शी प्रतिस्पर्धाबाट नेतृत्व निर्वाचनको प्रक्रिया अबलम्बन गरिनु पर्दछ,’ उनले प्रस्ताव गर्दै भनेका छन्।
पार्टी नेताहरूको स्वार्थ र गुटबन्दीबाट जनसंगठनहरूलाई मुक्त गर्दै सम्बन्धित क्षेत्रमा योग्य पार्टी कार्यकर्ताको निर्माण तथा जनसम्बन्ध विस्तारमा परिचालित गर्नुपर्ने पनि बताएका छन्।
पार्टी र जनसंगठनको हरेक कमिटीमा नवयुवाहरूको प्रतिनिधित्वको ग्यारेन्टी गरिनुपर्ने बताएका छन्।
‘महिला, दलित, जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक तथा अपाङ्गता क्षेत्रको सम्मानजनक प्रतिनिधित्वको व्यवस्था गर्न गरी विधानमा आवश्यक संशोधन गर्नुपर्दछ। वर्तमान पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रीकरणका सम्बन्धमा पार्टीको सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नु भएको, आठौं, नवौं र दशौं राष्ट्रिय महाविधेशनले स्वीकार गरेको अवधारणालाई नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनु पर्दछ,’ उनले भने।
नेतृत्वमा दुई कार्यकाल
जसअन्तर्गत पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्ने उनले बताएका छन्।
एमालेको नवौं महाधिवेशनमा यो लागू गरिएको थियो। दसौं महाधिवेशनअघिको विधान महाधिवेशनले यसलाई निरन्तरता दिए पनि सौराहा महाधिवेशनबाट हटाइएको थियो।
उनले ७० वर्षे उमेर हदबारे बोलेका छैनन्। २०१० माघ २०मा जन्मिएका उनी आफै ७३ वर्षमा अध्यक्षको उम्मेदवारी घोषणा गर्ने तहमा पुगेका छन्।
पोखरेलले नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियालाई कार्यान्वयन गरिनुपर्ने बताएका छन्।
निर्वाचनमा अन्तरघात गर्ने, पार्टी अनुशासन उलङ्घन गर्ने, राज्यका कानुनबाट दण्डीत हुने प्रकृतिका घटनामा संग्लनहरू माथि कार्वाही गरिनु पर्दछ। निर्णय उपर पुनरवेदन गर्ने व्यवस्था मिलाइनुपर्ने उनको प्रस्ताव छ।
पार्टीको लेखा प्रणालीलाई पारदर्शी बनाइनु पर्ने, आर्थिक अनुशासनलाई उच्च महत्व दिइनु पर्ने, अधिवेशनप्रति जबाफदेही हुने गरी केन्द्र र प्रदेशस्तरमा लेखा आयोग गठन गरिनु पर्ने, लेखा परीक्षण प्रतिवेदन वार्षिक रूपमा सार्वजनिक गरिनु पर्ने, सल्लाहकार समितिबाट नियमित रूपमा सुझाव सल्लाह लिने व्यवस्था गरिनुपर्ने उनले बताएका छन्।
गैरआवासीय नेपाली तथा प्रवासी नेपाली मञ्चहरूसँग पुँजी, प्रविधि, सीप र ज्ञान हस्तानान्तरण लागि सहकार्य गरिनु पर्ने उनको प्रस्ताव छ।
‘थिङ्क ट्याङ्क’ मार्फत नियमित रूपमा विचार तथा सुझावहरू प्राप्त गर्ने संयन्त्र स्थापना गरिनुपर्ने, सम्पर्क कमिटी तथा मञ्चहरूलाई पार्टी निर्माण, जिल्लाको पार्टी काम तथा जनसम्बन्ध विस्तारका काममा प्रभावकारी रूपमा परिचालित गरिनुपर्ने उनले बताएका छन्।
‘पार्टी र राज्य सञ्चालनसम्बन्धी नीति निर्माणमा पार्टीका विभागहरूलाई ‘थिङ्क ट्याङ्क’ रुपमा क्रियाशील गरिनु पर्दछ। नेता, कार्यकर्ता, सदस्य र नागरिकबीचको सम्बन्धलाई आश र त्रासको छायाबाट मुक्त गरी आपसी विश्वास र आत्मीय सम्बन्धमा रूपान्तरण गरिनु पर्दछ। पार्टी कार्यक्रम तथा नेताहरूमा देखिने तडकभडकपूर्ण जीवनशैलीलाई अन्त्य गरी सादा र जनपक्षीय जीवनशैलीमा जोड दिइनु पर्दछ। हरेक तहको पार्टी कमिटीलाई सम्बन्धित तहको पार्टी काम, सामाजिक तथा जनकार्यमा पूर्ण जबाफदेही बनाइनु पर्दछ। सारमा नेकपा (एमाले) लाई आम जनसमुदाय र पाटी सदस्यहरूले गौरव गर्न लायक राजनीतिक संस्थाको रुपमा विकास गरिनु पर्दछ,’ उनको भनाइ छ।
पार्टी र जनसंगठनका हरेक तहमा नवयुवा, युवा र पाका पुस्ताको सम्मानजनका सहभागिता गराउनु पर्ने उनको भनाइ छ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा फर्काइयोस्’
चार दशकभन्दा लामो अवधि पार्टी निर्माणमा योगदान गरेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुनुपर्ने उनले बताएका छन्।
राष्ट्रपति जस्तो गरिमामय राजकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेपछि आफ्नो अनुभव र ऊर्जा पार्टी काममा फर्किएर खर्चिने चाहना राख्नु खुसी र गौरवको विषय भएको उनको ठहर छ।
‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै उहाँलाई पार्टी सदस्य हुनबाट बञ्चित गरिदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ। तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ,’ उनले भनेका छन्।
‘यसकारण म अध्यक्षका लागि योग्य छु’
विधि, समन्वय, सामूहिकता र सहकार्यमा आफूले विश्वास राख्ने उनले बताएका छन्।
पार्टी निर्माणसम्बन्धी माथि प्रस्तुत गरिएका विचारको आधारमा ११ औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको उनले बताएका छन्।
‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ। पार्टीका कमरेडहरूको योग्यता, क्षमता र रूचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले) लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न म प्रतिबद्ध छु,’ उनले भनेका छन्।
पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिएको बताएका छन्।
अभिभावकीय भूमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष ओलीलाई अनुरोध गरेका छन्।
‘यति बेला नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशन तयारीका कामहरू सुरू भएका छन्। पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशनका प्रतिनिधि चयन हुँदैछ। माथि उल्लेखित विषयमा गम्भीर हुँदै प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ्य, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्य कमरेडहरूलाई हार्दिक आह्वान गर्दछु। पार्टीको रक्षा मार्फत नेपाल राष्ट्रको रक्षा तथा नेपाली जनताको हित रक्षालाई सर्वोपरी मानेर अघि बढ्नु हामी सबैको साझा दायित्व हो। यो ऐतिहासिक जिम्मेवारीलाई सबैले मनन गरौं। आन्तरिक लोकतन्त्र समृद्ध भएको पार्टीले मात्र लोकतान्त्रिक समाजको निर्माण र नेतृत्व गर्न सक्छ। महाधिवेशन समक्ष प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक दृष्टिकोणको विस्तारित दस्तावेज निकट भविष्यमा सार्वजनिक गर्नेछु। सबैको साथ र सुझावको अपेक्षा गर्दछु,’ उनले अन्तिममा आग्रह गरेका छन्।