रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाबारे उनका विशेष दूत स्टिभ विटकफले मंगलबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग गरेको छलफल निष्कर्ष विहीन टुंगियो।
ट्रम्पका ज्वाइँ जेरेड कुश्नर र विटकफसँग भएको पुटिनको कुराकानीपछि पुटिनका सहयोगी युरी उशाकोभले समाधान नभएका भूमिजन्य विषयहरूलाई मुख्य अवरोधका रूपमा औंल्याए। उनको संकेत युक्रेनको पूर्वी क्षेत्र दोनेत्स्कको सम्पूर्ण भागमाथि रूसी दाबीतर्फ थियो।
युद्ध रोक्ने ट्रम्पको योजनामा काम गरिरहेका अमेरिकी विदेशमन्त्री मार्को रूबियोले यो युद्ध अहिले डोनेट्स्कको २० प्रतिशत भूभाग अथवा करिब पाँच हजार वर्ग किलोमिटरका लागि भइरहेको भनेर फक्स न्यूजलाई बताएका छन्।
रूसले दोनेत्स्कको पूरा भूभाग किन मागिरहेको छ त?
पुटिनले सन् २०१४ मा युक्रेनको क्राइमिया कब्जा गरेपछि युक्रेनको पूर्वमा रूसी भाषीको बाहुल्य रहेको डोनबास क्षेत्रमा आँखा लगाए। उनले त्यहाँ रूसी भाषी माथि युक्रेनले अत्याचार गरेको झूटो आरोप लगाएर पृथकतावादी आन्दोलन भड्काए। उनले त्यहाँका विद्रोहीलाई हतियार मात्रै दिएनन्, विनावर्दीका रूसी सैनिकहरू नै खटाए।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि खुल्ला आक्रमण गरेपछि पनि अझैसम्म सो क्षेत्रमा पूर्ण रूपले कब्जा गर्न सकेको छैन।
लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।
लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको झन्डै २० प्रतिशत भाग युक्रेनकै नियन्त्रणमा छ।
आफ्नो देशको भूभाग अरूलाई दिन कसैले पनि मान्दैन। अझ, युद्ध लडेर जोगाएको भाग त झन् कसैले पनि दिँदैन। त्यसमाथि युक्रेनले त्यहाँ वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएको छ। त्यसैले त रूसले एक दशकभन्दा बढी समयदेखि युद्ध गरेर पनि त्यो क्षेत्र लिन सकेको छैन। अझै पनि युक्रेनलाई हराएर सो भूभाग लिन रूसलाई निकै मुस्किल हुने मानिन्छ।
युद्ध रोक्न सो भूभाग अहिले रूसलाई दिएमा रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गर्यो भने रोक्न नसकिने भएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले सो सर्त अस्वीकार गर्दै आएका छन्।
दोनेत्स्क युक्रेनका मुख्य बन्दरगाह, रेलमार्ग र ठूला उद्योगहरू भएको भूभाग हो। सो भागमा युक्रेनको आधाभन्दा बढी कोइला र फलामका खानीहरू थिए। ती उद्योग र खानीहरू रूसी आक्रमणमा अहिले ध्वस्त भइसकेका छन्। युद्ध रोकिएर आफ्नो नियन्त्रणमा रहेको दोनेत्स्कको बाँकी भूभाग युक्रेनकै नियन्त्रणमा रहे पनि ती कारखाना र खानी फेरि सञ्चालनमा आउने देखिँदैनन्। रूसले फेरि हमला गर्ने डरका कारण युक्रेनले ठूलो खर्च गरेर तिनको मर्मत नगर्न सक्छ।
पुटिनका लागि रूसी भाषीको बाहुल्य रहेको सो क्षेत्र इज्जतको विषय पनि भएको छ।
उनले एक दशकअघि त्यहाँ पृथकतावादी आन्दोलन भड्काउँदा पनि रूसी भाषीमाथि अत्याचार भएको आरोप लगाएका थिए।
२०२२ मा खुल्ला आक्रमण गर्दा पनि सो कुरा दोहोर्याउँदै रूसीभाषीको उद्धार गर्ने बताएका थिए।
एक दशकभन्दा बढी आक्रमण गर्दा पनि सो भूभाग पूर्ण रूसी नियन्त्रणमा नल्याई युद्ध रोक्नु उनका लागि लाजमर्दो हुनेछ।
पुटिनको मात्रै नभएर रूस र युक्रेन दुवैतिरका जनताका लागि पनि यो प्रतिष्ठाको विषय भएको छ।
आफ्ना दशौं हजार सैनिक मर्दा पनि रूसले सो भूभाग कब्जा गर्न सकेको छैन। रूसका जति धेरै नभए पनि सो क्षेत्रको सुरक्षाका लागि युक्रेनका पनि धेरै सैनिक मरेका छन्। त्यति धेरैको बलिदान दिएर जोगाएको भूभाग रूसलाई सित्तैमा दिन जेलेन्स्कीले माने पनि युक्रेनका जनताले मान्ने छैनन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)