नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगन भएको छ।
शुक्रबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको बैठक मंसिर १४ गते आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।
फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने कि पछि, नियमित गर्ने कि विशेष भन्ने विषयमा कांग्रेसभित्र मतभेद छ।
यही मतभेद अन्त्य गर्न सभापति शेरबहादुर देउवाले बिहीबार दिनभर नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए।
सुरूमा सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, आफूनिकट केही पदाधिकारी पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरूसँग छलफल गरे। त्यसलगत्तै कार्यवाहक सभापति खड्कासहित दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग कुराकानी गरेका थिए।
सभापति देउवा पुसभित्रै नियमित महाधिवेशनको पक्षमा पुगेका छन् तर विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर फिर्ता नलिने अडान राखेका छन्।
देउवा पक्षका केही पदाधिकारी र केही पूर्व पदाधिकारीहरू भने वैशाखमा मात्र नियमित महाधिवेशन गर्न सकिने बताउँदै यो कार्यसमितिको म्याद थपको पक्षमा उभिएका छन्।
महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन गर्न नसक्ने हो भने विशेष महाधिवेशनको विकल्प नरहेको अडान राखेका छन्।
विशेष महाधिवेशन पक्षधरले पनि बिहीबारै विज्ञप्ति निकालेर यो कार्यसमितिको म्याद थप गर्न नहुने भन्दै मंसिरभित्रै नियमित महाधिवेशन गरे आफूहरूलाई मान्य हुने तर त्यसभन्दा पछि गरे विशेष महाधिवेशन पुस २८ भित्रै गर्नुपर्ने बताएका थिए।
सभापति देउवासँग भएका दुवै छलफलमा सहभागी रहेका नेता रमेश लेखकका अनुसार विभिन्न विकल्पहरूमा छलफल भए पनि कुनै पनि निर्णयमा पुगिएको छैन।
बिहीबार दिनभर छलफल गर्दा पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार बस्ने केन्द्रीय समिति बैठक नै स्थगन गरिएको नेताहरूले जनाएका छन्।
महाधिवेशन मितिबारे नेताहरूबीच सहमति जुटाएर मात्रै केन्द्रीय समिति बैठक राख्ने तयारी छ।
असोज २८ गतेदेखि सुरू भएको कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशनको मितिमा सहमति नहुँदा अहिलेसम्म अनिर्णित छ।
कांग्रेसले फागुन २१ को आम चुनावमा भाग लिने निर्णय भने केन्द्रीय समितिबाट गरिसकेको छ।