रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले पहल तीव्र पारिरहेको बेला रूस र युक्रेनले एक अर्कामाथि भीषण हमला गरिरहेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेस (एपी) का अनुसार शनिबार रातभरिजसो दुवै देशले एक-अर्कामाथि हवाई हमला गरेका हुन्।
तुलनात्मक रूपमा रूसले धेरै हतियार प्रयोग गरेको छ।
एपीका अनुसार रूसले शनिबार मात्रै ६५३ वटा ड्रोन र ५१ वटा मिसाइलले युक्रेनमा हमला गरेको छ। उसले युक्रेनको किभलगायत २९ वटा ठाउँलाई लक्ष्य बनाएको थियो।
रूसी हमलाका कारण युक्रेनी सहरहरूमा रातभरि सुरक्षा साइरन बजेको थियो।
रुसले हानेकोमध्ये ५८५ वटा ड्रोन र ३० वटा मिसाइल युक्रेनी सुरक्षा प्रणालीले निष्क्रिय पारेको थियो।
युक्रेनका गृहमन्त्री इहोर क्लिमेन्कोका अनुसार घटनामा कम्तीमा आठ जना घाइते भएका छन्। किभ क्षेत्रमा मात्र कम्तीमा तीन जना घाइते भएका छन् भने एलविभ क्षेत्रसम्म ड्रोन देखिएको जनाइएको छ।
रूसले विशेष गरी ऊर्जा पूर्वाधारका क्षेत्रलाई लक्ष्य बनाएको युक्रेनको राष्ट्रिय ऊर्जा सञ्चालक ‘युक्रेनर्गो’ले जनाएको छ।
रूसको नियन्त्रणमा रहेको जापोरिज्झिया आणविक विद्युत् केन्द्र रातभर बाहिरी बिजुली आपूर्तिबाट अस्थायी रूपमा कटौती भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जनाएको छ। उक्त केन्द्र सञ्चालनमा नभए पनि बन्द रियाक्टर र प्रयोग भइसकेको इन्धन चिस्याउन निरन्तर बिजुली आवश्यक पर्ने भएकाले जोखिम बढेको बताइएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ऊर्जा क्षेत्र मुख्य निशानामा परेको र किभ क्षेत्रको फास्टिभ सहरस्थित रेल्वे स्टेशन ड्रोन आक्रमणबाट जलेर नष्ट भएको जानकारी दिएका छन्।
उता, रुसको रक्षा मन्त्रालयले आफ्ना हवाई प्रतिरक्षा प्रणालीले रातभर रुसको भूभागमाथि आएका ११६ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।
रुसी टेलिग्राम च्यानलले युक्रेनले रियाजान तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको दाबी गरे पनि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। पछि युक्रेनी सेनाको जनरल स्टाफले रिफाइनरीमा प्रहार गरेको स्वीकार गरेको छ।
यसैबीच, अमेरिकाको फ्लोरिडामा अमेरिकी अधिकारीहरू र युक्रेनी प्रतिनिधिमण्डलबीच युद्धपछिको सुरक्षा संरचनाबारे तेस्रो दिनको वार्ता हुँदैछ। राष्ट्रपति जेलेन्स्कीले अमेरिकी र युक्रेनी अधिकारीहरूसँग गम्भीर टेलिफोन वार्ता भएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विट्कोफ, जारेड कुश्नर तथा युक्रेनी वार्ताकार रुस्तेम उमेरोभ र आन्द्रिय ह्नातोभले वास्तविक सम्झौता रुसको दीर्घकालीन शान्तिप्रतिको प्रतिबद्धतामा निर्भर रहने बताएका छन्।
यसै क्रममा युक्रेन, बेलायत, फ्रान्स र जर्मनीका नेताहरूबीच सोमबार लन्डनमा जेलेन्स्कीसँग बैठक हुने जनाइएको छ।
रूसले डोनबास लगायतका क्षेत्रमा जुनसुकै हालतमा आफ्नो नियन्त्रण कायम राख्ने बताउँदै आएको छ।
बिहीबार भारत पुगेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यहाँको अनलाइन पत्रिका इन्डिया टुडेसँगको कुराकानीमा पनि आक्रमण वा वार्ता जुनसुकै तरिकाबाट भए पनि डोनबास नियन्त्रणमा लिने बताएका थिए।
रूसले दोनेत्स्कको पूरा भूभाग किन मागिरहेको छ?
पुटिनले सन् २०१४ मा युक्रेनको क्राइमिया कब्जा गरेपछि युक्रेनको पूर्वमा रूसी भाषीको बाहुल्य रहेको डोनबास क्षेत्रमा आँखा लगाए। उनले त्यहाँ रूसी भाषी माथि युक्रेनले अत्याचार गरेको झूटो आरोप लगाएर पृथकतावादी आन्दोलन भड्काए। उनले त्यहाँका विद्रोहीलाई हतियार मात्रै दिएनन्, विनावर्दीका रूसी सैनिकहरू नै खटाए।
सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि खुल्ला आक्रमण गरेपछि पनि अझैसम्म सो क्षेत्रमा पूर्ण रूपले कब्जा गर्न सकेको छैन।
लुहान्स्क र दोनेत्स्कलाई संयुक्त रूपमा डोनबास क्षेत्र भन्ने गरिन्छ।
लुहान्स्कको लगभग सबैजसो भाग रूसले कब्जा गरे पनि दोनेत्स्कको झन्डै २० प्रतिशत भाग युक्रेनकै नियन्त्रणमा छ।
आफ्नो देशको भूभाग अरूलाई दिन कसैले पनि मान्दैन। अझ, युद्ध लडेर जोगाएको भाग त झन् कसैले पनि दिँदैन। त्यसमाथि युक्रेनले त्यहाँ वर्षौंदेखि बलियो रक्षात्मक संरचना बनाएको छ। त्यसैले त रूसले एक दशकभन्दा बढी समयदेखि युद्ध गरेर पनि त्यो क्षेत्र लिन सकेको छैन। अझै पनि युक्रेनलाई हराएर सो भूभाग लिन रूसलाई निकै मुस्किल हुने मानिन्छ।
युद्ध रोक्न सो भूभाग अहिले रूसलाई दिएमा रूसले त्यहाँबाट अगाडि बढ्न फेरि आक्रमण गर्यो भने रोक्न नसकिने भएकाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले सो सर्त अस्वीकार गर्दै आएका छन्।
दोनेत्स्क युक्रेनका मुख्य बन्दरगाह, रेलमार्ग र ठूला उद्योगहरू भएको भूभाग हो। सो भागमा युक्रेनको आधाभन्दा बढी कोइला र फलामका खानीहरू थिए। ती उद्योग र खानीहरू रूसी आक्रमणमा अहिले ध्वस्त भइसकेका छन्। युद्ध रोकिएर आफ्नो नियन्त्रणमा रहेको दोनेत्स्कको बाँकी भूभाग युक्रेनकै नियन्त्रणमा रहे पनि ती कारखाना र खानी फेरि सञ्चालनमा आउने देखिँदैनन्। रूसले फेरि हमला गर्ने डरका कारण युक्रेनले ठूलो खर्च गरेर तिनको मर्मत नगर्न सक्छ।
पुटिनका लागि रूसी भाषीको बाहुल्य रहेको सो क्षेत्र इज्जतको विषय पनि भएको छ।
उनले एक दशकअघि त्यहाँ पृथकतावादी आन्दोलन भड्काउँदा पनि रूसी भाषीमाथि अत्याचार भएको आरोप लगाएका थिए।
२०२२ मा खुल्ला आक्रमण गर्दा पनि सो कुरा दोहोर्याउँदै रूसीभाषीको उद्धार गर्ने बताएका थिए।
एक दशकभन्दा बढी आक्रमण गर्दा पनि सो भूभाग पूर्ण रूसी नियन्त्रणमा नल्याई युद्ध रोक्नु उनका लागि लाजमर्दो हुनेछ।
पुटिनको मात्रै नभएर रूस र युक्रेन दुवैतिरका जनताका लागि पनि यो प्रतिष्ठाको विषय भएको छ।
आफ्ना दशौं हजार सैनिक मर्दा पनि रूसले सो भूभाग कब्जा गर्न सकेको छैन। रूसका जति धेरै नभए पनि सो क्षेत्रको सुरक्षाका लागि युक्रेनका पनि धेरै सैनिक मरेका छन्। त्यति धेरैको बलिदान दिएर जोगाएको भूभाग रूसलाई सित्तैमा दिन जेलेन्स्कीले माने पनि युक्रेनका जनताले मान्ने छैनन्।