प्रधानमन्त्री सुशीला कार्कीले श्रममन्त्रीका रूपमा नियुक्त गरेका राजेन्द्रसिंह भण्डारी प्रहरी सेवाको पृष्ठभूमिबाट आएका व्यक्ति हुन्।
नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाल प्रहरीले गम्भीर प्रकृतिका अपराधलाई विशिष्टीकृत ढंगले अनुसन्धान गर्न २०६७ सालमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) गठन गरेको थियो।
फौजदारीदेखि वित्तीय अपराधसम्मका मामिलामा छुट्टै टिमबाट अनुसन्धान गराउनुपर्ने आवश्यकता महसुस गरेर नेपाल प्रहरीले विशिष्टीकृत इकाईका रूपमा उक्त ब्युरो गठन गरेको थियो। भण्डारी त्यसका संस्थापक प्रमुख थिए।
उनले २०६७ साउन १ देखि २०६८ भदौ ८ गतेसम्म उक्त ब्युरो प्रमुखका रूपमा काम गरेका थिए। त्यति बेला ब्युरोको जिम्मेवारीमा आएका अनुसन्धान कार्य फत्ते गराउन भण्डारीको भूमिका महत्त्वपूर्ण थियो।
एआइजीका रूपमा प्रहरी सेवाबाट अवकाश पाएका भण्डारीले श्रममन्त्रीका रूपमा शुक्रबार शपथ लिएका छन्।
उनी सहित चार जनाले आजै शपथ लिएका हुन्।