नेकपा (एमाले) ले मधेश प्रदेशमा अब बन्ने सरकारलाई विश्वासको मत दिने भएको छ।
एमालेले जुनसुकै दलको नेतृत्वमा सरकार बने पनि विश्वासको मत दिने मधेश प्रदेश सभा एमालेका प्रमुख सचेतक हरि नारायणले जानकारी दिए।
‘सरकार एक महिना पनि नटिक्ने अवस्था बनिरहेको छ, स्थिर होस, दिगो रुपले चलोस भनेर जो नेतृत्वमा आएपनि विश्वासको मत दिन्छौं,’ उनले भने।
बुधबार बसेको संसदीय दलको बैठकमा सोबारे छलफल भएको र जो नेतृत्वमा आए पनि विश्वासको मत दिने सहमति भएको उनको भनाइ छ।
यस विषयमा पार्टीभित्र पक्ष/विपक्ष नरहेको उनले स्पष्ट पारे।
सरकार गठनका लागि एमाले बाहेकका ६ दल बैठकमा रहेको र मुख्यमन्त्री कसलाई बनाउने भनेर टुंगो लगाइ नसकेको प्रमुख सचेतक महतो बताउँछन्।
सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभामा मुख्यमन्त्री सरोजले बुधबार राजीनामा घोषणा गरे। प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्ण समक्ष लिखित राजिनामा बुझाए।
प्रदेश प्रमुख सुरेन्द्रले राजीनामा स्वीकृत गर्दै १६८(२) बमोजिम शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न समय दिएका छन्। दलहरू त्यसैको रस्साकस्सीमा जुटेका छन्।
लोसपाबाट पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल र नेपाली कांग्रेसबाट संसदीय दलको नेता कृष्णप्रसाद यादव मध्ये कुनै एक जनाको दाबी पेश हुने सम्भावना छ।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा एकपछि अर्को अपरिपक्व निर्णय गर्दै गएकोले मधेशमा एमाले एक्लिएको छ।
मधेशमा पुनः सहयात्री दलहरूसँग नजिक हुन एमालेले नयाँ कार्ड फ्याँकेको हो।
सुरूमा एमालेको कोटाबाट बनेकी प्रदेश प्रमुख गुमाएको थियो। त्यसपछि सभामुख र मुख्यमन्त्री पद पनि गुमाइसकेको छ। दुई महिनामा तीन वटा सरकार बनिसकेको छ।
०७९ को निर्वाचनपछि चौथो मुख्यमन्त्री छनोट प्रक्रिया सुरू भएको छ।